‘भोट माग्न जाँदा गरेका अधिकांश बाचा पूरा गरिसकेँ

भुपेन्द्र खत्री वडाध्यक्ष/वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेत

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचन आउँदो बैशाख ३० गते हुँदैछ । त्यसका लागि चुनावी सरगर्मी पनि बढ्दो छ । धेरैले आफ्नो उम्मेदवारी पनि घोषणा गर्न थालिसकेका छन् । नयाँ नेतृत्व आउने भएपछि हालका जनप्रतिनिधिको कामको समिक्षा र मुल्यांकन पनि सुरु भएको छ । हालका जनप्रतिनिधिहरुको पाँच बर्षको कार्यकाल सकिदै छ । यो अवधिमा स्थानीय तहले नागरिकका चाहना र अपेक्षाहरु पूरा गरेको दाबी गरिरहेका छन् । हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा कस्ता काम भए ? यीनै विषयमा केन्द्रीत रहेर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भुपेन्द्र खत्रीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
यो आर्थिक बर्षमा विनियोजित बजेट कार्यान्वयनमा जुटेका छौं । विकास आयोजनाहरुको काम धमाधम भइरहेको छ । तिनै आयोजनाको अनुगमनसँगै जनताका आवश्यकता पुरा गर्नेगरी पाएको जिम्मेवारी पुरा गरिरहेको छु । जनताकै बिचमा छु ।

वडामा विकासको अवस्था कस्तो छ ?
हामीसँग साधन र स्रोत एकदमै कम छ । अहिले वडामा सडकका नालाहरु निर्माण भइरहेका छन् । विद्यालय सुधारका कामहरु चलेका छन् । अन्य नियमित विकासका कामहरु भइरहेका छन् ।

महिला दिदीबहिनी र युवाहरुका लागि विभिन्न सीपमुलक तालिमहरु संचालन भइरहेको छ । यो हाम्रो स्थानीय सरकारको तर्फबाट भएको काम हो । प्रदेश सरकारका केही योजनाहरु पनि अहिले कार्यान्वयन भइरहेको अवस्था छ ।

बजेटका प्राथमिकता के छन् ?
यो बर्षमा पूर्वाधारको विकास त छदंै छ । त्यससँगै युवा र महिला दिदीबहिनीहरुलाई दक्ष बनाउनुपर्छ भनेर धेरै बजेट राखेर काम गरिरहेका छौं ।

शिक्षा, स्वास्थ्य र कृषिमा पनि हामीले केही बजेट र योजना बनाएर कार्यान्वयन गरिरहेका छौं । हामीले चाहेको जति बजेट नभएकै कारण हामीले भनेअनुसार काम गर्न सकेका छैनौँ ।

काम गर्दा कस्ता चुनौती भोग्नुभयो ?
वडा सरकार भनेको जनताको चुलोको सरकार हो । यहाँ जनताका थुप्रै माग र समस्याहरु छन् । संघीयतापछि बनेका वडा सरकारप्रति नागरिकको ठुलो अपेक्षा छ ।

तर सानो आर्थिक स्रोतले ति समस्या समाधान गर्नुपर्ने अवस्था छ । सबैभन्दा ठुलो चुनौती भनेकै आर्थिक अभाव नै हो । ति चुनौतीको सामना गर्दै जनताको आवश्यकता पुरा गर्ने प्रयास गरिरहेको छु ।

तपाइँको वडामा मुख्य समस्या के छ ?
वीरेन्द्रनगर प्रदेश राजधानी भएपछि मानिसहरु बसाइसराई गरेर आउनेक्रम तीव्र बनेको छ । जनसंख्या वृद्धि हुँदै जाँदा सबैभन्दा ठुलो समस्या भनेको बस्ती व्यवस्थापनको छ ।

पहिले मुख्य सडकभन्दा तलतिरको भागलाई कृषि सडक भनेर राखिएको थियो । तर अहिले जथाभावी घर बन्नेक्रम बढ्यो । बाटाहरु जथाभावी खोल्ने काम भए । लगतकट्टा नगरेर घरहरु बनाइएका छन् ।

यसलाई व्यवस्थित नगर्ने हो भने भोली अझै ठुलो समस्या हामीले भोग्नुपर्ने हुन्छ । अर्को समस्या भनेको ढल निकास नहुनु हो । यहाँका जनता बर्षायाममा डुबान र बाढीको जोखिममा छन् ।

त्यसैले हामीले गुरुयोजना नै बनाएर बस्ती व्यवस्थापन गर्नुपर्ने देखिन्छ । तर हामीसँग पर्याप्त साधन र स्रोत नहुँदा माथिल्लो तहका सरकारहरुले यसमा चासो राख्नुपर्छ । हाम्रोतर्फबाट त प्रयासहरु जारी छन् ।

तपाइँ निर्वाचित भएपछि वडामा के परिवर्तन भयो ?
सबैभन्दा पहिलो परिवर्तन भनेको यहाँ बाटा थिएनन् । हामी आइसकेपछि बाटाहरु बनेका छन् । अहिलेसम्म अव्यवस्थित ढङ्गले घरहरु बनाइए पनि अब बन्ने घरहरु व्यवस्थित बनाउने गरी हामी लागेका छौं ।

अहिले बन्ने घरहरु लगतकट्टा बिना बन्न दिइएको छैन । दोस्रो शिक्षा र स्वास्थ्यको अवस्था पनि सुधार गर्दै लिएका छौं । हाम्रो वडा कार्यालय भाडाको घरमा थियो ।

अहिले आफ्नै भवनबाट सेवा संचालन भइरहेको छ । वडाका अधिकांश मानिसहरु केही न केही सीप र काममा लगाएका छौं । मैले लिने सेवा सुविधाबाट दुई वटा विद्यालयमा कोष निर्माण गरेको छु। विगतकोभन्दा धेरै परिवर्तन वडामा भएको छ । यसको मुल्याङ्कन जनताले गर्नुभएको छ ।

रोजगारी सिर्जना गर्ने योजना के छन् ?
मैले सुरुदेखि नै मानिसलाई गरिखाने गराउनुपर्छ भनेर नै विभिन्न सीपमुलक तालिमहरु संचालन गर्न योजना ल्याएको थिएँ । वडाका करिब आठ सय महिला दिदीबहिनीहरुलाई हामीले सिलाइ बुनाई, मास्क बनाउने तालिम, रिक्सा चलाउने सीप, व्युटीपार्लर सम्बन्धी तालिम लगायतका थुप्रै सीप सिकाएर दक्ष बनाएका छौं ।

केही महिला र युवा स्वरोजगारको बाटोमा गइ सक्नुभएको छ । यस्तै युवाहरुलाई होटल व्यवसाय, ग्यारेज सम्बन्धीका सीपहरु सिकाएर स्वरोजगार बनाएका छौं । कृषि र पशुपालन क्षेत्रमा पनि हामीले धेरै कार्यक्रम ल्याएर स्वरोजगार बनाइरहेका छौं ।

जनतासँग गरिएका बाचा पुरा भए त ?
मैले जनताको बिचमा गरेका अधिकांश बाचा पुरा गरेको छु। आर्थिक पारदर्शिता र सुशासन कायम गर्छु भनेर बाचा गरेको थिएँ । त्यो काममा म अहिले पनि लागेकै छु। भोली पनि हुनेछु ।

तपाईको प्रतिक्रिया