नेपाल ओमानसँग सुपर ओभरमा पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतवार आइसिसी टी–२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।

टस जितेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । ओमानले जवाफमा नौ विकेटको क्षतिमा एक सय ८४ रननै बनायो । त्यसपछि च्याम्पियनको छिनोफानो गर्न सुपर ओभर गरिएको हो ।

डेथ बलिङ विशेषज्ञ अविनाश बोहराले फालेको सुपर ओभरमा ओमानले २१ रन बनाएको थियो । नेपालले जवाफमा कुशल भुर्तेललाई गुमाएर १० रन मात्र बनाउनसक्यो । ओमानका बलर विलाल खान सुपर ओभरमा नायक बने ।

नेपाल आतवार फाइनलमा ओमानलाई हराएर बदला लिने दाउमा थियो । यसै प्रतियोगिताको समूह चरणमा नेपाल पाँच रनले ओमानसँग स्तब्ध भएको थियो ।

यद्यपि फाइनलमा हारेपनि नेपालका लागि पनि यो प्रतियोगिता उपलब्धिपूर्ण रह्यो । यस प्रतियोगिताको फाइनलमा पुगेर नेपाल र ओमान सन् २०२४ मा हुने टी–२० विश्वकपमा चयन भएका थिए । विश्वकप टी–२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले सन् २०१४ पछि टी–२० विश्वकप खेल्दैछ ।

गुलसन र रोहितको अर्ध

नेपालका कप्तान रोहित पौडेलले विशाल स्कोर बनाएर ओमानमाथि फाइनलमा लक्ष्य पछ्याउने थप दबाब दिन पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

स्वयम् रोहित र १८ वर्षीय युवा अलराउन्डर गुलसन झाको विस्फोटक अर्धशतकीय पालिको सहयोगमा नेपालले ओमानलाई कठिन लक्ष्य पनि दियो ।

यद्यपि सुरुको १० ओभरमा नेपालले कमजोर ब्याटिङ गरेको थियो । नेपालले १० ओभरमा ६० रन बन्दा चार विकेट गुमाइसकेको थियो । तर पाँचौँ विकेटको साझेदारीमा रोहितले गुलसनसँग मिलेर ७८ रन जोडेर नेपालको पालि उकासे । विशेषत गुलशनले क्रिजमा आउनासाथ लगातार चौका र छक्काको वर्षात् गरेर ओमानको बलिङलाई धराशायी पारे ।

गुलसनले मात्र २५ बलमा सर्वाधिक ५४ रन बनाए । उनको पालिमा पाँच चौका र चार छक्का सामेल थियो । गुलसनले लगातार आफूलाई ‘बिग म्याच प्लेयर’ साबित गर्दै आएका छन् ।

करिब तीन महिनाअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै भएको आइसिसी विश्व क्रिकेट लिग–२ को अन्तिम खेलमा गुलसनकै महत्त्वपूर्ण अर्धशतकीय पालिले नेपाल जित हासिल गरेर विश्वकप छनोटमा स्वतः पुग्न योग्य बनेको थियो ।

गुलसन आउट भएपछि तेज गतिमा रन बनाउने जिम्मेवारी रोहितले लिए । रोहित ३७ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रनमा अविजित रहे ।

नेपालको पालि सकिँदा करण केसी पनि छ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाएर कप्तान रोहितसँग क्रिजमा थिए । टि–२० अन्तर्राष्ट्रियमा रोहितको यो पाँचौँ तथा गुलसनको पहिलो अर्धसत्तक हो ।

ओमानको जवाफ

ओमानले लक्ष्य पछ्याउने क्रममा विस्फोटक सुरुआत गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान प्रतीक अथावाले सात रनमा सोमपालको बलिङमा एलबीडब्ल्यूको धरापमा परे ।

तर अर्का प्रारम्भिक ब्याट्सम्यान कश्यप प्रजापतिले ५२ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६३ रन बनाएर ओमानलाई खेलमा कायम गरि राखे ।

ओमानका लागि अकिब इलियास (१९ बलमा ३३ रन), कप्नतान जिसन मक्सुन (१८ बलमा २६ रन) र मोहम्मद नदिम (९ बलमा अविजित २४ रन) ले पनि उल्लेखनीय पालि खेले ।

निकै उतारचढावपूर्ण ओमानको पालिमा पाहुना टिमओमानलाई च्याम्पियन बन्न अन्तिम ओभरमा सन्दीप लामिछानेको बलिङमा आठ रन बनाउनुपर्ने समीकरण बनेको थियो ।

तर सन्दीपले अन्तिम ओभरमा मात्र सात रन दिएर एक रनआउटसहित तीन विकेट लिए र खेल ‘टाइ’ भयो । त्यसपछि सुपर ओभर खेलिएको हो ।

ओमानको पालिमा सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल, गुलस्न, अविनाश र विवेकले एक–एक विकेट लिए ।

नेपाल ओमानसँग सुपर ओभरमा पराजित

राउटे महामुखिया महिनबहादुर शाहीको निधन

नेपाल ओमानसँग सुपर ओभरमा पराजित

जाजरकोट भूकम्प: कुन अस्पतालमा कति घाइते (सूचीसहित)

This will close in 0 seconds