दुर्घटनामा १ को मृत्यु, १ घाइते

रुकुम पश्चिम,१९ माघ ।
रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका १४ छिवाङ ज्युलास्थित डुडे बगरमा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिका ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जादैं गरेको ना ६ त ७७१३ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ट्रयाक्टर दुर्घटना हुदाँ चालकका सहयोगी भेरी नगरपालिका १ जाजरकोटका अन्दाजी ३४ वर्षका हरिबहादुर वि.क को मृत्यु भएको हो । उपचारको लागि जिल्ला अस्पताल सल्लेमा लिएको बेला उनलाई मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा परेर ट्रयाक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षिय मनबहादुर विक घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको स्वास्थ्य अवस्था गम्भिर रहेकोले थप उपचारको लागी नेपालगन्ज पठाइएको छ ।






