तीन वर्षमा ५५ वटा झोलुङ्गे पुल

दुर्गममा झोलुङ्गे पुल बनाउनै सकस

पुनम वि.सी.,
सुर्खेत ।
२०७९–०८० आर्थिक वर्षमा हुम्ला जिल्लामा कुल १२ वटा झोलुङ्गे पुलका कार्यक्रमहरु परेका थिए । १२ वटा झोलुङ्गे पुल मध्ये घट्टेखोला यांचु झोलुङ्गे पुल मात्र निर्माण सम्पन्न भएको छ । अन्य पाँच वटा झोलुङ्गे पुल योजनाहरु बजेट अभावकै कारणले शुन्य प्रगतिमा रोकिएका छन् । बाँकी ६ वटा झोलुङ्गे पुल निर्माणको अवस्था समेत सन्तोषजनक समेत छैन, धेरै झोलुङ्गे पुलका लागि निर्माण सामाग्री खरिद र ढुवानी गरिएपनि समयमा नै निर्माण सम्पन्न भने भईसकेका छैनन् । बाँकी रहेका ६ वटा झोलुङ्गे पुलको निर्माण कार्यप्रगति १० देखि २० प्रतिशत मात्र छ ।

यता सल्यानमा समेत घाटाचौर (कुडु), देवस्थल नाम्रा झोलुङ्गे पुल निर्माणका लागि ३० लाख बजेट विनियोजन भएको थियो । संघको सशर्त अनुदान मार्पmत आएको यो बजेट २०७९–०८० मा खर्च नै भएन । सल्यान जिल्लाका लागि प्रदेश सरकारले भने १८ वटा झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । यि योजनाहरुमा २०७९–०८० मा झोलुङ्गे पुल तर्फ कुल चार करोड ४८ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसमा वित्तिय प्रगति ७० दशमलव २२ प्रतिशत पु¥याएको प्रदेश सरकारले यि झोलुङ्गे पुल निर्माणका लागि तीन करोड १४ लाख ७३ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

विगत तीन आर्थिक वर्ष यता कर्णालीमा ५५ वटा झोलुङ्गे पुल निर्माण भएको कर्णालीको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ । २०७९–०८० मा मात्र कर्णालीमा ३८ वटा झोलुङ्गे पुल निर्माण भएका थिए । यस अघि २०७७–०७८ मा आठ वटा र २०७८–०७९ मा नौं वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयको तथ्यांक छ ।

खासगरी कर्णालीको माथिल्लो भेगका जिल्लाहरुमा झोलुङ्गे पुल निर्माण सकसपूर्ण देखिन्छ । झोलुङ्गे पुलको लठ्ठा खरिद प्रकृया समेत कर्णालीका लागि झन्झटिलो छ ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सिडिई रमेश सुवेदीले भने, ‘झोलुङ्गे पुलका लागि लठ्ठा खरिद गर्नै समस्या हुन्छ । लठ्ठाहरु नेपालमा पाइदैनन् । अन्तर्राष्ट्रिय विडिङ्ग मार्फत खरिद गर्नुपर्ने हुन्छ । त्यसमाथी पनि निर्माण स्थलसम्म ढुवानीको समस्या हुन्छ ।’

कर्णालीमा साना संख्यामा झोलुङ्गे पुलको निर्माण हुने भएकाले पनि लठ्ठा खरिदमा समस्या उत्पन्न हुने उनले जानकारी दिए । लठ्ठाका लागि अन्तर्राष्ट्रिय विडिङ्ग प्रक्रिया झन्झटिलो भएपछि अहिले कर्णालीले स्थानीय पूर्वाधार विमाग मार्फत थोरै–थोरै परिमाणमा लठ्ठा खरिद गरिरहेको छ । तर समयमै आवश्यक परिमाणमा लठ्ठा उपलब्ध भने हुदैन ।

कर्णालीमा अर्को समस्या भनेको यहाँ झोलुङ्गे पुल निर्माणतर्फ प्राविधिक जनशक्तिको अभाव नै छ । सुवेदीले भने, ‘अहिले हामीलाई केहि संस्थाहरुले जनशक्ति सहयोग समेत गर्नुभएको छ । तर ति जनशक्तिलाई पनि एक जनाले दुई तीन जिल्लाहरु हेर्नुपर्ने वाध्यता छ । यस्तो अवस्थामा समयमा नै झोलुङ्गे पुल निर्माणमा समस्या सिर्जना भईरहेको छ ।’

कर्णालीका दुर्गम जिल्लाहरुका विषयमा भने त्यहाँको भौगोलिक अवस्था र प्रयाप्त जनशक्ति अभावका कारण झोलुङ्गे पुल निर्माणमा समय लाग्ने गरेको उनले जानकारी दिए ।

जिल्लागत अवस्था के छ ?

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका लागि २०७९–०८० मा ६ वटा झोलुङ्गे पुल तथा ट्रसब्रिज निर्माण गर्न बजेट विनियोजन भएको थियो । सो मध्ये २० लाख रुपैयाँ बजेट विनियोजन भएको मेहलकुना भेडावारी झोलुङ्गे पुल योजनामा यस आर्थिक वर्षमा कुनै प्रगति भएन । निर्देशनालयका लागि ६ वटा झोलुङ्गे पुल निर्माणार्थ कुल दुई करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने २०७९–०८० मा निर्देशनालयले झोलुङ्गे पुलतर्फ एक करोड ७१ लाख ४६ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

पूर्वाधार विकास कार्यालय, दैलेखले भने १२ वटा झोलुङ्गे पुल मध्ये सबै पुलहरु निर्माण गरेको छ । दैलेखमा झोलुङ्गे पुल निर्माण तर्फको वित्तिय प्रगति ९० दशमलव ९७ प्रतिशत छ । यस जिल्लाका लागि प्रदेशले चार करोड १३ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस मध्ये तीन करोड ७६ लाख ५१ हजार बढी बजेट खर्च भएको छ ।

पूर्वाधार विकास कार्यालय, जुम्लामा भने २०७९–०८० मा क्रमागत तर्फका पाँच वटा र नयाँ योजना तर्फका चार वटा झोलुङ्गे पुलका लागि एक करोड २२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जुम्लामा झोलुङ्गे पुल निर्माण तर्फको वित्तिय प्रगति ८९ दशमलव २५ प्रतिशत रहेको छ । कुल विनियोजित बजेट मध्ये जुम्लाले एक करोड नौं लाख ३४ हजार रुपैयाँ बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

२०७९–०८० मा निर्माण सम्पन्न भएको हुम्लाको ताजाकोट गाउँपालिका स्थित ९५ मिटर लामो घट्टेखोला झोलुङ्गे पुल । (तस्विर सौजन्यः भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, सुर्खेत)

जुम्लामा नयाँ आयोजना तर्फको मसानघाट जिम्रि जिउला झोलुङ्गे पुल, क्रमागत तर्फका लाम्राचौर गाडापारी झोलुङ्गे पुल र राजमार्गदेखि कनकासुन्दरी मन्दिर जोड्ने झोलुङ्गे पुलमा कुनै प्रगति भएको देखिदैन ।

पूर्वाधार विकास कार्यालय डोल्पामा चार वटा झोलुङ्गे पुल निर्माणकालागि एक करोड ५५ लाख बजेट विनियोजन भएकोथियो । अहिले कुल एक करोड ३३ लाख २६ हजार रुपैयाँ लागतमा यि झोलुङ्गे पुलहरुको वित्तिय प्रगति ८५ दशमलव ९८ प्रतिशत रहेकोछ ।

जाजरकोटमा सात वटा झोलुङ्गे पुलकालागि एक करोड ९० लाख रुपैयाँ बजेट मध्ये एक करोड ५३ लाख ४९ हजार रुपैयाँ बजेट खर्च भएकोछ ।

यहाँको वित्तिय प्रगति अवस्था ८० दशमलव ७९ प्रतिशत छ । मुगुमा क्रमागत तर्फका नौं वटा र दुई वटा नयाँ झोलुङ्गे पुलका योजनाहरु थिए । २०७९–०८० मा झोलुङ्गे पुल तर्फ मुगु जिल्लाको वित्तिय प्रगति भने सन्तोषजनक छैन । यहाँ तीन दशमलव ५९ प्रतिशत देखि ६४ दशमलव ७२ प्रतिशत सम्म मात्र झोलुङ्गे पुल निर्माण कार्यमा वित्तिय प्रगति भएको देखिन्छ ।

कालीकोटमा दुई वटा झोलुङ्गे पुल निर्माणका एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजना भएकोमा एक करोड नौं लाख रुपैयाँबजेट खर्च भएकोछ । कालीकोटमा दार्मागाड झोलुङ्गे पुल निर्माण सम्पन्न भईरहेको अवस्था छ भने अर्को धुरावगर देखी लाफा पालिका केन्द्र जोड्ने झोलुङ्गे पुल बिल भुक्तानीको क्रममा रहेको छ ।

रुकुम पश्चिममा निर्माण थालिएको रिप्ना खोला झोलुङ्गे पुलका लागि ५० लाख रुपैयाँ विनियोजन भएकोमा ४९ लाख ९४ हजार रुपैयाँभुक्तानी दिइएको छ । यहाँको वित्तिय प्रगति ९९ प्रतिशत बढी छ ।

पुलका लागि वीरेन्द्रनगरमै ‘लठ्ठा गोदाम’

कर्णालीमा झोलुङ्गे पुल निर्माणका लागि समयमा नै लठ्ठा उपलब्ध नहुने भएपछि यहाँको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले वीरेन्द्रनगरमै लठ्ठा गोदामको स्थापना गर्ने तयारी शुरु गरेको छ ।

थोरै रकमका साथ अन्तर्राष्ट्रिय बिडिङ्ग प्रक्रिया झन्झटिलो भएपछि हाल स्थानीय पूर्वाधार विभागबाट थोरै परिमाणमा लठ्ठा खरिद गरिरहेको मन्त्रालयले वीरेन्द्रनगरमै गोदामको व्यवस्था गर्न थालेको हो । यसका लागि वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा वीरेन्द्रनगर–७, इत्राम क्षेत्रमा जग्गाको व्यवस्थापन
भएको छ ।

सोहि जग्गामा लठ्ठाको गोदाम राखिने र यहिबाट कर्णालीमा निर्माण हुने झोलुङ्गे पुलका लागि लठ्ठा वितरण हुने मन्त्रालयका सिडिई रमेश सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया