भूकम्प प्रभावितलाई राहत रकम बैंक खातामा पठाउन शुरु

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९, राडीज्यूला स्थित एक बैंकमा अनुदान रकम लिन लाइन बसेका भूकम्प पीडित लाभग्राहीहरु ।

भूकम्प प्रभावितहरुका लागि राहत रकम वितरण कार्य शुरु भएको छ । प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको राहत रकम उनीहरुको खातामा पठाउन शुरु गरिएको हो ।

बुधवार रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले एक हजार दुई सय जना भूकम्प प्रभावितहरुको खातामा पहिलो किस्ता वापत राहत रकम पठाएको छ । आठविसकोट नगरपालिकामा हालसम्म नौं हजार नौं सय ६४ भूकम्प प्रभावित परिवारको पहिचान भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिए ।

आठविसकोटलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट चार हजार पाँच सय जना भूकम्प प्रभावितहरुका लागि राहत रकम खातामा पठाईसकिएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले दिएको जानकारी उद्धृत गर्दै खड्काले बाँकी लाभग्राहीको खातामा रकम पठाउने प्रक्रिया समेत चलिरहेको बताए ।

पहिचान भएका नौं हजारबढी प्रभावितहरु मध्ये पाँच हजार चार सय ६४ जनाको सूची बुधवारनै पालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत पठाएको उनले जानकारी दिए ।

सरकारले हालसम्म एक अर्व ४१ करोड रुपैयाँ राहत रकम पाँच जिल्लाका लागि निकासा गरिसकेको छ । भूकम्प प्रभावित रहेका जाजरकोट, रुकुम पश्चिम, सल्यान, बझाङ र बाजुराका लागि रकम निकासा गरिएको हो । यस मध्ये हालसम्ममा कुल ५४ करोड ८१ लाख २५ हजार रुपैयाँ स्थानीय तहका खातामा गईसकेको प्राधिकरणका सूचना अधिकारी खड्काले जानकारी थिए ।

स्थानीय तहबाट प्राप्त ३४ हजार ३९ वटा घरका लागि अस्थायी आवास निर्माण गर्न उक्त राहत रकम पठाइएको उनले बताए ।

कुन स्थानीय तहमा कति रकम ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार जाजरकोटको शिवालय गाउँपालिकाको खातामा आठ करोड बढी रकम गईसकेको छ ।

सोमवारसम्मको तथ्यांक अनुसार शिवालयको खातामा आठ करोड २७ लाख २५ हजार रुपैयाँ पठाइएको हो । त्यसैगरी रुकुम पश्चिम तर्फ चौरजहारी नगरपालिकाका लागि १५ करोड ६९ लाख ७५ हजार, आठविसकोट नगरपालिकाका लागि ११ करोड २५ लाख रुपैयाँ खातामा गईसकेको छ ।

सानीभेरी नगरपालिकाका लागि पाँच करोड ८० लाख २५ हजार, त्रिवेणी गाउँपालिकाका लागि दुई करोड ८१ लाख, बाँफिकोट गाउँपालिका दुई करोड २४ लाख ७५ हजार र मुसिकोट नगरपालिकाका लागि एक करोड ४१ लाख ५० हजार ररुपैयाँ रकम खातामा पठाइएको प्राधिकरणले जनाएको छ ।

प्रभावित संख्या के छ ?

जाजरकोटको बारेकोट गाउँपालिकामा कुल पाँच हजार पाँच सय ८६ परिवार भूकम्पबाट प्रभावित बनेका छन् । त्यसैगरी शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौं र जुनीचाँदे गाउँपालिकामा कुल दुई सय २१ परिवार प्रभावित रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जाजरकोटमा अन्य पालिकाबाट प्रभावित परिवारको अन्तिम विवरण प्राधिकरणलाई प्रात हुने प्रक्रिया चलिरहेको छ ।

रुकुम पश्चिममा आठविसकोट नगरपालिकामा नौं हजार नौं सय ६४, चौरजहारी नगरपालिकामा ६ हजार दुई सय ७९, सानी भेरी नगरपालिकामा दुई हजार तीन सय २१ र त्रिवेणी गाउँपालिकामा एक जहार एक सय २४ जना परिवार प्रभावित रहेको प्राधिकरणको तथ्यांक छ । रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा प्रभावितहरुको विवरण प्राधिकरणलाई प्राप्त भईसकेको छैन ।

भूकम्प प्रभावितलाई राहत रकम बैंक खातामा पठाउन शुरु

समाजवादी प्रेस संगठन कर्णालीको अध्यक्षमा बुढा

भूकम्प प्रभावितलाई राहत रकम बैंक खातामा पठाउन शुरु

पूर्वीय दर्शनभित्र शिक्षा