गाउँगाउँमा सिंहदरबार जनताले अझै अनुभुती गर्न सकेनन्

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचन बैशाख ३० गते हुँदैछ जनप्रतिनिधिहरुको पाँच बर्षको कार्यकाल करिब सकिएको छ ।

यो अवधिमा स्थानीय तहले नागरिकका चाहना र अपेक्षाहरु पूरा गरेको दाबी जनप्रतिनिधिहरुले गरिरहेका छन् । तर नागरिकले भने अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गर्छन ।

हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ मा कस्ता काम भए ?

यीनै विषयमा केन्द्रीत रहेर डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बम बहादुर विसीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
अहिले आफ्नो पार्टीलाई जिताउन सहयोग गर्न लागिरहेको छु । र हालसम्मको जनप्रतिनिधि पनि भएकाले वडाको काममा पनि उत्तिकै व्यस्त छु् ।

तपाईहरुले गरेका पाँच बर्षमा गरेको उत्कृष्ट काम के हो ?
स्थानीय तहको २० बर्षपछि भएको निर्वाचनबाट आएका हामी पहिलो जनप्रतिनिधि हौ । हामीले पाँच बर्ष अगाडीको अवस्था जुन रुपमा यहाँसम्म ल्याइपुरयाएका छौनी ती सबै उत्कृष्ट काम हुन ।

ती मध्ये पनि विकासको सन्दर्भमा हेर्ने हो भने हिजो गाविस हुँदा सबै ठाउँमा सडक पुगेको थिएन अहिले हामीले त्यहाँ सडक पुरयाएका छौं भने प्रयाप्त भौतिक संरचना समेत निर्माण गरियो ।

तपाईले गरेका प्रतिवद्धता पुरा भए ?
मैले अहिले मैले पाँच बर्ष अगाडी निर्वाचनमा लड्दै गर्दा जनताको बिचमा राखेका प्रतिवद्धता अहिले भनेर सम्भावना छैन । तर मैले जनताको बिचमा गरेका प्रतिवद्धता मध्य ९९ प्रतिशत पुरा गरेको छु ।

एउटा मात्रै मैले मेरो वडाको जनजाती वस्तीको विद्यालयमा मगर भाषामा पठनपाठन गराउँछु भनेको थिए । त्यति एउटा काम पुरा गर्न सकिन । त्यो काम अधुरै रह्यो । अन्य काम भने मैले कुनैपनि बाँकी नराखेर गरेँ ।

त्यति मात्र होइन हामीसँग स्थानीय सरकार सञ्चालनका लागि कुनैपनि ऐन, कानुन र कार्यविधि थिएनन । ती ऐन, कानुन र कार्यविधि बनाएर पास गरेका छौं । मैले भन्दा पनि त्यो त जनताले मुल्याङ्कन गर्नुभएको छ होला ।

तपाईं वडा अध्यक्ष भएपछि वडामा के परिवर्तन गर्नुभयो ?
हामी निर्वाचन भएर आउँदै गर्दा स्थानीय सरकारको नौलो अभ्यास हामीले शुरु गर्दै थियौँ । म वडा अध्यक्ष भएर आउँदै गर्दा एउटा कुर्ची र टेबल राख्ने ठाउँ थिएन । मेरो आफ्नै कार्यकालमा वडा कार्यालय बनाए ।

स्वास्थ्य चौकीको भवन निर्माण गरेँ । विद्यालयका भौतिक संरचनाहरुमा सुधार ल्याएँ । विद्यालयमा शिक्षक अभावका कारण गुणस्तरियता आउन सकेको थिएन, दरबन्दी थपेर विद्यालय सुधारका कामहरु गरिएको छ ।

अब विगतमा मैले अघि पनि भनिहाले सबै ठाउँका नागरिकहरुले आधारभूत विकासको अनुभुति समेत गर्न सकेका थिएनन । हामी निर्वाचितपछि सबै टोलटोलमा सडक बाटाहरु पुरयायौं ।

वडा नं. ६ मा एउटा स्वास्थ्य चौकी पनि थिएन अहिले वडा नं. ६ मा स्वास्थ्य चौकी स्थापना गरेर सेवा सञ्चालनमा ल्याइएको छ । खानेपानी नभएका वस्तीहरुमा खानेपानी पुरयाउएको छ ।

भने धेरै ठाउँमा बस्ने पिपल चौतारीहरु निर्माण, मठमन्दिर निर्माण विद्युतमा सबै जनताको पहुँच पुरयाएको छ । पर्याप्त श्रोत नहुँदा पनि हामीले सिमित श्रोतबाट वडा नम्बर ६ लाई विगतको भन्दा धेरै परिवर्तन गरेका छौं ।

काम गर्दा के कस्ता चुनौती आए ?
पहिलो निर्वाचित जनप्रतिनिधि भएको हुँदा धेरै कानुनको अभाव थियो । ती कानुनहरु निर्माण गर्नुपर्ने अवस्था थियो । कानुन नहुँदा काम गर्दै जाँदा विभिन्न बाधा व्यवधानहरु आए ।

जनताका अपेक्षा धेरै तर सिमित श्रोत साधन थियो । यस्ता अनेकौ चुनौतीहरु काम गर्ने शिलशिलामा आए । तर चुनौतीलाई पार लगाउँदै हामीले हाम्रो क्षमताले भ्याएजत्ति काम गरेका छौं । मलाई लाग्छ देशका धेरै वडामध्ये मेरो वडा उत्कृष्ट मध्येमा पर्छ ।

पाँच बर्षसम्म काम गर्दा वडाका मुख्य समस्या के देख्नुभयो ?
सबैभन्दा मुख्य समस्या भनेको संघियता लागुपछि वडालाई जुन ढङ्गले अधिकार दिनुपथ्र्यो त्यो अवस्था भएन । जसले गर्दा गाउँगाउँमा सिंहदरबार भन्ने तल्लो तहका जनताले अझै अनुभुती गर्न सकेका छैनन ।

वडालाई आर्थिक अधिकार दिनुपर्छ । किनकी हिजो एउटा गाउँ विकास समिति हुन्थ्यो, त्यही गाउँ विकास समितिबाट बजेट बाँडफाँड हुन्थ्यो ।

अहिले गाउँ विकास समिति जत्तिकै हैसियतमा रहेका वडाहरुलाई आर्थिक अधिकार बिहिन बनाइएको छ । यो प्रमुख समस्या हो । अनि समस्या नआएर के हुन्छ त ?

जबसम्म वडालाई आर्थिक अख्तियारी दिइन्न तबसम्म जनताले सिंहदरबारको अधिकार गाउँमा आएको अनुभुति गर्ने छैनन ।

अब निर्वाचित भएर आउने जनप्रतिनिधिले के काम गर्नुपर्छ ?
अब आउने जनप्रतिनिधिहरुले सिस्टमको विकास गर्नतर्फ लाग्नुपर्छ । अर्को भनेको बनेका कानूनको कार्यान्वयन र बाँकी कानून निर्माणमा उहाँहरु लाग्नुपर्छ ।

विकासतर्फ भन्दा हामीले पूर्वाधार विकासमा जति लगानी गरेका छौं त्यसको सदुपयोग गरेर अगाडी बढ्नुपर्छ भने सबैभन्दा महत्वपूर्ण जनतालाई कृषि र पशुपालनमा आत्मनिर्भर हुने खालका कार्यक्रमहरु सञ्चालन गर्नेगरी लाग्नुपर्छ ।

पाँच बर्षमा रोजगारी सिर्जना गर्ने के काम गर्नुभयो ?
मैले अघि तपाईँलाई भने हामीले पूर्वाधार तर्फ मेसनरी प्रयोग नगरी मानविय जनशक्तीबाट विकास गर्ने गरी मुख्यमन्त्री रोजगार र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर रोजगारी दियौँ ।

शिक्षामा मैले अघि भनेको जस्तै दरबन्दी थप गरेर धेरै व्यक्तिहरुलाई रोजगारी दियौँ । स्वास्थ्य चौकीहरु स्थापना गरेर त्यहाँ पनि रोजगारी दियौँ । अनि कृषि पशुपालनको क्षेत्रमा स्वरोजगारमुखी कार्यक्रम ल्याएर रोजगारी दियौँ ।

विभिन्न सिपहरु सिकाएर स्वरोजगार बनाएका छौं । हरेक क्षेत्रमा रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरु हामीले बनाएर धेरै व्यक्तिहरुलाई रोजगारी दिन हामी सफल भएका छौं ।

तपाईको प्रतिक्रिया