नेपथ्यबाट : कर्णालीका इञ्जिनियर दलवीरको दर्दनाक कथा

सुनिल उलक
सुर्खेत,१० मंसिर ।

वि.सं २०३० बैशाख २० गते बिहानै बादेपिपलको बागेश्वरी विद्यालय नजिकैको चौतारोमा शव झुण्डिएको अवस्थामा भेटिएको थियो । धेरैले हत्या गरेर झुण्ड्याइएको भनिए पनि कुनै छानविन नै भएन, यथेष्ट प्रमाण नहुँदा आत्महत्या भनियो । दलवीर सिंह कामी सल्यानको सिमानामा पर्ने बादेपिपलमा भेरी नदीमाथि पुल बनाउने काममा गएका थिए ।

उनले आत्महत्या गर्नुपर्ने कुनै कारण नै थिएन । तत्कालिन जिल्ला पञ्चायतमा सव– ओभरशियरका जागिरे उनको सदैव काममा लगन थियो । त्यसैमा खुशी थिए। सामाजिक काम भन्दा अरु उनलाई कुनै चिन्ता नै हुदैनथ्यो । तर उनले शत्रुहरु भने मनग्गे कमाएका थिए । पढेलेखेका नभए पनि उनको चर्चा निकै हुन गर्दथ्यो ।

राजाले नै उनलाई भेटे पछि त उनको भेटघाट अञ्चलाधिश र सेनाका गुल्मपतिसम्म हुन्थ्यो । त्यसैले पनि उनका दुश्मनहरु भित्र भित्रै जलेका थिए । अनपढ भए पनि राजाले नै उनलाई जिल्ला पञ्चायतको सव–ओभरशियरको जागिर दिलाएपछि उनको काम पुलको रेखांकन तथा अन्य निर्देशन उनकै रेखदेखमा हुन्थ्यो ।

सुर्खेतबाट नेपालगञ्ज जोड्ने सडकको रेखांकन पनि उनले नै गरेका थिए । भनिन्छ यहि सडकको विषयमा उनको केही व्यक्तिहरुसंग विवाद भएको थियो । केही व्यक्तिले आफ्नो स्वार्थमा सडकको रेखांकन परिवर्तन गर्न दवाब दिएका थिए । तर दलवीरले सो सडकको महत्व दूरि तथा खर्चको विविध कारणले ती व्यक्तिहरुको दवाबमा काम गर्न अस्वीकार गरेका थिए ।

यसको केही समयपछि नै उनको मृत शरिर झुण्डिएको अवस्थामा भेटियो । धेरैले यस किसिमको मृत्यु हुँदा यो आत्महत्या होइन हत्या हो भन्ने आवाज उठाए । तर यसको कुनै छानविन नै गरिएन । शायद अर्को पक्ष निकै पहुँचवाला थिए वा उनीहरुको हैकम बढी थियो होला । तसर्थ सबुत प्रमाणको अभावमा आत्महत्याको नाम दिएर यो मृत्युलाई चुपचाप बन्द गरियो ।

बाबुको मृत्युको समय दलवीरको जेठी श्रीमतीतिरको छोरा कानपुरमा थियो । कान्छीतिरको जेठो छोरा श्यामलाल भर्खरै सेनामा भर्ति भएका थिए । केवल एक महिना मात्र भएको हुँदा तालिममा थिए । राजा वीरेन्द्रको सुर्खेत भ्रमणमा आदित्य शम्शेर जबरा सुर्खेतमा रहेको ४ नं बाहिनीपति थिए ।

राजाको स्वागतको लागि मञ्च सजाउने काम तथा राजालाई चढाउने विशेष उपहार पनि तीन महिना लगाएर दलवीरले नै बनाइदिएका थिए । जसले गर्दा बाहिनीपति आदित्यशम्शेरले दलवीरको छोरा श्यामलाल उमेरले सानै भए पनि सेनामा भर्ना गराइदिएका थिए । २०२९ को चैतमा श्यामलाल सेनामा भर्ति भए । २०३० को बैशाखमा दलवीरको अप्रत्याशित मृत्यु भयो ।

केवल ५२ वर्षको उमेरमा नै यो संसारबाट बिदा लिए । वि.सं १९७८ सालमा दैलेखको रतीखोला (हाल गुराँस गाउँपालिका अन्तर्गत वडा नं ४) मा जन्मिएका दलवीर सिंह कामी पेशाले आरन चलाउने तथा फलामका सामानहरु बनाउने गर्दथे । बुबाको साथ दैलेखबाट सुर्खेत झरेका थिए । सुर्खेतमा त्यति बेला औलोको प्रकोप थियो । सुर्खेत झरेपछि पदमपुरमा बस्न थाले ।

बाबुको साथ आरन चलाउने उनी दिमागले तेज थिए। कुनै पनि नयाँ वस्तुहरु बनाउन तम्सन्थे । दैलेखमा नै पहिलो विवाह गरेका दलवीरको एक छोरा र एक छोरी सहित श्रीमती दैलेखमा नै रहेका थिए । आफू कामको सिलसिलामा सुर्खेत रहँदा सुर्खेतमा नै मोतीसरासंग दोश्रो विवाह गरे । दोश्रो विवाहपछि तीन छोराहरु र एक छोरीको जन्म भयो ।

उता दैलेखमा पनि अर्को एक छोरीको पनि जन्म भयो । यसरी चार छोरा र तीन छोरीका बाबु बनेका थिए । अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका दलवीरको आफ्नै आरन थियो । जहाँ फलामका कामहरु गर्दथे । बिभिन्न सामाग्रीहरु बनाउँथे । गाउँको कामीको काम नै बाउसो, कोदालो, हसिँया आदि बनाउनु थियो ।

उनको काम प्रति लगन र मेहनती थियो । हरेक साल जसो वर्षातमा उर्लदो भेरी नदीलाई देखेका उनलाई गाउँलेको समस्या नजिकबाट नियालेका थिए। बिसं २०१९ साल तिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनी धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए।

उनलाई त्यस नदीमा एउटा पुलको आबश्यकता लाग्यो । उनले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै आवश्यक सामाग्रीहरु आफैले तयार गर्न थाले । लामो फलामे साङ्ला बनाए, छोटा तार तथा अन्य सामाग्रीसहित पुलका सामाग्री तैयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागि मोटो साङ्लोलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे ।

हिड्नको लागि काठका साना साना फल्याकहरु लहरै बाँधे । दायाँ बायाँ मानिस पुलबाट नखसोस भनेर त्यहाँ पनि बलियोसंग तारहरु बाँधे । सुर्खेतको रानीघाटमा पहिलो पुल बनाए । यसको केही समयपछि २०२० सालको शुरुवातमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिव ४३५ फुट लामो झोलुङ्गे पुल तैयार भयो । सुर्खेतको रामघाटमा पनि अर्को पुल बनाए ।

यसरी उनलाई पुल बनाउने पागलपन नै चढ्यो । चिंगाड खोलामा पनि अर्को झोलुङ्गे पुल तैयार बनाए । हरेक पुल बनाउँदा स्थानीय जनताहरुले पनि उनलाई साथ दिन्थे तथा हौसला पनि दिन्थे । पुल तैयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो । स्थानीयहरु खुशी भए ।

(कुनै समय सुर्खेत र कर्णालीका लागि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएपनि कालान्तरमा विविध कारणवश ओझेलमा परेका व्यक्तिहरुको चिनारीका लागि हामीले यो स्तम्भ शुरु गरेका हौं । यस स्तम्भका लागि उपयुक्त ठानेर हामीले इतिहासकार सुनिल उलकले तयार पारेको यो सामाग्री लेखकको फेसबुकबाट साभार गरेका हौं । स्तम्भको बाँकी अंश अर्का शुक्रबार

तपाईको प्रतिक्रिया