चुनौती बन्दै, ‘सामुदायिक कुकुर’ को व्यवस्थापन

सिर्जना बुढाथोकी ।

सुर्खेत,५ माघ ।

बढ्दो घरधुरी र जनसंख्याको चापसंगै घरैपिच्छे बढेका सवारीसाधन, साँघुरा सडक, ठाउँ ठाउँमा थुपारिएका फोहोरका डंगुर, अस्तव्यस्त बाटोघाटो, अव्यवस्थित पार्किंग, गुजिल्टिएका तारसंगै प्रदेश राजधानी वीरेन्द्रनगरलाई झन् अव्यवस्थित बनाउने अर्कोथोक बनेको छ, ‘सामुदायिक कुकुर’को झुण्ड ।

सडक र सार्वजनिक ठाउँहरुमा झुण्ड–झुण्ड बनाएर बस्ने यस्ता कुकुरहरुलाई पहिला ‘भुस्याह’ भनिन्थ्यो तर पछिल्लो समय पशुअधिकारकर्मीले यस्ता कुकुरलाई भुस्याह नभई सम्मानजनक नाम दिनुपर्ने भन्दै सामुदायिक कुकुर भन्नुपर्ने तर्क गर्दै आइरहेका छन् । नाम जत्ति नै सम्मानजनक राखेपनि समुदायकाभरमा सडकमा छाडिएका, सडकमै जन्मिएर हुर्किएका यस्ता थुप्रै सामुदायिक कुकुरहरु केहि भोकले त केहि रोगले मृत्युवरण गर्नुपर्ने अवस्था अहिलेपनि उस्तै छ ।

बजार क्षेत्रका चौकचौराहमा बस्ने यस्ता कुकुरलाई कोहि कसैले टिठमानेर घरको बासी त्यासी खाना दिए यिनको पेट भरिन्छ, त्यहि पनि नपाए यिनीहरु ठाउँ ठाउँमा थुपारिएका फोहोर डुंगुर उधिन्दै पाएसम्मको खाना खाएर पेट भर्ने गर्छन् । कतिपयले न्यूनतम् मानवतासमेत नदेखाई, टिठ दयासमेत नमानी दैलोबाट धपाउनका लागि भक्भकी उम्लिएका पानी छ्यापिदिंदा छालामा घाउचोट हुने, ढुंगालठ्ठीले हिर्काउँदा घाइते हुने हुन्छन् । उचित स्याहार र समयमै औषधी उपचार नपाएर घाउ कुहिएर, गन्हाउने भई झन विरक्त लाग्दो गरी मर्नुबाहेक अर्को विकल्प हुँदैन ।

बाँचुञ्जेलसम्म भोक, प्यास लागेका बेला दानापानी अनि घाउचोटपटकमा औषधिउपचार नपाएर घाइते, अंगभंगका बेला मात्र होइन मरेपछि पनि यस्ता सामुदायिक कुकुरले सहज पार पाउँदैनन् । सडकमा जताततै भेटिने यस्ता कुकुर बढिजसो कालगतिले मर्न पाउँदैनन । रोगभोकले ख्याउँटिएर हाड छालामात्र रहेको, खोइरो लागेर, घाउचोट कुहिएर गन्हाउने अवस्थामा पुगेर त कतिपय सडक दुर्घटनामा मर्ने गरेका छन् ।
जुनसुकै कारणले मरेको भएपनि, सडकका आसपासमा मरेर फालिएको धेरै दिनसम्म बेवारिसे कुकुुरको लाश उठाउने र विसर्जन नहुँदा लाश गन्हाए बरु नाकमुख बुझेर हिडिंदिने तर कसैले हातसमेत नलगाउने अवस्था छ ।

पिपिराचोक नजिकै मरेको तीन दिनसम्मपनि कुकुरको लाश व्यवस्थापन नभएपछि धेरैजनाले फेसबुकमार्फत वीरेन्द्रनगरका नवराज भेडालाई गुहारे र अन्ततः उनकै अगुवाईमा उक्त कुकुरको विसर्जन भयो । त्यसअघि पनि सडकमा कुकुर या गाईवस्तु घाइते वा मृत अवस्थामा फेला परे उद्धारका लागि नवराज नै अघि सर्दै आएका छन् ।

त्यसअघि एउटा अर्को कुकुरको लाश यसैगरी लामो समय असरल्ल अवस्थामा छाडिएपछि उनै नवराजले थैलोमा पोको पारेर नगरपालिकाको गेटअगाडि लगेर छाडेका थिए । ‘जनप्रतिनिधिहरुको आँखा खोल्न र जिम्मेवार बनाउन त्यसो गरिएको हो,’ उनले भने । यस्ता छाडा र अनियन्त्रित कुकुरप्रति शहरवासीहरुको धेरै गुनासा नभएका पनि हैनन् । झुण्ड झुण्ड बसेर रातभर एकोहोरो रुने भुक्ने, आउँदा जाँदाका बटुवा तथा साइकल, मोटरसाइकल सवारलाई झम्टिने गर्दा दुर्घटनाको जोखिमपनि उत्तिकै रहन्छ ।

वीरेन्द्रनगर–९ का पर्वत के.सीले केहि समयअघि यस्तै कारण मोटरसाइकल दुर्घटनामा पर्दा हातखुट्टामा घाउचोट लागेको बताए । ‘त्यो अलि ढिला भएकाले हतारमा अफिस जाँदै थिए, त्यति स्पिड पनि थिएन ।’ उनले भने, ‘’एउटा कुकुर एक्कासी दौडिएर आउँदा कन्ट्रोल नै भएन  लडिहाले, कसलाई दोष दिनु ?’

यस्ता अनेकन दुर्घटनाको जोखिम त छँदैछ, त्यहिमाथि बेलाबखत फैलने रेबिजलगायतका विभिन्न रोगसंक्रमणको डरपनि उत्तिकै रहन्छ । त्यसैलेपनि वीरेन्द्रनगर नगरपालिकाले केहि दिनअघि सार्वजनिक सूचना निकालेर रेबिज फैलनेसक्ने सम्भावना रहेको भन्दै सजगता अपनाउन आग्रह गरेको थियो ।

‘हाम्रो नगरपालिकाले सामुदायिक कुकुरमा रेबिज देखिरहेकोले सजग रहन आग्रह गर्दै विज्ञप्ति त निकालेको थियो ।’ उनले भने, ‘तर कुकुरबाट हामी मात्रै बच्ने होइन नि उनीहरुलाई बचाउन र संख्या बढ्न नदिन के गर्ने भन्ने सोच्नेपनि होला त नगरपालिकाले ? ।’

रेबिजले दुई जनाको मृत्यु

केहि दिनअघि भेरीगंगामा एक र लेकवेशी नगरपालिकामा एक गरी २ जनाको रेबिज लागेको कुकुरको टोकाईबाट मृत्युसमेत भएकाले यसलाई रोक्न के गर्ने भन्ने विषयमा छलफल भैरहेको उल्लेख गरे । पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी मोहन गिरीले पछिल्लो समय सुर्खेतमा सामुदायिक कुकुर र स्यालको विगविगी हुदाँ समस्या सिर्जना गरेको जानकारी दिए ।

‘स्थानीय तह, प्रदेश र संघको सहयोगमा मास भ्याक्सिनेसन (सामूहिक वन्ध्याकरण) को काम गरिरहेका छौ र निगरानी पनि बढाइरहेका छौ ।’ उनले भने,‘यसले गर्दा पूर्ण रुपमा नियन्त्रणनै भयो भन्ने अवस्था नभएपनि केहि मात्रामा नियन्त्रममा आएको छ ।’

छाडा हिड्ने कुकुर नै भएपनि पशुअधिकारका कारण मार्न नपाइने भएका कारणसंख्या नियन्त्रण मात्र एकमात्र उपाय रहेको भन्दै गिरीले स्थानीय तहको सहयोगमा कुकुर वन्ध्याकरण शिविर नगरेसम्म कमी नआउने दाबी गरे । ‘शिविर सञ्चालन गर्नका लागि हामीसंग बजेट छैन, कतैबाट स्रोत जुट्यो भने हामी यो काम छिटै गर्छौ ।’उनले भने, ‘कर्णालीमा पर्याप्त जनशक्ति नहुँदा बाहिरबाट विज्ञ ल्याउनुपर्ने भएकाले बजेट व्यवस्थापनमा समस्या भएको छ । ’

कसरी गर्ने व्यवस्थापन?

काठमाण्डौं लगायतका केहि ठूला शहरहरुमा सामुदायिक कुकुरहरुलाई खानापानी र आवश्यक्ता अनुसारको औषधी उपचार अनि स्याहार सुसार गर्नका लागि केहि पशुअधिकारकर्मीहरुले गैरसरकारी संस्था खोलेका छन् । जहाँ शहरभरिका सबै बेवारिसे कुकुरको व्यवस्थापन हुने गर्छ ।

यस्ता, संघसंस्था र फाउण्डेशनमध्ये कतिपयले अन्य कुकुरपे्रमी वा पशुअधिकारकर्मीबाट स्वेच्छिक रकम संकलन ‘क्राउड फण्डिंग’ मार्फत खर्चपर्चको जोहो गर्ने गर्छन भने कतिपयले व्यक्तिगत रुपमा समेत सबै खर्च व्यहोरिरहेका छन् । तर, सुर्खेतमा भने गैरसरकारी संघसंस्था वा समूह त्यस्तो नभएको अवस्थामा पूरै जिम्मेवारी स्थानीय सरकारका रुपमा नगरपालिकाको काँधमा आइपरेको छ । जसका कारण प्रभावकारी काम नभएको या समयमा काम नभएको भन्दै नगरपालिकाको आलोचनापनि हुँदै आएको छ ।

अहिलेको अवस्थामा हाल जिवित रहेका सबै सामुदायिक कुकुरहरुलाई एकत्रित गरी उचित वाससंगै उनीहरुको आहारविहार अनि स्वास्थ्य स्याहारसमेतको उचित व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ । एकैठाउँमा जम्मा गरिएका पुरुष कुकुर या महिला कुकुरमध्ये जुनको संख्या कम छ, उनीहरुलाई क्रमिक रुपले वन्ध्याकरण नगरी, यसरी अनियन्त्रित एवं छाडा छोड्दै गएमा यिनीहरुको संख्यापनि कम नहुने र समस्या सधैं बल्झिरहने हुन्छ ।

खोइरोलगलायतका रोग संक्रमण अनि घाउचोटलागेर उपचार नपाएका कुकुरलाई उपचार तथावन्ध्याकरण गर्ने योजना बनाएको भन्दै अभियन्ता नवराज भेडाले यसै विषयमा छलफल गर्नका आफु केहि दिनदेखि तारन्तार नगपालिकाको कार्यालयमा धाइरहेको जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया