तीजमा निसाइलो आश्रम, नियास्रो मन

सिर्जना बुढाथोकी
सुर्खेत, १४ भदौं ।
हिजोआज तीजको रमझम जताततै छ । झपक्क श्रृंगारपटार गरेर, धपक्क गरगहना टल्काउँदै दर खान आउने–जानेहरुलाई भ्याइ–नभ्याइ छ । तर यहि शहरको एकान्त कुनामा रहेको प्रशान्ति वृद्धाश्रममा भने तीजको न कुनै उमंग न त कुनै हर्ष नै । छ त केवल निसाइलो आश्रम र निरन्न परेका मनहरु ।

कसैका जन्मदिन होेस् या वैवाहिक वर्षगाँठ, कसैको पूण्यतिथि होस् या कुनै संस्थाको स्थापना दिवस । यस्ता हरेक दिवस र दिनमा आश्रममा आश्रितहरुका लागि खाना खुवाउन जानेहरुको संख्या उल्लेख्य भएपनि तीजका दिन भने आश्रम सुनसान छ ।

आश्रममा घामपानी छेल्दै आएकाहरुलाई न त चाडवाडले छोएको छ न त कुनै उमंगले । ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै छ उनीहरुलाई । यहिे आश्रममा ५ वर्षदेखि बस्दै आएकी ६५ वर्षिय कमला रानालाई पनि तीजका छेकोमा यस्तै चटारो हुने गथ्र्यो कुनैबेलामा ।

माइतीको आँगनी टेक्नासाथ बालापनदेखि घाँसदाउरा, पानीपँधेरो गरेका साथीसंगीनी भेट्ने, वर्षभरीका आफ्ना दुःखमर्कालाई गीतमा पोख्दै नाच्ने, रम्ने, रमाउने त्यो रहर अहिलेपनि उनको मरिसकेको छैन । तर अहिले समय र परिस्थितिले उनलाई वृद्धाआश्रममा ल्याएर थन्काईदियो ।

अनि उनीसंगै थन्किएका छन् उनका रहर र ईच्छाहरु पनि । मनमै गुम्साएर राखेपनि चटक्कै मार्न नसकिएका तिनै ईच्छा र रहरहरु अहिले चाडपर्वको यो माहौलमा तीजका भाका सुन्नासाथ भक्कानिएर आँशु बनेर बर्बरती झर्छन् ।

बिवाह भएको धेरै वर्षसम्म सन्तान नभएपछि श्रीमानले सौता हालेकै कारण एक्लिकी कमला अहिले वृद्धाआश्रममा आप्mना पुराना दिन र आफन्त सम्झिदैं दिन काट्दैछिन । एकैआमाका कोखबाट जन्मिएका बहिनीहरु कहिलेकसो भेट्न आएपनि भाईबुहारीले अहिलेसम्म एकपल्टपनि ‘दिदीलाई कस्तो छ त’ भनेर एक वचन नसम्ंिझदा, नसोधिदिंदा मुखैमा आएको तीज उनका लागि तीरझैं बनेर मुटुमा बिझेको छ ।

तीजमा माइती जाने, दर खाने, नाचगान रामरमाइलो गर्ने त टाढैको कुरा भयो उनका लािग । सगोलका भाईहरु भएपनि कमलाले तिहारको भाईटीका नलगाएको पनि दश वर्ष बितिसक्यो । कहिलेकाहि माइती भनेर सम्झिएर जाँदापनि ‘किन आएको ?’ भनी गरिने रुखो व्यवहारले मननै चुडिंन्थ्यो ।

कुनै समयको कोमलो मनपनि आफन्तको रुखो बोलीवचन र व्यवहारले ठसक्क भएपछि कसैको बोझ बनेर नबस्ने निधो गरिन कमलाले । ‘म त बेवारिसे भइसकेको थिएँ, धन्न वृद्धाश्रममा आश्रय पाएँ यसैमा खुशी छु, मलाई कुनै चाडपर्वको मतलब छैन’ उनले भनिन् ।

आफ्नै सन्तान र आफन्तका कारण आश्रममा दिन कटाउन बाध्य उनीजस्ता अरुपनि थुपै्र आश्रितहरु तीजको बेलापनि मन खिन्न बनाएर बसेका छन् । ‘चाडबाड आएर के गर्नु आफ्ना परिवारसँग चाड मनाउन नपाएपछि हामीलाई तीज, दशैँ जे आए पनि के पो भयो र ?’ ७० वर्षीय कौशिला पाण्डेले दुःखेसो पोखिन् ।

पश्चिम सुर्खेतको पलैंटेकी कौशिला पनि वृद्धाआश्रममा बस्न थालेको १५ वर्ष पुगिसक्यो । वर्षेनी आउने चाडपर्वले उनलाई रमाइलो भन्दा पनि बढि निराश बनाउने गर्छन । आफन्त भएरपनि कोहि नभएजस्तो छ उनको जीवन ।

माइतीमा बाबुआमाले निकै दुःख गरेर आपूmलाई हुर्काएको र विहेपछि पनि श्रीमानको अपार मायाले संसार बिर्साएको बताउने कौशिलासंग अहिले छाँद हालेर रुन मनलाग्दा नरोउ भनेर आँशु पुछिदिने कोहि छैन, शिर राख्नका लागि काँध थापिदिने कोहि छैन् ।

कुनैबेला छोराछोरी रुँदापनि धेरै चोट लाग्यो कि भनेर आत्तिएर दौडिने कौशिलालाई यसरी आश्रमको वास होला भन्ने सपनामा पनि लागेको थिएन । जब छोराछोरी हुर्किए आफ्नो आफ्नो बाटो लागे, श्रीमानको पनि मृत्यु भयो आज एक्लो भएँ भन्दै गर्दा उनलेपनि आँशु थाम्न सकिनन र भक्कानिइन ।

छोराबुहारी, नातिनातिना दैलेखको दुल्लुमा घर बनाएर बसेको र छोरीहरु पनि आफ्ना आफ्ना घरमा गैसकेपछि उनलाई हेर्ने कोहि भएनन् । त्यसपछि उनको अन्तिम र एकमात्र सहारा बन्यो वीरेन्द्रनगर ९ लाटीकोइलीमा रहेका प्रशान्ति वृद्धाश्रम ।

आप्mना पालाका तीज सम्झिदा उनको गहभरी आँशु छचल्किए । साना छोराछोरी, श्रीमान, सासूससुरालाई मीठो मसिनो पकाएर खुवाइसकेपछि घर धन्दा सकेर गाउँभरीका दिदिबहिनीसंगै मादलको तालमा छमछमी नाचेको हिजो जस्तै लाग्छ कौशिलालाई ।

‘अहिले सबै सपना जस्तो भयो ।’ उनले भनिन् ‘आफन्त छरछिमेक भनेको पनि आपूmसंग केहि हँुदासम्म मात्रै रहेछन् ।’ आश्रममा आईसकेपछि आपूm र आफूजस्तै अनि आपूmभन्दा पनि बढि दुःख पाएका साथीसंगी देखेपछि भने उनले आपूmले आफैलाई सम्हाल्न सकिन ।

२०७४ सालमा श्रीमानको मृत्यु भएपछि सुर्खेतको दमारेकी अनिता मगर पनि आश्रमको सदस्य बनिन् । ३ वटा छोराछोरी जन्मिएर पनि खेर गएपछि सन्तानविहिन भएकी अनिताको श्रीमानको मृत्युपछि हेरविचार गरिदिने आफन्त कोहि भएनन् ।

‘तीज आयो, मन मात्रै रुन्छ’ उनी भन्छिन, ‘पहिला पहिला त नागपञ्चमीको दिनदेखिनै नाच्न सुरु गर्थिम् । हामी नभए त गाउँनै सुनसान हुन्छ भन्थे छिमेकीपनि ।’ तरपनि अहिले उनी नहुँदा गाउँघरमा तीजको रौनक र रमाइलो उस्तै होला सुनसान छ त केवल अनिताको मन मात्रै ।

बिहेपछिपनि आपूmले चाडपर्वमा कहिल्यै आफ्ना संन्तानलाई बोलाउन नछुटाएको उनले सम्झिन् । तर चाडपर्वमा तिनै सन्तान र आफन्तले नसम्झिंदा आपूmलाई संसारमा एक्लो मान्छे भएको महशुस हुन्छ भन्छिन उनी । भन्छिन,‘कोहि भएत यसरी आश्रममा बस्नै पर्दैन थियो नि !’

उनीहरु जस्तै यस आश्रममा बस्ने सबैलाई चाडपर्वले रुवाउँछ । चाडपर्वले उनीहरुलाई भएर पनि नभएका जस्ता सन्तान, परिवार अनि आफन्तको यादले झन रुवाउँछ । “खान बस्न त यहाँ पनि केहि समस्या छैन, तर परिवारको माया साथको अभाव जहिले खड्किन्छ”, अरूको सहारामा बसेकालाई चाडको अर्थ नहुने रै’छ ।’ उनले भनिन् । जतिनै गलत भएपनि सन्तान भनेको कति प्यारो हुन्छ भने एउटा आमालाई मात्रै थाहा हुन्छ तर सन्तानले त्यो नबुझ्दा आज हजारौ आमाबुवा आश्रममा बस्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया