सुर्खेत र कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गरिँदै

काठमाडौँ, २९ साउन ।
नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । ती प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो ।

सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई लक्षित गरी भण्डारण गृह निर्माण गर्न लागिएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माणका लागि सरकारी जग्गा खोजिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्धनको आपूर्ति व्यवस्था सहज बनाउनका लागि भण्डारण गृह निर्माण गर्न लागेका छौँ, जग्गा प्राप्त हुनासाथ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउँछौँ । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नहुँदा नेपालगन्जबाट टयाङ्करमा लगेर व्यवस्थापन भइरहेको छ, इन्धनको माग बढ्दै गएकाले कर्णाली प्रदेशभरि आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह बनाइने छ ।”

धनगढीमा इन्धनको भण्डारण गृह भए पनि सडकनजिक भएको र असुरक्षित भएकाले मानव बस्तीभन्दा टाढा हुने गरी कञ्चनपुरमा रहेको पारवहन गोदाम कम्पनीसँग जग्गा प्राप्तिका लागि कुरा भइरहेको ठाकुरले जानकारी दिनुभयो । जग्गा प्राप्ति भएपछि दोस्रो चरणमा भण्डारण गृह निर्माण कार्य अगाडि बढाइने निगमले जनाएको छ ।

धनगढीमा इन्धन डिपो भए पनि न्यून क्षमता रहेको र दिनप्रतिदिन माग बढ्दै गएकाले धेरै क्षमताको गृह निर्माण गरिने निगमले जनाएको छ । भण्डारण गृह निर्माण गर्न निगमले आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । हाल धनगढी डिपोमा पेट्रोल ८६९ किलोलिटर, डिजेल एक हजार ५९० किलोलिटर, मटितेल ४७ किलोलिटर र हवाई इन्धन ४८ किलोलिटर क्षमताको भण्डारण गृह रहेको छ ।

सरकारको न्यूनतम तीन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गर्ने नीति अनुरूप भण्डारण गृह बनाउन लागिएको निगमले जनाएको छ । हाल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ ।

जसमा १० देखि १५ प्रतिशत इन्धन प्राविधिक रूपमा राख्न नमिल्ने निगमले जनाएको छ । निगमसँग हाल एक हप्तालाई पुग्ने इन्धन भण्डारण क्षमता रहेको छ । भण्डारण क्षमता कम हुँदा बजारमा इन्धनको अभाव हुने देखिन्छ ।

चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो ।

इन्धन भण्डारण क्षमता बढाउने सरकारको नीति अनुरूप निगमले आर्थिक वर्ष २०७३/o७४ मा रुपन्देही, चितवन, सर्लाही र झापामा दुई अर्ब ६६ लाख ४८ हजार रुपियाँ लागतमा ६८ बिघा जग्गा खरिद गरेको थियो । निगमले भण्डारण गृह निर्माण गर्न विभिन्न स्थानमा जग्गा खरिद गरे पनि कुन मोडालिटीमा जाने भनेर सरकारले निर्णय नगर्दा प्रक्रिया अगाडि बढ्न नसकेको जनाएको छ । पर्याप्त बजेट नभएकाले पनि निर्माण गर्न नसकिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया