१२ वर्षपछि फेरियो घण्टाघरको घडी

सुर्खेत,२५ पाैष ।
बिग्रिएको झन्डै १२ वर्षपछि सुर्खेतको घण्टाघरमा नयाँ घडी जडान गरिएको छ । बन्द रहेका चार वटै घडी फेरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
घडी बनाउन कसैले चासो नदिएको भन्दै चौतर्फी रूपमा आलोचना हुँदै आएको थियो । तर, नगरपालिकाले यो वर्ष घण्टाघर संरक्षण गर्न भन्दै २५ लाख रुपैयाँ छुट्याएको थियो । उक्त बजेटबाट साढे ११ लाख रुपैयाँ खर्च गरी घडी फेरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए । ‘भारतको हैदरावादबाट घडी ल्याएर फेरिएको छ,’ उनले भने ।
खुलामञ्चमा रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो । निर्माणमा त्यतिबेलै ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँमा खर्च भएको थियो । घडी फेरिएपछि अब बाँकी रहेको बजेटबाट घण्टाघर वरपरको क्षेत्र संरक्षण गरिने उनले जानकारी दिए । ‘घण्टाघर पहिलेदेखि नै यहाँको पर्यटकीय गन्तव्य हो । अब संरक्षण गरी यसलाई व्यवस्थित बनाउँदै छौं,’ उनले भने, ‘घडी जोडियो, अब अरू सजावटका कामहरू हुनेछन् ।’
ढिलै भएपछि घण्टाघर संरक्षणमा नगरपालिकाले चासो दिएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । फेरि घण्टाघर सुर्खेतका लागि प्रमुख पर्यटकीय स्थल बन्ने सम्भावना रहेको स्थानीय नीरु नेपालीले बताइन् । ‘नगरपालिकाले धेरैपछि मर्मतमा चासो दियो,’ उनले भनिन्, ‘अहिले त ठूलो आवाजमा प्रत्येक घण्टामा समय जानकारी दिने गरी घण्टी बज्छ ।’
नगरपालिकाले धेरै पहिले गर्नुपर्ने काम बल्ल गरेको स्थानीय भरतबहादुर शाहीले प्रतिक्रिया दिए । घण्टाघरको घडीले सुर्खेतकै शोभा दिने उनको भनाइ छ । अब घण्टाघर वरपरको पार्क र खाली मैदानलाई संरक्षण गरे पर्यटकहरू आकर्षित हुने उनले दाबी गरे । घण्टाघरलाई उद्यानका रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिइएको छ ।
कान्तिपुर





