सम्पादकीय

पशु क्वारेन्टाइन कहिले बनाउँने ?

वि.सं. २०७८ मा भेरीगंगा नगरपालिकामा पशुपालन गरिरहेका कृषकहरुले निकै क्षति व्यहोर्नुपर्‍र्यो । भेरीगंगा-३ मा व्यवसायीक पालन गरिएका बाख्राको अस्वभाभिक रुपमा मृत्यु हुन थालेपछि त्यहाँका कृषक निकै चिन्तित बने । एक महिनाको समयमा मात्र गाउँमा ३८ वटा बाख्राको मृत्यु भएको थियो । दुई सय वटा भन्दा धेरै बाख्रा विरामी थिए । गाउँमा आयातित बाख्राबाट पिपिआर (बाख्रामा लाग्ने महामारी) रोग संक्रमण भएपछि भेरीगंगा नगरपालिका र आसपासका धेरै किसानले क्षति व्यहोर्नुपरेको थियो । सरकारी तवरबाट नै सो समयमा नेपालगञ्जबाट खरिद गरी कुल ६० वटा बावरी जातका बाख्रा गाउँमा आयात भएका थिए । गाउँका किसानले आयातित बाख्रालाई खोरमा मिसाए, गाउँभरी महामारी फैलियो ।

अहिले कर्णाली प्रदेश गाईभैसीमा लाग्ने ‘लम्पी स्किन’ रोगसँग जुध्दैछ । प्रदेशका जिल्लाहरुमा तिब्र रुपमा संक्रमण फैलिरहेको यो रोगबाट पशुपालन गरिरहेका किसानहरुले क्षति व्यहोर्नुपरेको अवस्था छ । हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित हिमालपारीको गाउँ लिमीमा बाहिरबाट पशुवस्तु लैजान समेत रोक लगाइएको छ । अन्य क्षेत्रमा लम्पी स्किन रोग संक्रमण वृद्धि भईरहेकाले लिमीले आफ्ना किसानहरुको बचाउँका लागि यस्तो निणर्य गरेको हो । अन्य जिल्लाहरुमा यो रोग तिव्र रुपमा संक्रमण भईरहेको छ । गाईभैँसीलाई मात्र संक्रमण हुने यो रोग लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट सर्ने गर्छ । संक्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र, दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको संख्या बढ्छन् । यस समयमा प्रकोप अझ बढ्ने जोखिम देखिन्छ । यो रोगको प्रभावकारी उपचार समेत छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय हो । यसैगरी यो रोग लाग्न नदिन खोप समेत लगाइन्छ । तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो, संक्रमण भईसकेको अवस्थामा खोप लगाउन पनि मिल्दैन ।

पशुपंक्षी पालन गरिरहेका किसानलाई आयातित पशुवस्तुबाट महामारी जन्य रोगहरु संक्रमण कतिखेर हुने, सधैं त्राश भईरहन्छ । यसअघि बाख्रामा भएको पिपिआर रोग संक्रमणका समयमा कर्णालीको दक्षिण तर्फको प्रवेशद्वार क्षेत्रमा पशुपंक्षीका लागि क्वारेन्टाइन निर्माण गर्ने वहस समेत सुरु भएको थियो । प्रदेशका तत्कालिन मुख्यमन्त्री जीवनबहादुर शाहीले कणर्ाली भित्रने पशुपंक्षीका लागि क्वारेन्टाइन निर्माणमा चासो जनाएका थिए । तर सो स्थानमा जग्गा प्राप्ती तर्फ प्रदेशको गतिविधिले मात्र सम्भव नभएपछि मुख्यमन्त्री शाही पनि पछि हटे, कणर्ालीमा क्वारेन्टाइन निर्माणको योजना यसै तुहियो । अहिले फेरी महामारी जन्य रोगले किसानले क्षति व्यहोर्नुपरेपछि क्वारेन्टाइन आवश्यकताको विषय वहसमा आएको छ । अन्य प्रदेश तथा छिमेकी मुलुक भारतबाट आयात हुने पशुपंक्षीको स्वास्थ्य जाँच गरेर मात्र कणर्ाली भित्रिने बाटो निर्माण गरिनुपथ्र्यो । वर्षेनी यहाँका किसानले पशुपंक्षीमा महामारीजन्य रोगबाट क्षति व्यहोर्दै आएका छन् । यस अवस्थामा कणर्ाली प्रदेश सरकारले नेतृत्व लिदै क्यारेन्टाइन स्थलको निर्माण गर्नुपर्छ । जग्गा प्राप्ती लगायतका प्रक्रिया झन्झटिलो भएपनि संघीय सरकारसँगको समन्वयमा असम्भव भने छैन । कणर्ालीमा कृषि गतिविधिलाई बढावा दिन तथा किसानका उत्पादनलाई सुरक्षित गर्न समयमै नाकामा क्वारेन्टाइन स्थापना गरी सञ्चालन गरिनुपर्छ । अनि मात्र कणर्ालीका पशुपंक्षीमा महामारी जन्य रोगको जोखिम न्युनिकरण हुन्छ ।

तपाईको प्रतिक्रिया