सम्पादकीय : वडापालिकालाई व्यवस्थित गरौं

विकासको आधारशिलाको रुपमा स्थानीय तह रहेका छन् । प्रत्येक्ष रुपमा जनतासंग जोडिने, सेवा प्रवाह गर्ने स्थानीय तह अन्तरगतको पहिलो इकाइ वडा कार्यालयनै हुन । संघ, प्रदेश र स्थानीय तहको सबै भन्दा सानो र जनताको सेवक तथा शक्तिशाली इकाई वडापालिकानै हो ।

जनताका घटना अभिलेख (जन्म, मृत्यु, विवाह, बसाईसराई) दर्ता गर्ने, विभिन्न प्रकृतिका माथिल्लो निकायलाई प्रमाणित सिफारिस गर्ने कार्य गर्दै आएका छन् । संघ, प्रदेश र स्थानीय तहको कम प्राथमिकतामा पर्ने सानो तर शक्तिशाली, सशक्त ईकाईं वडा कार्यालयलाई प्रविधि मैत्री, भौतिक सुविधासम्पन्न बनाउन आवश्यक छ ।

देशका ७५३ स्थानीय तहका ६७४३ वडा कार्यालयबाट दैनिक २ करोड ६४ लाख जनतालाई सेवा प्रवाह गर्ने पहिलो इकाई वडा कार्यालयहरु अभाव, संकटमा गुज्रिएका छन् । राज्यका स्रोत साधान परिचालन गर्ने माथिल्लो निकायको ध्यान पुग्न सकेको छैन ।

कर्णालीका दुरदराजमा रहेका स्थानीय तहका वडा कार्यालयमा कर्मचारीहरुको अभाव छ । आफ्नै कार्यालय भवनको अभाव रहेको छ । सडक, बत्ति, पानी, इन्टरनेटको असुविधा छ । यसले गर्दा सेवा लिन आउने सेवाग्राही जनतालाई थप असुविधा हुन पुगेको छ । विकट वस्तीहरुबाट दिनहु, घण्टौ हिडेर वडामा पुग्ने जनताले सेवा प्रभावकारी रुपमा नपाएको गुनासो छ ।

जनताको पिरमर्का, समस्या विकासको आवश्यकता र पहिचान गर्ने पहिलो इकाई आफैमा अशक्त हुनु गम्भिर विषय हो । दोस्रो कार्यकालमा निर्वाचित भएका जनप्रतिनीधिहरुले सबैभन्दा पहिला यसको सुधार गर्न आवश्यक छ । पूर्वाधार विकास बजेट वडासम्म पुग्नै पाउँदैन ।

पालिकाको विकास बजेटले वडासम्म पुग्नै पाउँदैन । पालिका मार्फत वडा वडामा पुग्ने विकास बजेटसंग संगै संघ सरकार र प्रदेश सरकारले सिधै वडा तहको पूर्वाधार विकासमा चिन्ता, चासो र हस्तक्षेप गर्न आवश्यक छ । पालिकालाई बार्षिक करोडौं बजेट संघ र प्रदेश सरकारबाट आउँछ त्यसको न्यायोचित, समानुपातिक, प्राथमिकताका आधारमा सबै वडा कार्यालयहरुमा बजेट पुग्नै पाउँदैन । पालिकाका प्रमुख/उपप्रमुखको अनुकुलता, राजनीतिक आस्था, निकटताका आधारमा पालिकामा पुगेको बजेट वितरण गर्ने गरिन्छ ।

वडा अध्यक्षको काम, कर्तव्य र अधिकार वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजिकरण गर्ने, वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका पेस गर्ने रहेको छ । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने, गराउने, सोको अनुगमन तथा आवधिक समिक्षा गर्ने, गराउने, दफा १२ को खण्ड (ङ) मा उल्लेखित घटना दर्ता, सिफारिस तथा प्रमाणित सम्वन्धी कार्य गर्ने, सात दिन भन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिससम्वन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाइ जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाइ दिने, कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने । दैनिक जसो जनताको घरदैलोमै पुगेर सुख, दुखमा साथ दिने राज्यका माथिल्लो तहका शासकहरुको नजरमा नपरेको तर जनताको पहिलो सेवक वडा कार्यालयलाई थप व्यवस्थित बनाउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया