आँखा शिविरमा ९ सय भन्दा बढिको शल्यक्रिया सफल


बागचौर नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा नौं सय २१ जना लाभान्वित भएका छन् ।
ग्रामीण बस्तीका स्थानीयलाई घरदैलोमा नै गएर सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको शिविरमा शल्यक्रियापछि ९२ जनाको गुमेको आँखाको ज्योति फर्किएको छ ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि ४२ पुरुष र ५० महिला गरी ९२ जनाले नयाँ ज्योति पाएको बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले जानकारी दिए ।

उनका अनुसार पाँच जनाको मोतियाविन्दुको शल्यक्रियाका लागि राप्ती आँखा अस्पताल रक्षाचौर दाङ सिफारिस गरिएको छ । शिविरमा मोतियाविन्दुको शल्यक्रियासहित, आँखा परीक्षण, औषधी वितरण लगायत आँखा सम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिएको मेयर गौतमले बताए ।

आफ्नै गाउँघरमा गुमेको आँखाको ज्योति फर्किएकोमा निकै खुशी लागेको बागचौर नगरपालिका १२ बाफुखोलाकी रामकली वलीले बताइन् । उनले भनिन्, ‘बुढेसकालमा गाडीमा हिँडडुल गर्न पनि गाह्रो छ । त्यसैले आँखा नदेखेरै घरमै बसी रहेकी थिएँ । शुक्रवार फेरी आँखा देख्न पाएँ ।’

आर्थिक अभावकै कारण बाहिर जान नसक्दा मोतियाविन्दुको शल्यक्रिया गर्न नसके पनि अहिले घर नजिकै निःशुल्क शल्यक्रिया गर्न पाउँदा नयाँ संसार देख्न पाएको बागचौर नगरपालिका–७ का लोकबहादुर वलीले बताए ।

राप्ती आँखा अस्पताल रक्षाचौर दांग, नेपाल नेत्र ज्योति संघ र एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा बागचौर नगरपालिकाका तीन स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो ।

आँखा शिविरमा ९ सय भन्दा बढिको शल्यक्रिया सफल

मदन भण्डारी राजमार्गको सल्यान खण्डको स्थलगत अवलोकन

आँखा शिविरमा ९ सय भन्दा बढिको शल्यक्रिया सफल

भूकम्पपीडितलाई चिसो थेग्नै मुस्किल