यू–१९ महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडाै‌ २० जेठ।

नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरूआत गरेको छ । मलेसियामा जारी एसिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरूआत गरेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा अलआउट हुँदै ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले १४–१४ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले ३ विकेट लिईन्। यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले समान २–२ विकेट लिए ।

त्यसअघि यूकेएम ओभल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाईन् । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन्।

त्यसअघि सानु राजवंशीले २१, अन्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन जोडेर आउट भए । कतारका लागि साची ढड्वाल र अलिना खानले १–१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन्।

शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने युवा विश्वकप खेल्न पाउनेछ । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि युएईविरूद्ध खेल्नेछ छ । आजै भएको अर्को खेलमा थाइल्याण्डले मलेसियालाई ८५ रनले हरायो ।

तपाईको प्रतिक्रिया