पुल मर्मत नहुँदा घण्टौँ घुम्नुपर्ने सास्ती

कालिकोट,२४  माघ ।

जिल्लाको नरहरिनाथ गाउँपालिको रहगाड झोलुङ्गे पुल लामो समय सम्म मर्मत हुन सकेको छैन । झोलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष छ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा छन् ।

उक्त पुलबाट नरहरिनाथ गाउँपालिका वडा नं १ देखि ९ सम्मका नागरिकमा सहज हुने गरेको थियो । तीन वर्षदेखि यो पुल निर्माण हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । वडा नं ४ र ५ का नागरिक पनि सोही पुलको प्रयोग गर्छन् ।

२०७७ साल साउन १३ गते आएको बाढीले रहगाड झोलुङ्गे पुल आधा बगाएको थियो । दुई वर्ष छ महिना बितिसक्दा पनि उक्त झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती भइरहेको छ । नरहरिनाथ गाउँपालिका वडा नं १ का ज्ञानबहादुर विष्टले तीन वर्ष पुग्न लाग्दासम्म झोलुङ्गे पुल मर्मत नहुँदा नागरिकले निकै सास्ती पाएको गुनासो गरे ।

नरहरिनाथ गाउँपालिका वडा नं ३ का मीनबहादुर बुढाले लामो समय झोलुङ्गे पुल मर्मत नहुनु दुःखद भएको सुनाए । स्वास्थ्यकर्मी बुढाले आफूहरू आकलझुक्कल गाउँ जाँदा त कति दुःख हुन्छ भने सधैँ वारिपारि गरिरहने र बिरामीलाई मान्म ल्याउँदा नागरिकलाई कति दुःख भएको होला, त्यति पनि स्थानीय सरकारले नसोचेको सुनाए ।

नरहरिनाथ गाउँपालिका सूचना अधिकारी भरतकुमार कठायतले उक्त पुल बनाउन नसकिने भएकाले अर्को ठाउँमा नयाँ पुल बनाउने काम सुरु भए पनि केही समस्याले गर्दा काम रोकिएको जानकारी दिए  । पुल निमार्णको जिम्मा लिएको सामाजिक तथा प्राविधिक क्षेत्र हेरिरहेको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरुन्डेक)ले हालसम्म पुल मर्मतमा बेवास्ता गरेको स्थानीयको आरोप छ ।

गाेरखापत्र 

पुल मर्मत नहुँदा घण्टौँ घुम्नुपर्ने सास्ती

YUGAAWHAN NATIONAL DAILY (2079-10-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!