भोटे कुकुरको माग धान्न मुस्किल

रुकुम पश्चिम,१९ माघ ।

रुकुम पूर्वको तकसेराका ७९ वर्षीय परिलाल बुढाको घरमा २ वटा माउ भोटे कुकुर छन् । ती कुकुरले वर्षमा १० वटासम्म छाउरा÷छाउरी जम्माउँछन् । ती कुकुरको माग यति छ कि उनलाई पु¥याउनै मुस्किल छ ।

‘यो पालि १० वटा बच्चा जन्मिएका थिए, सबै काठमाडौं र पोखरा पठाएँ,’ उनले भने, ‘अहिले त माग धान्नै गाह्रो भइसक्यो ।’ उनले सबै कुकुरका छाउरा÷छाउरी १० हजार रुपैयाँमा बिक्री गरेका हुन् । तरकासेराकै ६६ वर्षीय कलम बुढाको घरमा पनि एकवटा माउ भोटे कुकुर छ ।

त्यसले यो वर्ष ४ वटा छाउरा÷छाउरी जन्मायो । तिनीहरू अहिले जम्मा ५ महिनाका भए । उनले रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा शुक्रबार भोटे कुकुरका छाउरा÷छाउरी ६ देखि २० हजार रुपैयाँमा बिक्री गरे । त्यो पनि एक घण्टामै । उनका अनुसार ६, १०, १५ र २० हजार रुपैयाँमा ती कुकुरहरू बिक्री भएका हुन् ।

उनले सबैभन्दा आकर्षक र छिटो बढेको एउटा कुकुर २० हजार रुपैयाँमा बिक्री भएको सुनाए । ‘एउटा माउ कुकुरले २ देखि ५ वटासम्म बच्चा जन्माउँछ,’ उनले भने, ‘बिक्रीमा कुनै समस्या छैन, भाउ पनि बर्सेनि बढिरहेको छ, शुक्रबार पनि मुसीकोट आएको १ घण्टामै सबै कुकुर बिक्री भए ।’

हिमाली भेगका भेडीखर्कहरूमा पशु–चौपाया र घरको रक्षा गर्न कुकुर अनिवार्य पाल्ने गरिएको उनले बताए । उनका अनुसार भोटे कुकुर आफूहरूका लागि नगदेबालीजस्तै बनेको छ ।

चीनको भोटबाट विकास भएको जात भएकाले यो कुकुरलाई भोटे कुकुर भनिएको स्थानीय गन्जमान बुढाले बताए । उनको घरमा पनि दुईवटा माउ कुकुर छन् । यो वर्ष माउ कुकुरले जन्माएका ९ वटा छाउरा÷छाउरी प्रतिगोटा १० हजार रुपैयाँमा पोखरा पठाएको उनले बताए । उनका अनुसार एउटा कुकुरको आयु १८ देखि २० वर्षसम्म हुन्छ । भोटे कुकुर बाघसँग समेत लड्न सक्ने भएकाले यसप्रति आफूहरूको अगाध विश्वास रहेको उनको भनाइ छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया