सम्पादकीय : कहिले सच्चिने ?

सुर्खैत,१ कार्तिक ।

देश अहिले चुनावमय बनेको छ । आसन्न निर्वाचनमा हुने प्रतिष्पर्धा र चुनावी अंक गणितका विषयमा चोक चौताराहरुमा विश्लेषण आँकलन हुन थालेका छन् । बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म आईपुग्दा खसालिएका मतबाट सरकार फेरबदल हुने र मन्त्री बन्नेहरुको तछाडमछाड हुनेबाहेक आम नागरिकका दैनिक जनजीवनमा सन्तोषजनक परिवर्तन नभएको गुनासो र असन्तुष्टि हरेकजसो चुनावताका उत्तिकै मुखरित हुने गर्छन् ।

परम्परागत दलहरुका क्रियाकलापका कारण निराश बनेको युवा पुस्तापनि बद् लिंदो परिवेशसंगै राजनीतिमा नयाँ परीक्षण गर्न चाहने मुडमा देखिएको छ । फलस्वरुप अहिले राजनीतिमा युवा पुस्ताको चासो र प्रवेश बढेको छ । सत्ता राजनीतिमा वर्षौदेखि प्रभाव र प्रभुत्व जमाउँदै आएा पुराना दलका पुराना नेताहरुलाई चुनौति दिने मात्र नभई राजनीतिबाटै विश्राम दिन भन्दै स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लड्नेको बढ्दो संख्याले पनि यहि कुराको पुष्टि गर्छ ।

पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा बागी उम्मेदवारको संख्या बढेको हो । बहुदलीय व्यवस्थामा दल र नेतृत्वप्रति विश्वास नहुनु या भनौं असन्तुष्टि र आक्रोश चरम् सीमामा पुग्नु लोकतन्त्रका लागि समेत हानिकारक हुन्छ ।

लामो राजनीतिक यात्रामा रहेका दल तिनका पाका अनि अनुभवी नेताहरुमध्ये सबैलाई नयाँ र स्वतन्त्रहरुले अहिलेकै चुनावमा पराजित गर्न नसक्लान तर सानोतिनो रेक्टरको धक्का भने अवश्य दिन्छन । तितरबितर हुँदै गएको युवा जनमत र बढ्दै गरेको वितृष्णाको सामना गर्नका लागि दलहरुले गठवन्धनको बैशाखी टेक्नुपर्ने अवस्था आइलागेको छ ।

त्यसैले दलहरूका लागि अहिलेको चुनाव प्रतिष्ठा र चुनौतिको विषय मात्र होइन आत्मसमीक्षा गर्ने अनि सच्चिने ‘अलार्म बेल’ पनि हो । दलहरुमा लोकतान्त्रिक संस्कार हराउँदै गएको छ । चरम् सत्तामोह, आफन्त र आसेपासेको चंगुलभन्दा बाहिर निस्किएर जनताका दैनन्दिन जीवनका बारे चिन्ता, चासो र वास्तापनि दलहरुमा कम हुँदै गएको अनुभव आम मतदाताले गरेका छन ।

दलप्रति जनताको घट्दो विश्वास र बढ्दो विकर्षणबारे समीक्षा गर्ने र सुध्रिने छाँट दलहरुले अहिलेपनि देखाएका छैनन् । अहिलेपनि निर्वाचित जनप्रतिनिधिको शानशौकत र उन्माद घटेको देखिंदैन । त्यसैले पनि मतदाताको बुझाईसंगै सोचाईपनि दलहरुभन्दा बाहिर जान थालेको छ, मतदातामा पनि फरक–फरक खालको मनोविज्ञान बन्दै र बढ्दै गएको छ ।

स्वतन्त्र उम्मेदवारहरूको जित पछि होला नहोला तर उनीहरुको उम्मेदवारीपनि, दलहरूका लागि ‘वेकअप कल’ हो । यसलाई नजर अन्दाज नगरी बेलैमा दलहरू सच्चिएनन् भने निकट भविष्यमै उनीहरूको अस्तित्व र औचित्य नै धरापमा पर्नसक्छ । लोकतन्त्रमा राजनीतिको मान्यता र मानक स्थापित गर्न दल र तिनका नेतृत्वले समयसापेक्ष लोकतान्त्रिक चरित्र र प्रवृत्तिलाई आत्मसाथ गर्नैपर्छ । हिजो राणा र त्यसपछि राजा फालेको, एउटा व्यवस्था फालेर अर्को व्यवस्था ल्याएको ब्याजले मात्र अब राजनीति धान्दैन् ।

तपाईको प्रतिक्रिया