‘कालापहाडको यात्रा रोक्न गाउँमै सहकारी स्थापना’

युवराज बस्नेत अध्यक्ष, सिद्धेश्वर कृषि तथा पशुपालन सहकारी संस्था, बराहताल (सुर्खेत
हाम्रो आर्थिक अवस्था निर्वाहमुखि छ । कृषिमा निर्भर अर्थतन्त्रका कारण अधिकांश परिवारलाई अहिले पनि वर्षभरी खान पुग्दैन । आर्थिक अभावकै कारण यहाँका धेरै नागरिक रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुग्छन् । जसले गर्दा उनीहरुले पढ्न पाउँदैनन् । यस्तै भयो सुर्खेतको बराहताल गाउँपालिका वडा नं ५ निवासी युवराज बस्नेतको जीवनमा पनि ।
उनले आर्थिक अभावकै कारण पढ्न पाएनन् । परिवारको खर्च जोहो गर्न कालापहाड जनुपर्ने अवस्था आयो । कालापहाडमा पाएको दुख र गाउँका सबै भारत नै जानुपर्ने अवस्था अन्त्य गर्न उनकै नेतृत्वमा गाउँमा सहकारी संस्था स्थापना भएको छ ।
हाल स्थानीय सिद्धेश्वर कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका युवराजकै नेतृत्वमा सहकारीले स्थानीयलाई आयआर्जन र आत्भनिर्भरको बाटो देखाएको छ । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै बस्नेतसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
सामान्य बाल्यकाल
बुवा भुवनसिंह बस्नेत र आमा लिलाकुमारी बस्नेतको कोखबाट २०३४ साल चैत १७ गते सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ५ रक्सेनीमा युवराज बस्नेतको जन्म भयो । उनी घरको जेठो छोरा हुन् ।
उनको परिवार कृषि कर्ममा निर्भर थियो । तर पनि परिवारलाई जीवन निर्वाह गर्न समस्या थियो । उनको ९ बर्ष सम्मको बाल्यकाल रक्सेनीमा नै वित्यो ।
उनले ३ कक्षासम्म प्रावि रक्सेनीमा पढे । २०४४ सालमा ४ कक्षादेखि भने उनले जनज्योती मावि बड्डीचौरमा पढे । ६ कक्षासम्म जनज्योतिमा पढेका उनले कक्षा ८ सम्म भने विजया मावि दुल्लु दैलेखमा पढे ।
बड्डीचौरको जनज्योती माविमा नै मावि तहको पढाइ सुरु हुन थालेपछि उनी दुल्लुबाट फेरी बड्ड्ीचौर फर्किएर ९ कक्षामा भर्ना भए । १० कक्षाको अन्तिम सम्म पढे । तर उनले परीक्षा दिन सकेनन् ।
हजार रुपैयाँ नहुँदा पढाइ रोकियो
उनले एसएलसी दिन पाएनन् । अन्तिम समयमा आएर उनले पढाइलाई रोक्नुपर्यो । घरको आर्थिक अवस्था कमजोर हुँदा उनले आफ्नो पढाइलाई रोके । विद्यालयमा शुल्क तिर्नका लागि एक हजार रुपैयाँ नहुँदा उनले उनले आफ्नो पढाइ छोड्नुपर्यो । उनले १७ बर्षकै उमेरमा बिवाह पनि गरिसकेका थिए।
एकातिर घरपरिवारको जिम्मेवारी बढ्दै गएको थियो भने अर्कोतर्फ आर्थिक अभाव । यहीकारण उनी पैसा कमाउने भन्दै भारतको लखनपुर गए । अनि उतै बसेर काम गरे । पढाइलाई निरन्तरता दिने उनको ठुलो धोको थियो ।
तर आर्थिक अभावकै कारण पढ्न पाएनन् । घरको जिम्मेवारी थपिदैँ गयो । घर खर्च चलाउनुपर्ने जिम्मेवारी उनको काँधमा आएपछि पढाइलाई छाडेर परिवारको जिम्मेवारी पुरा गर्नतर्फ लागे ।
समाज रुपान्तरण गर्ने सोच
युवराजको मात्र होइन, उनको गाउँकै समस्या एउटै थियो । आर्थिक अभावका कारण सस्तो मुल्यमा नै मजदुरी बेच्नुपर्ने बाध्यता थियो । विभिन्न सामाजिक कुरिती, विकासको पहुँचमा कोही थिएनन् ।
हरेक क्षेत्रमा गाउँले अभाव भोगिरहेको थियो । उनले यही अवस्थालाई देखेर समाज रुपान्तरण गर्नुपर्छ भनेर सोच्थे । सबैसँग मिलनसार र सहयोगी भएरै होला युवराजलाई गाउँका मानिसहरु विश्वास गर्छन् ।
आफुले सोचेको कुरा पुरा गर्ने उनमा हुटहुटी थियो । तर आर्थिक अभाव, हरेक क्षेत्रको समस्या चाहेजस्तो थिएन । अर्कोतिर घरको जिम्मेवारी पुरा गर्नुपर्ने पनि थियो । उनी भारत जाने र आउने गरेर दिन कटाइरहेका थिए ।
यसरी गठन भयो सहकारी
उनी भारत जाने र घरमा आउने गरिरहेका थिए । त्यहीक्रममा युवराजका भाई ओमबहादुर बस्नेतले भारतमै बस्दा सहकारी स्थापना गरौं भन्ने प्रस्ताव ल्याए । त्यहीअनुसार उनी अगाडी बढ्न तयार भए ।
गाउँका मानिसहरुलाई सहकारीको बारेमा बुझाइयो । गाउँकै मानिसहरुको सल्लाहमा उनीहरुले गाउँमै २०६८ सालमा सिद्धेश्वर कृषि तथा पशुपालन सहकारी दर्ता गरे । सुरुमा वचत तथा ऋणको मात्र काम गर्ने सहकारीबाट उपलब्धी भएन ।
मानिसहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचका साथ उनीहरु लागेका थिए। त्यहीअनुसार सहकारीको दायरा बढाएर कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने योजना बनाइयो । २७ जनाबाट सुरु गरिएको सहकारीमा अहिले तीन सय भन्दा धेरै शेयर सदस्य छन् । साधारण सदस्यबाट काम गर्दै आएका युवराजलाई सहकारीको अध्यक्ष बनाइएको छ ।
नेतृत्वमा अब्बल उनी सहकारीको नेतृत्व गरेदेखि विभिन्न योजना बनाएर कृषि र पशुपालन क्षेत्रमा शेयर सदस्यहरुलाई केन्द्रीत गरे । विशेष गरेर कृषि र पशुपालनमा जोड दिनेगरी किसानलाई सहुलियतमा ऋण दिएर व्यवसायिक बनाइएको छ । गाउँमा कृषि उत्पादन बृद्धि गएको छ भने मासु र दुध उत्पादन पनि बढेको छ ।
विभिन्न संघसंस्थाहरुको समन्वयमा सहकारीले नै उत्पादित बस्तु खरिद गरेर बजारसम्म लैजान्छ । मल, बिऊबिजन पनि सहकारीबाटै किसानलाई दिने गरिएको छ । अहिले गाउँमा सिंचाइ र बजारको व्यवस्था सहकारीले नै गरिदिएपछि मानिसहरु आत्मनिर्भर बन्दै गएका छन् । उनको सोच अब आफुजस्तै पैसाको अभावमा कसैको पनि शिक्षा नरोकियोस् भन्ने छ ।
जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका उनले जीवनमा धेरै अभाव झेल्नुपर्यो । रकम अभावले पढ्न पाएनन् । सानैमा घरको जिम्मेवारीले कालापहाड जानुपर्यो । तर अभावकाबिच उनले आफ्नो मेहेनत गरिरहे ।
घरव्यवहार धान्नुपर्ने, छोराछोरी हुर्काउनुपर्ने र समाजसेवामा समेत सक्रिय भएर काम गर्नुपर्ने उनको जिम्मेवारी थियो । तर उनले हार नखाएर सामना गरेर अगाडी बढे । धेरै दुखका बाबजुत पनि उनले आफ्नो संघर्षलाई निरन्तरता दिँदै सफल भए। उनले अहिले गाउँका धेरै मानिसहरुलाई आत्मनिर्भर बनाएका छन् ।
अबको योजना
उनले सानो हुँदा धेरै दुख पाए । रकम अभावकै कारण उनले पढ्न पाएनन् । यस्तो अवस्था कसैलाई नहोस् भनेर उनले सबै मानिसहरुलाई आत्मनिर्भर बनाउन चाहन्छन् । त्यसको लागि उनले राजनीतिबाट यो सम्भावना देखेका छन् । उनी अब राजनीतिमा लागेर यी काम गर्ने योजना बनाएका छन् ।






