सामान्य परिवारबाट शिक्षकदेखि अधिकृतसम्म

जनक बहादुर हमाल
प्रमुख प्रशासकीय अधिकृत, चिङ्गाड गाउँपालिका, सुर्खेत ।

जसले जीवनमा संघर्ष गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, चुनौतीको सामाना गर्दै आफ्नो पहिलो प्राथमिकता पढाईमा दिन्छ अनि अल्पकालिन आवश्यकता भन्दा दिर्घकालिन सोच राख्ने व्यक्तिनै समाजको सफल व्यक्ति बन्ने गरेको उदाहरणहरु छन् । यस्तै मध्येका एक हुन चिङ्गाड गाउँपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमाल ।

सामान्य परिवारमा जन्मिएका उनले सानैदेखि पढाईमा मेहेनत गरे । जहिले पनि पढाईमा उत्कृष्ट भए । त्यसपछि लोकसेवाको तयारीमा लागे । नायब सुब्बा हुँदै अधिकृतसम्म बन्न सफल भए । आजको राष्ट्रसेवकमा उनै हमालसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

संघर्षपूर्ण बाल्यकाल
बुवा चक्र बहादुर हमाल र आमा भिमा हमालको कोखबाट वि.स. २०३८ साल माघ २७ गते सिम्ता गाउँपालिका वडा नम्बर १ जामदरामा जनक बहादुर हमादलको जन्मभयो । उनी घरको कान्छो छोरा हुन । उनका चार भाइ बहिनी रहेका छन् । उनको बाल्यकाल गाउँमै बित्यो । सामान्य परिवारमा जन्मिएका उनको बाल्यकाल चुनौतीपूर्ण थियो ।

घरको आर्थिक अवस्था कमजोर थियो । त्यसका बाबजुत पनि उनले सानो कक्षा भगवती प्रावि सिम्तामा पढे । पाँच कक्षासम्म त्यहि प्राविमा पढेका उनले ६ कक्षादेखि जीवनज्योती मावि काफ्लकोटमा पढे । त्यहि माविबाट एसएलसी पास गरेका उनले त्यतिबेलासम्म धेरै चुनौतीको सामाना गर्नुपर्यो ।

उनको परिवार सामान्य आर्थिक अवस्थाको भएका कारण उनले एक छाक मात्र खान्थे । एक छाक खाएर पनि उनले आफ्नो पढाईलाई पहिलो प्राथमिकता दिन्थे । सबैसँग मिलनसार स्वभावका उनी घरको सबै काम गरेर विद्यालय जानुपथ्र्यो । उनी बिहानै ४ बजे उठेर पढ्थे भने राती १० बजे सुत्थे । सानैदेखि धेरै संघर्ष गरेका उनी पढाईमा भने उत्कृष्ट थिए ।

एसएलसीमा पहिलो श्रेणी ल्याउने एकमात्र थिए हमाल
संघर्ष नै जीवन भन्ने बुझेका हमालले न्यून आर्थिक अवस्था हुँदा पनि पढाईमा पनि अब्बल थिए । २०५७ सालमा एसएलसी पास गरेका उनले सिम्ता क्षेत्रमा रहेका ८ वटा माविका करिब पाँच सय विद्यार्थी मध्ये उनले मात्रै पहिलो श्रेणी हाँसिल गरेर एसएलसी पास भएका थिए । निम्न परिवारमा जन्मिएका उनको पढाईमा उत्कृष्टता देखेर उनी र उनको परिवार मात्र होइन धेरै जना गौरवाम्भित थिए । उनीमा अझै हौसला बढ्यो । त्यसपछि साइन्स पढ्ने उनले सोच बनाए ।

साइन्स पढ्न नेपालगञ्ज गए
एसएलसीमा राम्रो नम्बर ल्याएर पास भएका उनी पढाईमा धेरै तगडा थिए । आफ्नो पढाई पुरा गर्ने उद्देश्यले उनि बाँकेको नेपालगञ्जमा रहेको बहुमुखी क्याम्पसमा साइन्स विषयमा भर्ना भए । त्यहाँ पनि उनले उत्कृष्ट अंक ल्याउन सफल भए । साइन्स पढ्ने ६४ जना विद्यार्थी मध्ये पाँच जना मात्रै पास भए । पाँच जनामा हमाल पनि परेका थिए । उनले २०५९ सालमा आइएस्सी पास गरेका थिए ।

त्यसपछि शिक्षक बन्ने
उतिबेला पढेका मानिसहरु शिक्षक नै बन्नुपर्छ भन्ने सोच राखिन्थ्यो । उनका परिवारले पनि त्यही कुरामा जोड दिएका थिए । हमालको परिवार आर्थिक रुपले पनि कमजोर थियो । अझै उनको बहिनी जटील बिरामी भएपछि उपचार गर्न बाहिर देशमा लिनुपर्यो । उपचारमा धेरै रकम खर्च भयो ।

दुखको कुरा बहिनीलाई पनि बचाउन सकिएन । अनि घरको आर्थिक अवस्था झनै कमजोर भएपछि उनले जागिरी खानुपर्ने अवस्था आयो । गाउँकै आफुले पढेको विद्यालयमा नीजि श्रोतमा बिज्ञान शिक्षकको रुपमा उनी नियुक्त भए । उता विएस्सी पढ्नको लागि उनले एडमिसन पनि गरे । अनि गाउँकै विद्यालयमा पढाउँदै पढ्दै गरे । विएस्सी पनि पास भए ।

त्यसपछि लोकसेवाको तयारी
विएस्सी सकेपछि उनी लोकसेवाको तयारीमा लागे । नायव सुब्बाको तयारी गरेका उनले नायव सुब्बामा पहिलो पटकको परीक्षामा नै नाम निकालेर २०६५ सालमा तत्कालिन क्षेत्रीय हुलाक निर्देशनालयमा पोष्टिङ भए । अनिसँगै अधिकृतको तयारी पनि गरे । जागिरी गर्दै अधिकृतको तयारी गरेका उनले २०७० सालमा अधिकृतमा नाम निकाल्न सफल भए ।

अधिकृतको रुपमा जाजरकोट मालपोत कार्यालयमा २ बर्ष काम गरे । त्यसपपछि सिम्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका हमाल मालपोत कार्यालय सुर्खेतको प्रमुख भएर काम गरे । अनि मालपोत कार्यालय सुर्खेतमा भएको लथालिङ्गको अवस्थालाई सुधार गरे ।

अहिले उनी चिङ्गाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन् । उनले आफ्नो जागिरीसँगै पोल्टिकल साइन्स ग्रामीण विकासमा एमए गरेका छन् भने कानुनमा एलएलबी पनि गरेका छन् ।

जीवनमा संघर्ष
सानैदेखि अभाव र संघर्ष गर्दै आएका हमालले पढाईसँगै अन्य काममा पनि धेरै संघर्ष गरे । रातीसम्म पढ्ने उनी बिहानै झिसमिसेमा उठेर पढथे । अनि घरको सबै काम गरेर विद्यालय जान्थे । जीवनमा धेरै संघर्ष र चुनौतीको सामाना उनले गर्नुपर्यो । कहिले एक छाक खाना खाएर मात्र बस्नुपर्ने अवस्था हुन्थ्यो । यस्तै संघर्षबाट उनी अगाडी बढे ।

पढाईमा मेहेनत गरेकै कारण उनी उत्कृष्ट हुन्थे । त्यही संघर्षले अहिले उनलाई सार्वजनिक पदमा पुग्न सक्ने बनाएको छ । जीवन भनेको संघर्ष नै हो, उनी भन्छनः मेहेनत गरे अवश्य नै सफलता प्राप्त हुन्छ । सार्वजनिक क्षेत्रमा काम गरेर जनताको सेवामा लागेका उनको भावी योजना पनि समाज सेवा गर्ने नै छ ।

तपाईको प्रतिक्रिया