कर्णालीमा घटेन् शिशु मृत्युदर : अनाहकमै खेर जान्छन् नवजात शिशु

सिर्जना बुढाथोकी
सुर्खेत,२२ पौष ।
डोल्पाको डोल्पोवुद्ध गाउपालिकाकी छिरिङ लामाले कक्षा ५ मा पढ्दै गर्दा १४ वर्षको उमेरमा बिहे गरिन् । उनी १५ वर्षको उमेरमा नै आमा बनिन् । घरमै सुत्केरी भएकी छिरिङले १५ वर्षको उमेरमा डेढ किलोको छोरी जन्माएकी थिईन् । सुरुमै छोरी जन्मिएपछि उनको परिवारले छोराको आश गरे ।
छोराको आशमा छिरिङले २० वर्षको उमेरसम्म ३ छोरी जन्माईसकेकी थिईन् । परिवारको उनको स्वास्थ्यको ख्यालै नगरी उनीमाथि सन्तान जन्माउने बोझ थप्दै जादा तीन वर्षअघि अत्यधिक रक्तश्रावका कारण सुत्केरी हुन नसकी चौथो सन्तानसंगै आफूले पनि ज्यान गुमाईन् । अहिले उनका तीनै छोरीहरु बाजेबज्यैसँग बसिरहेका छन् ।
सानै उमेरमा विवाह गरेकी छिरिङको मृत्युलाई कसैले पनि बालविवाहको कारण भन्दैन तर उनका बुवा भने आफ्नो छोरीको सानैमा विवाह भएकै कारण मृत्यु भएको बताउँछन् । ‘हामीलाई चेत भएन, समाजमा यस्तै रित चलेको छ, उनले भने, ‘त्यसैअनुसार हामीले पनि १३÷१४ वर्षमै छोराछोरीको विहे गरिदियौं ।
’ सानैमा सुत्केरी त्यसैमाथि पनि राम्रो खानपान र स्याहार नपाउँदा आफ् नो छोरीजस्ता धेरैको ज्यान गुमेको उनको ठम्याई छ । मुगुको छाँयानाथ रारा नगरपालिकाकी २२ वर्षिया मैनसरा विकले १८ वर्षको उमेरमा विवाह गरिन् । विवाह भएको ६ महिनापछि उनको गर्भ रह्यो । गर्भ रहेको थाहा पाएपनि न त उनले आफ् नो स्वास्थ्यको ख्याल गरिन् न त उनको परिवारले नै ।

सामान्य अवस्थामा जस्तै उनले आफूले सक्ने जति काम गर्थिन् । अन्ततः उनको बच्चा ३ महिनामै खेर गयो । त्यति हु“दा हु“दै पनि मैनसराको शरिरले पोषिलो आहारा पाएन न त आराम नै पाईन् । त्यसपछि पनि उनको दुईवटा गर्भ क्रमशः ६ महिना र सात महिनामा खेर गयो । सन्तान लगातार खेर गइरहेपनि परिवारबाट उनलाई बच्चा जन्माउनुपर्छ भन्ने दबाब आइरह्यो ।
चौथोपटकको गर्भ पनि नौ महिना नै रहेपनि सन्तानलाई काखमा खेलाउने उनको सपना पूरा भएन । मैनसराले व्यथा लागेको ३ दिनपछि मृत छोरालाई जन्म दिइन् । ‘केही गरी पनि मैले छोरालाई बचाउन सकिन,’ भक्कानिदै उनी भन्छिन्, ‘नौ÷नौ महिनासम्म पेटमा हुर्काएको सन्तानलाई काखमा लिन नपाउनुको पीडाभन्दा ठूलो अरु कुन पीडा होला र ? आफूलाई एकछिन आराम नदिएर भोको पेटै काम गर्नुको नतिजा मैले भोगे“ ।’
छिरिङको अनुभवले कर्णालीमा प्रदेशमा आमाहरु स्वेच्छाले भन्दा पनि परिवार र परम्पराको दबाबमा गर्भवती हुन बाध्य हुनुपर्ने परिस्थिती देखाउ“छ । अनि गर्भवतीका बेला आवश्यक स्याहरको अभाव र कामको चापले उनीहरुको स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने बुझाउन पनि छिरिङको उदाहरण काफी छ ।
कर्णाली प्रदेशमा पछिल्लो चार वर्षमा मात्रै ७ सय ७७ नवजात शिशुको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा १ सय ५२ नवजात शिशुको मृत्यु भएको छ । उक्त वर्ष सुर्खेतमा ५२, जुम्ला र सल्यानमा २१÷२१, जाजरकोटमा १६, दैलेख र रुकुम पश्चिममा ११÷११, कालिकोटमा ९, डोल्पामा आठ र मुगुका तीन शिशुको मृत्यु भएको हो ।
यस्तै, आव २०७६÷७७ मा २ सय ८ जना शिशुको ज्यान गुम्यो । उक्त वर्ष सुर्खेतमा ६८, जाजरकोटमा २७, कालिकोट र जुम्लामा २२÷२२, दैलेखमा १९, मुगुमा १५, रुकुम पश्चिममा आठ र डोल्पामा पा“च शिशुको मृत्यु भएको छ । आ.व २०७७÷०७८ मा २ सय १८ शिशुको मृत्यु भएको छ ।
त्यस वर्ष सुर्खेतमा ६०, सल्यानमा २२, रुकुम पश्चिममा १०, जाजरकोटमा ३२, दैलेखमा २२, कालिकोटमा १६, जुम्लामा ३९, हुम्लामा ४, मुगुमा १० र डोल्पामा तीन नवजात शिशुको मृत्यु भयो । गत आर्थिक वर्षमा पनि कर्णालीमा शिशुको मृत्यु हुने संख्या घटेन । गत आ.वमा पनि १ सय ९९ शिशुको मृत्यु भएको छ । कर्णाली प्रदेश योजना आयोगले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनाअनुसार कर्णालीमा शिशु मृत्युदर २९, नवजात शिशु मृत्युदर ४७ र ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ५८ प्रतिशत छ ।
सबैभन्दा बढी वर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन् । निर्देशनालयका अनुसार सबैभन्दा कम वर्थिङ्ग सेन्टर डोल्पामा १४ वटा छन् । वर्थिङ सेन्टर सुर्खेतमा ५३, सल्यानमा ४५, रुकुम पश्चिममा २३, जाजरकोटमा ३१, कालिकोटमा ३२ वटा रहेका छन् । यस्तै, जुम्ला र हुम्लामा २८÷२८ र मुगुमा ३३ वटा वर्थिङ सेन्टर रहेको निर्देशनालयका सूचना अधिकारी पदम केसीले जानकारी दिए ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा २३ दशमलव ६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने पहुचमा छन् भने बाँकीलाई स्वास्थ्य संस्था पुग्न घण्टौं लाग्छ । मृत्यु भएका नवजात शिशुमध्ये अधिकांश शिशुले कुपोषणका कारण ज्यान गुमाईरहेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउछन् ।
निर्देशनालयकाे तथ्यांकअनुसार ४८ प्रतिशत बालबालिकामा कम उचाइँको समस्या देखिएको छ । त्यस्तै १७ दशमलव ६ प्रतिशत बालबालिकामा ख्याउटेपनाको समस्या देखिएको निर्देशनालयले जनाएको छ । ५ वर्षमुनीका ३७ दशमलव ४ प्रतिशत बालबालिकाहरु कम तौलका छन् भने ६० प्रतिशत बालबालिकाले जन्मेको एक घण्टाभित्र आमाको दूध पिउन पाउ“दैनन् ।
कर्णालीका २९ दशमलव ५ प्रतिशतले मात्रै खानामा विविधता उपभोग गर्न पाएको तथ्यांक छ । कर्णालीका आमाहरु कुपोषित हु“दा त्यसको असर बालबालिकामा पनि परेको बालरोग विशेषज्ञ डा. नवराज केसी बताउँछन । ‘महिला गर्भवती भएका बेला र सुत्केरी भइसकेपछि उचित खानपान र स्याहार नपाउ“दा कुपोषित हुन्छिन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा बच्चालाई पर्याप्त स्तनपान गराउन सक्दिनन्, जसका कारण कुपोषण बढिरहेको हो ।’





