कर्णालीको विकासमा व्यथिति : कतै पुल अलपत्र, कतै तार असरल्ल

सुर्खेत,२१ माघ ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले भेरी करिडोरअन्तर्गत भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुई वर्षदेखि अलपत्र परेको छ । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र परेको हो।
पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ। भेरी नदीमा एक सय मिटर लामो पक्की पुल साढे दुई वर्षदेखि काम नगर्दा समस्या हुँदै आएको छ। तीन जिल्लाको संगमस्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनले समेत काम नगर्दा पुल निर्माण कार्य पछि धकेलिएको छ । १५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले साढे दुई वर्षअघि ठेक्का खोलेको थियो।
क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्या देखिएको छ। निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यसमेत मा समेत बाधा पुग्ने देखिएको छ।

हाइड्रोपावरसँग मुआब्जाका विषयमा बारम्बार कुरा गर्दा पनि नपाएको गुनासो जग्गाधनीहरूको छ। हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो।
यता, रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेस बनाउने तथा सामग्रीहरू जम्मा गर्ने काम सुरु भए पनि जग्गा विवादले समस्या आइरहेको बताए। टेण्डर हात पारेको केही समयमै प्रोपराइटर चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेस्की रकमसमेत लिइसकेका छन्।
पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको तीन वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन।
यता, जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताए। ठाउँ , ठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै आएका थकालीले यो पुलको काम समेत अर्कोलाई बिक्री गरेर समस्यामा पारेका छन्।
जग नखनी साढे दुई करोड भुक्तानी
जाजरकोट बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म अस्पतालको जग समेत खनिएको छैन् । गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन निर्माण हुन नसकेको हो। भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोडभन्दा बढी रकम लिइसकेको छ ।
१५ शैयाको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा ८० लाख रकम पेस्की र दोस्रो चरणमा थप करोड ८१ लाख रुपैयाँ पेस्की लिइसकेको छ। सम्झौता अनुसार कुल लागतको १० प्रतिशत बजेट अग्रिम पेस्की लिएको हो। साढे दुई करोडभन्दा बढी रकम लगिसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ।
गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदार खानी÷धुलिखेल÷जेके बिल्डर्स जेभी बताउँछ। ठेकेदार कम्पनीका अनुसार भवन बनाउन करिब ११ कट्ठा जग्गा आवश्यक पर्छ। तर हाल सम्म लिम्सा स्वास्थ्य चौकीको नाममा ४ रोपनी मात्र जग्गा छ। भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था छ। यसले गर्दा भवन निर्माणमा ढिलाइ भएको हो।
स्थानीय तहको हचुवाको निर्णयले समस्या भएको ठेकेदार बताउँछन्। तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको टेण्डर गराएका थिए। तर गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ।
भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताए। ‘अस्पतालको भवन बनाउन पर्याप्त जग्गा छ’ उनले भने, ‘तर ठेकेदारले तीन पटक म्याद थप गर्दा समेत काममा चासो दिएन।’ ठेकेदारको लापरबाहीका कारण काम हुन नसकेको उनको दाबी छ।
स्वास्थ्य शाखाप्रमुख रामबहादुर रोकायले सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताए। गाउँपालिकाले यही पुस २८ गतेमात्रै स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय उनले बताए।
लिम्सामा १५ शैया अस्पतालको भवन निर्माणका लागि कुल लागतः २३ करोड बजेट ‘स्टमेट’ गरिएको थियो। ठेकेदारले घटेर १८ करोड ३९ लाख ४९ हजार २०६ रुपैयाँमा निर्माणको ठेक्का लिएको गाउँपालिका इन्जिनियर केशव श्रेष्ठले बताए।
भवन निर्माणका लागि गाउँपालिकाले २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो। सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ। तर सम्झौता अवधि सकिन पाँच महिना मात्र बाँकी रहँदा भवन निर्माण सुरु हुन सकेको छैन। तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गरेका थिए।
६ वर्षमा आधै काम
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्ष पुग्दा पनि बन्न सकेको छैन । तीन वर्षमा पूरा गर्नेगरी २०७३ सालमा सुरु गरिएकोपुलको काम हालसम्म ५० प्रतिशत मात्र पूरा भएको छ। सडक डिभिजन चौरजहारीका इन्जिनियर प्रज्वल सुनारले फाउण्डेसनको डिजाइन परिवर्तन गरिएपछि काममा ढिला भएको उनले बताए ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२÷७३ मा गाराघाट पुल निर्माणको ठेक्का नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले लिएको थियो। नौ करोड ६१ लाख रुपियाँमा पुल निर्माण गर्ने सम्झौता गरिएको थियो।
कन्स्ट्रक्सनका प्रतिनिधि पतिराम केसीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम तीव्र पारेको बताए। तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता गरिएको भए पनि विभिन्न समस्याले गर्दा ढिलाइ भएको उनले बताए। पुल निर्माणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ। विशेष गरेर वर्षायाममा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।
बत्ति नपुग्दै भाँचिए पोल, तार असरल्ल
रुकुम पश्चिमको केहि स्थानमा दुई वर्ष पहिला गाडिएका विद्युत पोल र तानिएका तारमा अहिले सम्म लाईन विस्तार हुन सकेको छैन । गाडिएका पोलहरुमा कतै भाँचिएका छन् भने कतिपय स्थानमा पोल तथा तारहरु लथालिंग अवस्थामा रहेका छन् ।चौरजहारी नगरपालिकाको वडा नम्वर १०, ११, १२, १३ र १४ का विभिन्न स्थानहरुमा यस्तो समस्या देखिएको हो ।
स्थानीय विनोद शर्माले चौरजहारी नगरपालिका वडा नम्वर १३ आकाशेदेखी छेर्नी डाँडाको बीचमा रहेका पोल भाँचिएको अवस्थामा रहेको जानकारी दिए । दुई वर्षअघि गाडिएका पोलहरु यसरी असरल्ल बन्दा राज्यको सम्पति समेत नोक्सान भएको स्थानीयको गुनासो रहेको छ । विद्युत सेवा पाउँला भन्ने आशा गरेको बेला पोल भाँचिएर तार नै लथालिंग अवस्थामा रहेको शर्माले बताए ।
चौरजहारी नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण शर्माले १३ नम्वरको वडाको कुनै पनि स्थानमा विद्युत सेवा नपुगेको बताए । दुई वर्ष पहिला गाडिएका पोल र तारहरु बेवारिसे जस्तै भएको भन्दै वडाध्यक्ष शर्माले पोल र लाईन विस्तारको जिम्मा लिएको ठेकेदारको लापरबाहिले यस्तो समस्या सिर्जना भएको आरोप लगाए ।
आफूले बारम्बार जिल्लाको विद्युत कार्यालयमा यस बारेमा जानकारी गराउँदा पनि विद्युत कार्यालयले ठेकेदारको जिम्मेवारी भएकाले आपूmहरुले केहि गर्न नमिल्ने जवाफ दिएको उनले बताए । ’जनतालाई समस्या भएको छ,’ वडाध्यक्ष शर्माले भने, ’आफ्नो वडाको पुरै जनता र अन्य वडावासी समेत अध्यारोमा बस्न बाध्य भएका छन् ।’
चौरजहारी नगरपालिकाको वडा नम्वर ११ चौफा बजारदेखि माथिल्लो क्षेत्रमा पोल गाड्न तथा तार बिस्तार गर्न नदिएकोले पनि समस्या भएको बताईएको छ । विशेष गरेर जग्गामा विवाद हुँदा उक्त समस्या आएको हो ।






