सात जिल्लामा ४० हजार क्विन्टल खाद्यान्न ढुवानी गरिंदै


सुर्खेत : कर्णालीका विभिन्न जिल्लामा खाद्यान्न ढुवानी गर्ने १७ वटा कम्पनीसँग सम्झौता भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सात जिल्लामा चामल ढुवानी गर्न विभिन्न १७ निजी कम्पनीसँग सम्झौता गरेको हो ।

कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ का लागि खाद्यान्न ढुवानी गर्न सार्वजनिक खरिद ऐनबमोजिम न्यून कबोल अङ्कमा प्रस्ताव पेश गर्ने ती ढुवानीकर्तासँग सम्झौता गरेको हो । वार्षिक कार्ययोजनामा दसैँ अगावै ढुवानी सम्झौता गर्नुपर्ने भए पनि सार्वजनिक खरिद ऐनका सबै प्रक्रिया पूरा गर्दा समय लम्बिएको खाद्य कम्पनीको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले ढुवानीकर्ताले न्यून मूल्यमा ठेक्का पार्ने र आफू अनुकूलको समयमा ढुवानी गर्ने गरेका कारण हिमाली तथा उच्च पहाडी जिल्लामा समयमै चामल ढुवानी हुन नसकेको बताए । खाद्य कम्पनीले कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, दैलेख र जाजरकोट जिल्लाका ३३ बिक्री केन्द्रबाट सहुलियत दरमा चामल बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले चालु आर्थिक बर्षमा ४० हजार ७०० क्विन्टल चामल ती जिल्लामा ढुवानी गर्नुपर्नेछ । खाद्यान्न ढुवानी गर्न ढुवानीकर्तालाई सबैभन्दा कम दैलेखमा तीन दिन र सबैभन्दा बढी हुम्लामा ३० दिनको बाटो म्याद दिइएको छ । चालु आवमा हुम्लामा ११ हजार सातसय , मुगुमा दश हजार दुई ५०, जुम्लामा तीन हजार, डोल्पामा आठ हजार दुई ५०, कालीकोटमा दुई हजार आठसय, दैलेखमा दुई हजार र जाजरकोटमा दुई हजार सातसय क्विन्टल चामल ढुवानी गर्नेछ ।

कर्णालीका सात जिल्लामा ३३ डिपो तथा बिक्री केन्द्र छन् । सुर्खेतको प्रादेशिक गोदामबाट ती केन्द्रमा चामल ढुवानी गर्न बोलपत्र स्वीकृत भएका १७ मध्ये १५ ढुवानीकर्ता कम्पनीले काम थालिसकेको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार हवाई मार्गबाट ढुवानी गर्न सिम्रिक एअर कार्गो प्रालिसँग सम्झौता गरिएको छ भने बाँकीले स्थलमार्गबाट ढुवानी गर्दैछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले हुम्लामा ३७ क्विन्टल हवाईमार्ग तथा १८० क्विन्टल स्थलमार्गबाट ढुवानी भइसकेको जनाएको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख मिश्रले सुर्खेतमा विमानस्थल बन्द भएका कारण हाल नेपालगञ्जबाट हुम्लाको सिमकोटमा खाद्यान्न ढुवानी भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया