सुर्खेत मेडिकल कलेज : बतासेडाँडामा ६ सय शैयाको अस्पताल बन्ने निश्चित


सुर्खेत, ३ फागुन ।
सुर्खेत मेडिकल कलेजको गुरुयोजना अन्तिम चरणमा पुगेको छ । गुरुयोजना निर्माणको लागि आयोजनाले सर्वे लगायतका कामहरु सम्पन्न गरेको छ । सर्वे सकिएसँगै अबको डेढ महिनाभित्र गुरुयोजना सम्पन्न हुने भएको हो । सोही गुरुयोजनाको दोस्रो ड्राफ रिपोट अनुसार वीरेन्द्रनगरमा ६ सय शैयाको अस्पताल निर्माण हुनेछ ।
। ‘गुरुयोजनाले अन्तिम रुप पाउन डेढ महिना बाँकी छ, तर ६ सय शैयाको अस्पताल बन्ने पक्कापक्की भएको छ’ सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका इन्जिनियर शंकरप्रसाद तिमिल्सेनाले भने, ‘अब सुर्खेतमा कर्णालीकै सबैभन्दा ठूलो मेडिकल कलेज बन्छ ।’ गुरुयोजनाका तीन चरण मध्ये ड्राफ रिपोट अन्तिम रिपोट होइन । तर ड्राफ रिपोट र अन्तिम रिपोट लगभग उस्तउस्तै हुन्छन् ।
ड्राफ्ट रिपोटले ६ सय शैयाको अस्पताल बनाउन सक्ने देखाएपछि अस्पताल बन्ने पक्कापक्की भएको आयोजनाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ६ सय शैयाको अस्पताल छैनन् । मेडकल कलेज स्थापना भएपछि सुर्खेतमा कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बन्नेछ । कलेजको गुरुयोजना इभरसेफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रालि वालुवाटार काठमाडौंले तयार गरिरहेको छ ।
गुरुयोजनाको लागि डिटेल सर्भेको काम सकिएको छ । बाँकी प्राविधिक कामहरु सकेपछि अन्तिम रिपोट तयार हुनेछ । आयोजनाले तीन महिनाभित्र गुरुयोजना तयार गर्नेगरी कन्सल्टेन्सीलाई जिम्मा दिएको हो । गुरुयोजना निर्माणको समयावधि सकिन अब डेढ महिना बाँकी छ ।
तोकिएकै अवधिभित्र कन्सल्टेन्सीले आयोजनालाई गुरुयोजनाको अन्तिम रिपोट बुझाउने छ । कन्सल्टेन्सीले आयोजनालाई गुरुयोजना बुझाएपछि बाँकी कामहरु अगाडि बढ्नेछन् ।

बार्षिक एकसय विद्यार्थीले पढ्न पाउने
यो मेडिकल कलेज स्थापना भएपछि बार्षिक एकसय विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गर्न पाउने छन् । ६ सय शैयाको अस्पतालमा एउटा शैक्षिक सत्रमा एकसय विद्यार्थीलाई अध्यापन गराउने पाउने व्यवस्था छ । गुरुयोजनामा ६ सय शैयाको अस्पताल बनाउने पक्कापक्की भएपछि शिक्षण अस्पतालले एक शैक्षिक सत्रमा एकसय विद्यार्थीलाई पढाउन पाउने निश्चित भएको हो ।
कलेजले सुरुमा एमवीवीएस तहका कक्षाहरु सञ्चालन गर्नेछ । कलेजले अध्ययन/अध्यापन सुरु गरेपछि कर्णालीका एकसय विद्यार्थीले सुर्खेतमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने छन् । हाल कर्णाली प्रदेशको जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिष्ठानले मात्रै चिकित्सा शिक्षा अध्ययन गराउँदै आएको छ ।

मेडिकल कलेजले ६४ विगाह जग्गा ओगट्ने
सुर्खेत मेडिकल कलेजले ६४ विगाह क्षेत्रफल जग्गा ओगट्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १३ को बतासेडाँडा र वडा नं. ११ को गाग्रेताल (बस्तीपुर क्षेत्र) को ६४ विगाह भूभाग मेडिकल कलेजले ओगट्ने भएको हो । ‘सुरुमा हामीले ८० विगाह क्षेत्रफलमा मेडिकल कलेज बनाउने लक्ष्य राखेका थियौं ।
तर क्षेत्रफल सोचे जस्तो रहेनछ’ इन्जिनियर तिमिल्सेनाले भने, ‘अब मेडिकल कलेजले ६४ विगाह क्षेत्रफल मात्रै ओगट्ने पक्का भएको हो ।’ प्रत्येक प्रदेशमा एकएक वटा मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको अवधारणा अनुसार पाँच बर्षअघि सुर्खेतमा मेडिकल कलेजको स्थापनाको प्रक्रिया अगाडि बढेको थियो ।
तयार हुँदै ‘इआईए’
गुरुयोजनाको सर्वे सकिएसँगै आयोजनाले पूर्वाधार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार गर्न थालेको छ । आयोजनाले सोमबारदेखि इआईएको काम सुरु गरेको हो । आयोजनाले इआईए तयार पार्ने जिम्मा पेसो कन्सल्टेन्सी प्रालि संखमुल काठमाडौंलाई दिइएको छ ।
इआईए तयार भएपछि भौतिक पूर्वाधार निर्माणका लागि माटो परीक्षण र डीपीआर लगायतका कामहरु सुरु हुनेछन् । डीपीआर तयार भएपछि बस्तीपुर र बतासेडाँडामा ६ सय शैयाको मेडिकल कलेज, छात्रावास भवन, खेलमैदान, हेलिप्याड, मन्दिर, डाक्टर आवास, स्टाफ आवास, गार्ड हाउस, क्यान्टिन भवन, बेडहरु, मर्चरी भवन, बहुद्देश्यीय हल, खेलकुद ग्राउन्डका साथै ओभरहेड पानी ट्यांकी लगायतका पूर्वाधार बन्नेछन् ।
बसासे डाँडा घना जंगल क्षेत्र हो । मेडिकल कलेज स्थापना भएपछि बतासे डाँडाको ४३.२ हेक्टर वन क्षेत्र मासिने छ । पूर्वाधार निर्माणका लागि चालु आर्थिक बर्षमा संघीय सरकारले दुई करोड बजेट आयोजनालाई दिएको छ ।






