सम्पादकीय : क्षयरोगविरुद्ध सहकार्य

मानव विकासका विभिन्न चरणहरु छन् । मानिसले आफूलाई परिस्कृत गर्दै आजको अवस्थामा आइपुगेको हो । यो अवस्थासम्म आउनका लागि मानवले धेरै संघर्ष गरेको छ । त्यसमा पनि मानिसलाई स्वस्थ रहन चुनौती थपिएको छ । विभिन्न रोगका कारण मानिसले आफ्नो जीवन नै गुमाउनुपर्ने अवस्था छ । यहीकारण पनि आज स्वस्थ मानवका लागि विभिन्न आविस्कार र प्रयासहरु भइरहेका छन् ।
वैज्ञानिक आविस्कार र चमत्कारसँगै मानिसले नयाँ प्रकृतिका रोगसँग जुध्नुपर्ने अवस्था छ । यति हुँदाहुँदै पनि मानिसको प्रयासले प्राणघातक रोगविरुद्धको लडाइँमा जीत हात पारिरहेको छ । तर कतिपय रोगविरुद्ध भने मानवले सफलता पाउन सकेको छैन ।
जसले गर्दा आज पनि विश्वका कतिपय देशमा सामान्य मानिएका रोगका कारण पनि महामारीको सामना गरिरहनुपर्ने बाध्यता छ । नेपालजस्ता विकासको गतिमा विस्तारै अगाडि बढिरहेका देशका लागि पनि धेरै चुनौतीहरु छन् । नेपालमा अन्यत्र सामान्य मानिएको झाडापखालासँग जुध्न पनि कठिन भइरहेको छ । अन्य यस्तै रोगहरु छन्, जसले महामारीको रुप लिने गरेका छन् ।
नेपालमा क्षयरोगलाई सामान्य रुपमा लिइन्छ । अर्थात मानिसहरुले क्षयरोगलाई हल्का रुपमा लिइको पाइन्छ । तर यही रोगका कारण नेपालमा बर्सेनि हजारौं नागरिकको मृत्यु हुने गरेको छ । त्यसमा पनि कर्णालीजस्तो स्वास्थ्य पूर्वाधारमा कमजोर अवस्था भएको क्षेत्रमा सामान्य रोगका विरामीले पनि उपचार नपाउने अवस्था छ ।
उपचार अभावमा सामान्य रोगले पनि महामारीको रुप लिने गरेको छ । यस्तै मध्येको क्षयरोग पनि एक हो । यो रोगका कारण कर्णालीमा पनि बर्सेनि धेरै नागरिकको मृत्यु हुने गरेको छ । क्षयरोगबारे सामान्य जानकारी भए पनि यसको उपचारमा गरिने बेवास्ता र लापरबाहीले चुनौती थपेको छ । यो रोगको निशुल्क उपचार पनि हुन्छ । तर विरामीले लापरबाही गर्दा यसको निवारणमा भने जटिलता पैदा हुने गरेको छ ।
यही समस्यालाई ध्यान दिएर पछिल्लो समय सरकारी तवरबाट विभिन्न प्रयासहरु भएका छन् । क्षयरोगमुक्त अभियान पनि सुरु भएको छ । सुखद् विषय के छ भने नेपाललाई नै क्षयरोगमुक्त घोषणा गर्नका लागि कर्णालीबाट यसको अभियान थालिएको छ । नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी लक्ष्य छ ।
सोही योजनाअनुसार केन्द्र सरकारले कर्णालीबाट यसको औपचारिक सुरुवात गरेको छ । यही अभियान अन्तर्गत कर्णालीका तीन वटा स्थानीय तह क्षयरोगमुक्त पनि घोषणा गरिएका छन् । सरकारले देशभर अब यो अभियानलाई तीव्रता दिने जनाएको छ । वास्तवमा स्वस्थ नागरिक र देश बनाउने यो योजनामा सबैको साथ र सहयोग अनिवार्य छ ।
सरकारी प्रयासले मात्र यो अभियान सफल हुन सक्दैन । त्यसका लागि सर्वसाधारण, नीजि क्षेत्र, स्थानीय, प्रदेश र केन्द्र सरकार तथा गैरसकारी संस्थाका प्रयासहरु पनि आवश्यक छन् । यसो भएको खण्डमा मात्र क्षयरोगविरुद्धको लडाइँ सफल हुनसक्छ । साथै नागरिकलाई स्वस्थ राख्न सम्वभ हुनेछ ।






