बंगलादेशले बनायो माथि गाडी, तल रेल चल्ने देशकै लामो पुल

काठमाडौं ,१२ असार ।

बंगलादेशमा पद्मा नदीमाथि देशकै लामो पुल बनेको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शेख हसिनाले शनिबार ६.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेकी छन्। यो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिणपश्चिम क्षेत्रसँग जोड्ने छ । ३.८६ अर्ब अमेरिकी डलर खर्चेर बनाइएको पुलमा माथि गाडी गुड्ने चार लेनको बाटो छ भने मूनि रेलवेको सिंगल ट्रयाक छ ।

लामो विवाद र भ्रष्टाचारका आरोपहरू लागेपछि यो पुल निर्माणमा संलग्न दातृ संस्थाहरू बाहिरिएका थिए। पछि बंगलादेश सरकारले पुल आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो। पुल बनाउने ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।

शनिबार पुलको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतीक भएको बताइन् । उनले केही मानिसहरूले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको बताइन् ।

पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले पुल निर्माण सम्पन्न गरेकोमा समकक्षी हसिना र बंगालदेशका जनतालाई बधाई दिएका छन् । पद्मा नदीमाथि पुल नहुँदा दक्षिणपश्चिम क्षेत्रका वासिन्दालाई राजधानी ढाकासम्म आउन फेरीको भर पर्नुपर्थियाे ।

सडकबाट आउँदा निकै घुमाउरो पर्ने भएकाले भाडा, ढुवानी खर्च र समय ज्यादा लाग्थ्यो। आलोचकहरूले भने पुल बनाउँदा हसिना सरकारले प्रारम्भिक लागतभन्दा तीन गुणा बढी खर्च गरेको बताएका छन् ।

स्रोत :  सेतोपाटी

तपाईको प्रतिक्रिया