जुम्लामा गठबन्धनलाई धक्का

जुम्ला,७ मंसिर ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जुम्लामा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई धक्का लागेको छ । गठबन्धनबाट दुई प्रदेश सभामा पराजित भएसंगै प्रतिनिधि सभामा पनि भारी मतअन्तर रहेको छ । जसका कारण जुम्लामा गठबन्धनलाई क्षती पुगेको हो । दुई प्रदेश सभामध्ये एउटा एमाले र अर्को स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
जुम्लाको प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन्। उनले नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापती ललितजंग शाहीलाई हराएका हुन्। स्वतन्त्र उम्मेदवार शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर विजयी भए भने उनको प्रतिद्धन्द्धी नेपाली काँगेसका ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत ल्याएका थिए। जुम्लामा दुई प्रदेश सभा निर्वाचनमा गठबन्धनका दुवै उम्मेदवार पराजित भए। प्रदेश (ख) एकिकृत समाजवादीका पदम रोकाय एमालेका उम्मेदवार टेकराज पछाईसंग पराजित भए।
रोकाय कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन्। पछाईले १ हजार १ सय १२ मतअन्तरले विजयी भएका हुन्। २० हजार ६ सय १६ मत खसेको प्रदेश (ख) मा मन्त्री रोकायले ६ हजार ७ सय १५ मत ल्याएका थिए भने विजयी पछाईले ७ हजार ८ सय १२ मत ल्याएका थिए। एउटा प्रतिनिधि सभा रहेको जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले अग्रता लिईरहेका छन्। माआवादीका उम्मेदवार गोमा गौतम कुवर धेरै मतअन्तरले राप्रपाका शाहीभन्दा पछि छिन् ।






