जीवनज्योतीको बामेखोलामा सहकारी शिक्षा शिविर, बामेखोलामा प्रहरी चौकी स्थापनाको माग

सुर्खेत, २१ माघ ।
जीवनज्योती बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–१० ले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा शिविर नयाँ घुस्रा बामेखोलामा शनिबार सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष श्याम बहादुर ओलीको अध्यक्षता एवं वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष डिल बहादुर रखालको प्रमुख आतिथ्यतामा सहकारी शिक्षा शिविर सम्पन्न भएको छ ।
सोही अवसरमा सहकारीका शेयर सदस्य स्वर्गिय रत्नकली भुसालको परिवारलाई राहत स्वरुप १५ हजार नगद हस्तान्तरण गरिएको थियो । सहकारी शिक्षा शिविरमा सहकारीका गतिविधि तथा आगामी योजनाका बारेमा सहकारीका सचिव दीपक कुमार बुढाक्षेत्रीले जानकारी गराएका थिए ।

सहकारीको आफ्नै २ कठ्ठा क्षेत्रफलको जग्गालाई घेरबार गरी कृषिजन्य बहुउद्देश्यीय कार्यमा प्रयोग गरिने, सेयर सदस्य बृद्धि, सेयर सदस्यहरुलाई औषधी उपचारमा सहुलियत गराउन निजी अस्पतालसंग सम्झौता गरिने जानकारी दिए । एयरपोर्ट चोकमा रहेको आइएमइ सेवा केन्द्रलाई थप व्यवस्थित र विस्तार गरी सहकारीका गतिविधि समेत सञ्चालन गरिने, पूर्ण रुपमा अनलाइनबाट सहकारीका कारोबारहरु सञ्चालन गरिने जानकारी दिए ।
५८२ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी १ करोड ५४ लाख १७ हजार रहनुका साथै गत आर्थिक बर्षमा करिव १० करोड कारोबार गर्न सफल भएको सहकारीका कोषाध्यक्ष दिल बहादुर विसीले जानकारी दिए ।

जगेडा कोष ३१ लाख ५१ हजार ३८ रुपैयाँ, निक्षेप बचत संकलन २ करोड ६६ लाख ४६ हजार ४ सय २१ रुपैयाँ, लगानी रहेको ऋण ६ करोड ३१ लाख १८ हजार २ सय ४६ रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष दिल बहादुर विसीले जानकारी दिए । सेयर सदस्यहरुलाई धितोको आधारमा १५ लाखसम्म ऋण लगानी गर्दै आइरहेको छ ।
सहकारी शिविरमा बोल्दै वडा अध्यक्ष डिल बहादुर रखालले घुस्रामा स्थापना भएको वडा नं. १० को उत्कृष्ट सहकारी संस्था रहेको बताउँदै जेष्ठ नागरिक सम्मान, स्वास्थ्य उपचारमा छुट सुविधा लगायतका जनपक्षिय कार्य गरेकोप्रति प्रशंसा व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा सहकारीका प्रवन्धक विष्णु प्रसाद बाँस्कोटाले सहकारीबाट उत्कृष्ट बचत, उत्कृष्ट ऋणी, उत्कृष्ट संघर्षशिल महिला सेयर सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट पूर्व सञ्चालक तथा लेखा समितिलाई सम्मान तथा पुरस्कृत गरिँदै आएको जानकारी दिए । सहकारीबाट सुत्केरी पोषण राहत, शैक्षिक छात्रवृद्धि कार्यक्रम, मृत्यु राहत, दुर्घटना राहत, देवी प्रकोप तथा प्राकृतिक प्रकोप राहत वितरण गरिँदै आएको जानकारी दिए ।


बामेखोलामा प्रहरी चौकी स्थापनाको माग
वडा अध्यक्ष, वडा सदस्य, विभिन्न टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, अगुवा, विभिन्न सहकारी, समूहका अगुवाहरुको उपस्थिति रहेको भेलाले तत्काल बामेखोलामा प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई आग्रह गर्ने निर्णय गरेको छ ।
भेरी नदीमा पुल नहुँदा पैदल यात्रा गर्ने बेला २०४५ साल अगाडी स्थायी प्रहरी चौकी रहेको बामेखोलामा भेरी नदीमा पुल बनेर यातायातको सुविधा भएपछि बामेखोलाको प्रहरी चौकी स्थानीयलाई जानकारी नै नदिएर हटाईएको प्रति स्थानीय अगुवाहरुले गुनासो गरेका थिए ।
भेरी पुल–बामेखोला हुँदै रहलपुर–एयरपोर्ट जोड्ने बैकल्पिक मार्ग सञ्चालनमा आएपछि वीरेन्द्रनगर वडा नं. ९, १० र ११ को स्थानीयबासीहरुलाई आवतजावतमा सहजसंगै त्यस क्षेत्रबाट चोरी, निकासी, लुटपाट, लागुऔषध, दुव्र्यसन, हत्या, हिंसाका घट्ना बढ्न थालेपछि उक्त क्षेत्र असुरक्षित भएकाले तत्काल प्रहरी चौकी स्थापनाको माग गर्ने निर्णय भएको छ । मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय समेत सञ्चालन हुँदा विद्यार्थीहरु समेत असुरक्षित भएकाले तत्काल प्रहरी चौकी स्थापनाको माग गरिएको छ ।







