सूचना नपाउँदा सुकुम्वासी अझैं लालपूर्जाविहीन

पुनम वि.सी.
सुर्खेत, १० असोज ।
पूर्जा जारीः २४७ थान                 वितरण भईसकेका पूर्जाः १४७ थान                 आयोगमै रहेका : १०० थान
गत वर्ष २०७८ को चैत्रमा राष्ट्रिय भूमि आयोगको सुर्खेत कार्यालयले भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा लालपूर्जा वितरण गरेको थियो । अव्यवस्थित तथा अस्थायी, भूमिहिन, सुकुम्वासी नागरिकको सवालमा तत्कालिन राप्ती अञ्चल बसोवास आयोगले गरेको कामको आधारमा प्रक्रिया अघि बढाइएको थियो ।

गत वर्ष चैतमा आयोगले भेरीगंगा र गुर्भाकोटमा कुल दुई सय ४७ पूर्जा जारी गरेको थियो । हालको आयोगले सुर्खेतमा देशमै पहिलोपटक लालपूर्जा वितरण सुरु गरेको थियो । तर त्योबेला कुल एक सय ४७ थान लालपूर्जा मात्र वितरण भएका एक सय जना परिवारका लागि जारी लालपूर्जा अहिले आयोगमै छ ।

आवश्यक कागजपत्र तथा प्रमाणका आधारमा आयोगले गत वर्ष लालपूर्जा वितरण गरेको थियो । ‘कोटमाझ खर्क क्षेत्रमा दुई सय ४७ पूर्जा जारी गरेका थियौँ । आयोगका सुर्खेत अध्यक्ष श्रीधर पौडेलले भने, तीमध्ये एक सय जना पूर्जा नै लिनआएका छैनन् ।’

कोटमाझखर्क क्षेत्रमा वि.सं. २०२२ सालदेखि नागरिकहरु बसोबास गरिरहेका छन् । यसअघिसम्म उनीहरु लालपूर्जाविहीन थिए । केहि नागरिकसँग तत्कालिन आयोगहरुले वितरण गरेको सेतो पूर्जा मात्र थियो । आयोगले पूर्जा लिनका लागि सम्पर्कमा आउन सूचना जारी गरेपनि नागरिकहरु सम्पर्कमा आएका भने छैनन् । तीमध्ये एक हुन्, लालप्रसाद शर्मा ।

आयोगको तथ्यांक अनुसार उक्त क्षेत्रमा शर्माको हकभोगका नाममा ६ वटा कित्ता छन् । शर्माको नाममा १८ रोपनी भन्दा धेरै जग्गा छ । तर आयोगमा हालसम्म पनि शर्माले लालपूर्जाका लागि सम्पर्क गरेका भने छैनन् । तत्कालिन आयोगहरुसँग जग्गाको विवरण बुझाई माग गरेका उनले हालको गठित आयोगले उक्त क्षेत्रमा लालपूर्जा वितरण गरिसकेपनि शर्मा आयोगको सम्पर्कमा आएका छैनन् ।

लापूर्जा लिन नआएको विषयमा शर्मासँग जानकारी लिदा टेलिफोन सम्पर्कमा उनले भने, ‘मैले राजस्व पनि बुझाएको थिएँ । तर लालपूर्जा पाएको छैन ।’ आपूmले भोगचलन गरेको जग्गाको लालपूर्जा तयार भएको विषयमा उनले अनविज्ञता जनाए । ‘बैंकमा जग्गाको राजस्व दाखिला गरेका थियौँ । आयोगलाई भौचरपनि बुझाएको जस्तो लाग्छ ।’ उनले भने, मैले जग्गाको अब आयोग कार्यालय पुग्नुपर्ला ।’

यसैगरी उक्त क्षेत्रमा बसोवास गरिरहेकी तिलसरी सुनारलाई समेत आयोगले जग्गा प्राप्त गर्ने नागरिकको सूचिमा राखेको छ । सुनारको नाममा उक्त क्षेत्रमा आठ सय ७२ वर्ग मिटर जग्गाको क्षेत्रफल देखिन्छ । एउटा मात्र कित्ता रहेको उक्त जग्गाको लालपूर्जा आयोगबाट लिन सकिन्छ । तर सुनारले भने हालसम्म पनि आयोगमा सम्पर्क गरेकी छैनिन् ।

लालपूर्जा प्रापत हुनसक्ने देखिएपनि किन सम्पर्कमा नआएको भन्ने विषयमा तिलसरी सुनारले भनिन्, ‘खै हाम्रो नाम आउला भनेको अहिलेसम्म आएको छैन । हामीले पनि राजस्व बैंकमा जम्मा गरेका थियौँ ।’

आयोगले गत वर्ष भेरीगंगा नगरपालिकामा कुल एक सय १२ पूर्जा वितरण गरेको थियो । कुल दुई सय ५० कित्ता रहेका यी पूर्जामार्फत आयोगले ६ लाख ७५ हजाार दुई सय ५३ वर्ग मिटर जग्गाको पूर्जा वितरण गरेको हो । गुर्भाकोट नगरपालिकामा भने ३५ पूर्जा वितरण गरिएको थियो । ३५ पूर्जामा समावेश ५९ कित्ताबाट आयोगले सात लाख ९८ हजार नौं सय ३० वर्ग मिटर जग्गाको पूर्जा वितरण भईसकेको छ ।

सूचनामा न्यून पहुँच
भूमि आयोगको सुर्खेत कार्यालय भने लालपूर्जा लिन बाँकी नागरिकमा धेरैको संख्या राजस्व नबुझाएकाहरुको छ । कोटमाझ खर्क क्षेत्रमा कृषि व्यवसाय सञ्चालन गरिरहेका तथा रोजगारीका लागि भारतसम्म पुग्ने नागरिकहरुको संख्या धेरै भएको क्षेत्र हो । सोहि कारण पनि नागरिकले समयमा नै राजस्व नबुझाएको आयोगको सुर्खेत समितिका अध्यक्ष पौडेलको धारणा छ ।

‘राजस्वका लागि बैंकमा रकम दाखिला गरेपछि हामीलाई भौचर उपलब्ध गराउनुपर्ने हुन्छ । उनले भने, राजस्व बेंकमा दाखिला गर्ने र घरमा भौचर राखेर लालपूर्जा कुर्ने नागरिकहरु पनि भेटिए । यसैगरी रोजगारीका लागि भारत पुगेका कारण पनि उनीहरुले राजस्व जम्मा नगरेको पनि देखिएको छ ।’

आयोगले लालपूर्जाका लागि सम्पूर्ण कागजी प्रक्रिया पुगेको पाएपछि उक्त क्षेत्रका नागरिकलाई लालपूर्जा जारी गरेको थियो । यसका साथै कागजपत्र अभाव रहेकालाई समेत समयमा नै कागजपत्र पेश गर्न सूचना जारी समेत गरेको अध्यक्ष पौडेल बताउँछन् ।

वि.सं. २०२८ सालदेखि यस क्षेत्रका नागरिकहरुले जग्गा कमाई भोग चलन गर्दै आएको र मालपोत कार्यालय सुर्खेतले २०४० सालमा नाप नक्सा गरी राखेको कामलाई विभिन्न कालखण्डामा बनेका आयोग तथा समितिहरुले थाँति राखेका थिए । गत वर्षको पुस २३ मा गठित राष्ट्रिय भूमि आयोग सुर्खेतले माघ १४ गते देखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया