सम्पादकीय

नगर बस सञ्चालनमा ल्याऊ

वीरेन्द्रनगर भित्र सार्वजनिक सवारीका साधन भनेकै तीन पांग्रे अटो मात्र हुन् । नगर क्षेत्र भरी पाइने यि अटोले सार्वजनिक यातायातको आवश्यकतालाई सम्बोधन गरेपनि सबै नागरिकको पहुँचमा भने अझै पुगेका पनि छैनन् । दुरीका रुपमा अटोको भाडा निकै महंगो पर्छ । सानो सवारी भएकाले पनि अटो व्यवसायले नागरिकलाई भाडामा सहुलियत दिन पनि सकेको छैन । महिला, विद्यार्थी, वृद्धवृद्धा, अपाङ्ग समेतलाई अटो व्यवसायले छुट तथा सहुलियत उपलब्ध गराउन सकेका छैनन् । यस अवस्थामा नागरिकहरु सहुलियपूणर् यातायातको आवश्यकताबाट वञ्चित भएको देखिन्छ । सरदरमा हेर्दा, अटोमा आठ किलोमिटरको यात्रा गर्न प्रति व्यक्ति एक सय रुपैयाँसम्म भाडा आवश्यक पर्छ । वीरेन्द्रनगर नगरपालिका लगायतका जिम्मेवार निकायले भाडा दर कार्यान्वयन भए नभएको समेत अनुगमन गर्न सकेका छैनन् । एकातिर महंगो भाडादर अर्को तर्फ सबै स्थानमा अटोको पहुँच अभावले वीरेन्द्रनगरमा नगर बसको आवश्यकता खड्किएको छ । अटो वाहेकको विकल्पमा अन्य सार्वजनिक यातायात सञ्चालनमा नहुँदा वीरेन्द्रनगरमा नगर बसको आवश्यकता बढेको हो ।

नीजि क्षेत्रलाई विकल्प विना सार्वजनिक यातायातमा पहुँचको व्यवस्थापनले नागरिकका अधिकार कार्यान्वयनमा सघाउँ पुर्‍याउदैन । यसका लागि सरकारी तहबाट समेत यातायातमा लगानी गर्नाले प्रतिष्पर्धी बजारको सृजना हुन्छ । यसअघि कणर्ालीमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याइसकेको छ । चौरजहारीले सञ्चालनमा ल्याएको नगर बसका कारण त्यहाँका नागरिकले निकै राहत महशुस गरेका छन् । नगर क्षेत्रमा वसोवास गर्ने सर्वसाधारण, आन्तरिक पर्यटक लगायत सबैले नगर बसको प्रयोग गर्छन् । सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमता भएको तीनवटा बस सञ्चालनमा ल्याएको छ । यसका साथै नगर बसमा अपांगता भएका, ज्येष्ठ नागरिक, विद्यार्थीहरुलाई समेत छुटको व्यवस्था छ । पाँच वर्षमुनिका बालबालिका तथा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गरिन्छ । भाडा दर पनि यात्रुमैत्री नै छ । २० रुपैयाँबाट सुरु हुने भाडादरले नागरिकहरुलाई आर्थिक सहायता समेत गरेको देखिन्छ ।

वीरेन्द्रनगरमा पनि नगर बस सञ्चालन गर्न दुई विकल्प छन्, पहिलो विकल्प नगरपालिका आफैले सञ्चालन गर्नु हो । दोस्रो, नीजि क्षेत्रसँगको सहकार्यमा नगर बस सञ्चालनमा ल्याउन सकिन्छ । यि दुई विकल्पमा नगर बस सञ्चालन भए यहाँका नागरिक नै पहिलो लाभग्राही हुनेछन् । वृद्धवृद्धाहरु न्युन भाडामा अस्पताल जान पाउँछन् । विद्यार्थीहरुलाई समेत यातायातमा धेरै रकम खर्चिनुपर्ने अवस्थाबाट छुटकारा मिल्नेछ । यातायात क्षेत्रमा हाल नीजि क्षेत्रबाट भईरहेको लगानीले यहाँको आर्थिक गतिविधिमा प्रभाव पारेकै छ । थोरै यात्रु बोकेर धेरै संख्यामा कुद्ने अटोबाट समेत मासिक रुपमा धेरै रकम कणर्ालीबाट वाहिरिएकै छ । नगर बस सञ्चालनले यि लगायतका धेरै विषय सुधारमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नेछ । यातायातमा धेरै रकम खर्चिनुपर्ने नागरिकको वाध्यतामा नगरबस सञ्चालनको व्यवस्था नै मुख्य सहयोगी पक्ष हो । नागरिकका आधारभुत आवश्यकता मध्यको यातायात क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राख्नुपर्छ । नीजिक्षेत्रसँगको समन्वय, सहकार्य अथवा नगरपालिका आफैले पनि वीरेन्द्रनगरमा तत्काल नगर बस सञ्चालनमा ल्याउनुपर्छ ।

तपाईको प्रतिक्रिया