प्रधानमन्त्रीसँग पूर्वाधार विकासमा ध्यान दिन निजि क्षेत्रको माग

सुर्खेत, ६ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग कर्णालीका निजि क्षेत्रले पूर्वाधार विकासको माग गरेका छन् । सोमवार वीरेन्द्रनगर आएका प्रधानमन्त्री दाहालसँग सुर्खेत उद्योग वाणिज्य संघले कर्णालीमा शुरु भएका पूर्वाधार विकासको माग गरेका छन् ।

सोमवार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेललगायत व्यवसायीहरुको समुहले प्रधानमन्त्री दाहाल आफ्ना माग पत्र बुझाउँदै चीनसँगको नाका खोल्न, सिमेन्ट उद्योगको लागि सडक, विद्युत लगायतका पूर्वाधार विकासमा ध्यान दिन माग गरेका छन् ।

त्यसैगरी दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन् प्रक्रिया तीव्र गतिमा अगाडि बढाउनुपर्ने, १३२ केभीए राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उद्देश्यले शुरू गरिएको हाइटेन्शन लाइन विस्तारका क्रममा देखिएका अवरोध हटाई निर्धारित अवधिमै काम सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निजि क्षेत्रको माग रहेको छ ।

कर्णालीमा अर्गानिक कृषिको प्रवद्र्धन व्यवसायिकीकरणका लागि अर्गानिक कृषि अनुसन्धान केन्द्र तथा अन्य आवश्यक पूर्वाधार एवं नीतिगत तयारी गर्न पहल गरिनुपर्ने उनीहरुको माग छ । जाजरकोट र कालिकोटमा पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापना गर्नुपर्ने, सुर्खेतमा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि तत्काल ठोस काम शुरू गर्नुपर्ने कम्पनी रजिष्ट्रारको प्रादेशिक कार्यालय राजधानीमा स्थापना गरी सेवा आरम्भ गर्नुपर्ने, नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयलाई पूर्वाधार तथा अधिकारसम्पन्न गराई क्षेत्राधिकार अनुसार सेवा प्रवाह योग्य बनाउनुपर्ने मागपत्रमा उल्लेख गरिएको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पर्याप्त बजेट लगायतको व्यवस्थापन, आर्थिक संकटको अन्त्यका लागि बजारमैत्री नीति र एक प्रदेश एक शीत भण्डारण स्थापना गर्नुपर्ने व्यवसायीहरुको माग रहेको छ ।

त्यसैगरी कर्णालीको निजी क्षेत्रले चिनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोना कालदेखि बन्द गएका उत्तरी नाकाहरु अझै खुलेका छैनन् । निजी क्षेत्रले चीनसंग जोडिएका कर्णालीका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न गम्भिर पहल थाल्नका लागि आग्रह गरेको छ ।

सुर्खेत आएको अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले विभिन्न १८ बुँदे मागपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । उक्त मागपत्रमा लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत आदि लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार एवं संरचना बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै यस प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै सुर्खेतमा प्रादेशिकस्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग निजी क्षेत्रको छ ।

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न, जडिबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनका लागि आवश्यक मशीन, औजार उपकरणका लागि आवश्यक बजेटको माग गर्नुका साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै नलगाडलगायतका अन्य जलविद्युत आयोजना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने पनि उक्त मागपत्रमा उल्लेख छ ।

प्राथमिकतामा कर्णाली
प्रधानमन्त्री दाहालले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रममा बोल्दै उनले कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका ठुला सडक केन्द्र सरकार प्राथमिकतामा परेको समेत बताए ।

‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु । कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद ताजै छ । कर्णाली एउटा सभ्यता हो’, उनले भने, ‘कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका ठुला सडक केन्द्र सरकार प्राथमिकतामा परेका छन्, चीन सरकारको भ्रमणका क्रममा थप प्राथमिकता पाउने गरी म लाग्ने छु । मेरो प्राथमिकतामा कर्णाली र सुदुरपश्चिम प्रदेश छन् ।’

प्रधानमन्त्री दाहालले कर्णाली मुलुकको समृद्धिको जग बन्ने समेत बताए । कर्णालीको जल, जंगल, जडिबुटी, पर्यटन लगायतका प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्न सकिए मुलुकको आर्थिक समृद्धिको जग कर्णाली बन्ने उनले बताए ।

उनले भने, ‘कर्णालीमा अपार प्राकृतिक श्रोत र साधान छन् । यसको सदुपयोगका लागि कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको अभियानमा संघीय सरकार साथ र सहयोगका लागि प्रतिबद्ध छ ।’ उनले आफू तत्कालै चीन भ्रमणमा जाने भएकाले चीन सरकारसँगको साझोदारीमा कर्णालीको विकास र समृद्धिका लागि ठोस पहल गर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया