डिजेल अभावले कर्णाली राजमार्गको पहिरो पन्छाउन कठिन

जुम्ला,३१ असोज ।
डिजेल अभावका कारण कर्णाली राजमार्गको विभिन्न खण्डमा गएको पहिरो पन्छाउन कठिन हुने देखिएको छ । जुम्लामा डिजेल पाइन छाडेको छ । पहिरो पन्छाउन लागेका एक्स्काभेटरले डिजेल सकिन लागेको संकेत गरिसकेका छन् ।
यो अवस्थामा डिजेल व्यवस्थापन नहुने हो भने पहिरो पन्छाउने कार्य रोकिने अवस्था आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले डिजेल अभाव भएको खबर आइसकेको बताए । उनले भने,‘डिजेल अभाव भएकोले काम गर्न नसकिने खबर आइसकेको छ । सबै मिलेर डिजेलको व्यवस्थापन गरौं । कतै लुकाएर राखिएको छ भने डिजेलको खोज गरेर अघि बढौं । नत्र सडक खुलाउने काम रोकिन सक्छ । ’
पहिरोले सडक ठप्प भएको र जहाजले नियमित उडान नभर्दा कर्णालीका यात्रु अलपत्र परेका छन् । अत्यावश्यक कामका लागि सुर्खेत नेपालगन्ज जानुपर्ने र जुम्ला आउनु पर्ने सबै यात्रुहरु अलपत्र परेका हुन् ।
![]()
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कर्णाली राजमार्गमा असोज २० गतेदेखि सवारी आवागमन ठप्प छन् । जसले सडक मार्गबाट आवतवावत गर्ने यात्रु जुम्लामै रोकिएका छन् । सयौं सवारीसाधन कर्णाली राजमार्गको बीचबीचमा अलपत्र छन् । पहिरो जा‘दा रोकिएका सवारीसाधनमा यात्रुको सामान पनि बेवारिसे अवस्थामै छ ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कर्णाली राजमार्गका विभिन्न खण्डमा १७ वटा एक्स्काभेटर परिचालन गरिएको छ । तर डिजेल अभावका कारण भाडामा लगाइएका निजी एक्स्काभेटरहरु सञ्चालन गर्न नसकिने खबर प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लालाई जानकारी गराएर डिजेल व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न आग्रह गरिएको छ ।
अब कालिकोटको पिलीदेखि जुम्ला खण्डमा मात्र पहिरो पन्छाउन बाँकी छ । जुम्ला खण्डमा ब्लास्टिङ भइरहेकोले मंगलबारसम्म नाग्मसम्म सडक खुल्ने सम्भावना छ । ‘कालीकोट खण्डमा सडक खुलाउन समय लाग्ने देखिएको छ,’ डिभिजन प्रमुख श्रेष्ठले भने,‘धेरै ठाउ‘मा कडा चट्टानी पहिरो खसेको छ । ब्लास्टिङ नगरेसम्म खुलाउन असम्भव छ ।’
कान्तिपुर





