औपचारिकतामा सीमित राष्ट्रपति रनिङ सिल्ड

रुकुम पश्चिम,१८ फागुन ।

भलिबल, एथ्लेटिक्स र मार्सल आर्सतर्फका जम्मा ४० विधामा प्रतियोगिता गराउँदै यस पटकको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड आइतबार सकियो । चौरजहारीस्थित शीतल माध्यमिक विद्यालयको परिसरमा गत सोमबारदेखि सञ्चालन गरिएको यो प्रतियोगितामा जिल्लाका ६ पालिकामध्ये ४ पालिकाले मात्र भाग लिए ।

आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले अघिल्लो वर्ष पनि जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएनन् । यो वर्ष पनि दुवै स्थानीय तहको लापरबाही दोहोरिएको जिल्ला खेलकुद विकास समितिका सदस्यसचिव लीलाप्रसाद ढकालले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुन त्यसभन्दा पहिला पालिकाबाट खेलाडी छनोट गर्नुपर्ने व्यवस्था छ । विद्यालयहरूको अरुचि र पालिकामा पनि बजेट अभाव हुँदा पालिकास्तरको प्रतियोगिता आयोजना गर्न नसकेको मुसीकोट र त्रिवेणीले जनाएका छन् ।

मुसीकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका सहायक अधिकृत नरेन्द्र केसीले विद्यालयहरूमा अर्धवार्षिक परीक्षा र बजेट नभएकाले सहभागिता जनाउन नसकिएको बताए । हरेक पालिकामा खेल प्रतियोगिता सञ्चालनका लागि १ लाख बजेट संघीय सरकारबाट आउने र बाँकी बजेट सम्बन्धित पालिकाले नै व्यवस्था गर्नुपर्ने प्रावधान रहेको त्रिवेणीका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ओविराम रोकाले बताए ।

उनले खेलकुद विकास समितिले पालिकासँग गर्नुपर्ने समन्वय र सञ्चारमा पनि लापरबाही भएको आरोप लगाए । ‘जिल्लास्तरीय प्रतियोगिता गर्न हतार गरियो,’ उनले भने, ‘विद्यालयको पठनपाठन र अरू प्राविधिक तयारी गर्न नै हामीलाई समय पुगेन । यसकारण यस पटक पनि हामी छुट्यौं ।’

दसौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने सरकारको तयारी छ । तर त्यही खेलकुदका लागि खेलाडी छनोट गर्ने जगका रूपमा लिइएको यो प्रतियोगितामा भने सरोकारवालाको लापरबाही हुनु दुःखद भएको मुसीकोटस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालले बताए ।

‘नगरपालिका र जिल्ला खेलकुदको बीचमा नै राम्रो सञ्चार हुन सकिरहेको छैन,’ उनले भने, ‘हतारमा बजेट सक्नका लागि मात्रै प्रतियोगिता गराउने कुराको अर्थ पनि भएन । जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष गोविन्द ओलीले जिल्लामा खेल गतिविधिलाई प्रभावकारी र नतिजामुखी बनाउने कुरामा सरोकारवाला सबैका हातेमालो जरुरी रहेको बताए ।

‘हामीले त हाम्रो जिम्मेवारी पूरा गरेकै छौं, तर स्थानीय सरकार र विद्यालयहरू यसमा गम्भीर भएनन्,’ उनले भने, ‘फागुन पहिलो साताभित्र पालिकाहरूलाई खेलाडी छनोट गरिसक्न सर्कुलर गरिएको थियो, तर २ पालिका सहभागी नहुँदा जिल्लास्तरीय प्रतियोगिता नै कर्मकाण्डी बन्यो ।’

आफ्नै प्रदेशको घरेलु मैदानमा आयोजना हुने तयारी भइरहेको आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा रुकुम पश्चिमले दह्रो उपस्थिति जनाउनुपर्ने भन्दै भलिबलका क्षेत्रीय रेफ्री सन्देश विकले यसका लागि अहिलेदेखि आवश्यक तयारीमा सबै जुट्नुपर्ने बताए ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया