साढे चारसय परिवारलाई नयाँ घर


सुर्खेत : २०७७ साउन १३ गतेको बाढीपहिरोले कालीकोटको नरहरिनाथ गाउँपालिका दुईसय १९ घरमा क्षति पुग्यो । वडा नं. ४ को डाँडासुन्दरखालका मात्रै एकसय ५५ वटा घरहरु बस्नै नमिल्ने भए । स्थानीयको हारगुहारपछि गएको आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले ५० वटा घरहरु निर्माण गरिदियो ।

अघिल्लो बर्ष जस्तै चालु आर्थिक बर्षमा प्रदेश सरकारले कम्तिमा ८० वटा नयाँ घरहरु बनाइदिने भएको छ । घर निर्माणका लागि प्रदेश सरकारले गाउँपालिकामा चार करोड बजेट पठाएको छ । वडाले भने थप बजेट माग गरेर एकसय पाँच वटा घर निर्माण गर्ने लक्ष्य राखेको छ । डाँडासुन्दरखालमा घर निर्माणका लागि परिवार छनौट गरिसकेको वडा कार्यालयले बताएको छ ।

त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा पनि २०७७ साल साउन ३१ गते आएको बाढीले तीनसय ८६ घरमा क्षति पु¥यायो । गाउँपालिकाका सबै वडामा बाढीले वितन्डा मच्चायो । कतै घरहरुमा क्षति पुग्यो त, कतै गाउँ नै छियाछिया बनायो । बस्ती नै जोखिममा परेपछि प्रदेश सरकारले गत आर्थिक बर्षमा एकसय ६० वटा घरहरु निर्माण गरिदियो ।

अघिल्लो बर्ष जस्तै प्रदेश सरकारले चालु आर्थिक बर्षमा पनि ८४ वटा घरहरु बनाइदिने भएको छ । स्थानान्तरणर घरको पुननिर्माणका लागि प्रदेश सरकारले गाउँपालिकामा बजेट पठाइ सकेको छ । ‘बस्ती स्थानान्तरणसहित घर बनाउन प्रदेश सरकारबाट पाँच करोड बजेट आएको छ’ गाउँपालिका अध्यक्ष बाग्दल मल्लले भने, ‘हामीले अब आउने पुसको पहिलो सातादेखि घरहरु निर्माण गर्ने तयारी गरेका छौँ ।

’ हाल पाँच वटै वडामा स्थानान्तरणका लागि बस्ती र परिवार छनौट भइरहेको उनले बताए । त्यस्तै मुगुमा पनि प्रदेश सरकारले दलित समुदायका लागि १८ वटा घरहरु बनाइदिने भएको छ । खत्याड गाउँपालिका वडा नं. २ खाडेखोलाका दलित समुदायका लागि १८ वटा घर बनाइदिन थालेको हो । घर निर्माणका लागि प्रदेश सरकारले एक करोड दश लाख रुपैयाँ गाउँपालिकामा पठाएको छ । घर निर्माण गर्न परिवार छनौट भइरहेको गाउँपालिका अध्यक्ष उब्जनबहादुर शाहीले बताए। नरहरिनाथ, ताजाकोट र खत्याड गाउँपालिकामा मात्रै होइन, चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले विभिन्न ठाउँका साढे चारसयभन्दा बढी घरपरिवारलाई नयाँ घर बनाइ दिने भएको छ ।

मुगु, हुम्ला, कालीकोट र जाजरकोटका बाढी, पहिरो र आगलागीबाट विस्थापित भएका चारसय ४७ घरवारलाई नयाँ घर बनाइ दिन थालेको हो । एकीकृत बस्ती कार्यक्रम अन्र्तगत ती घरहरु बनाउन लागिएको प्रदेश सरकारले जनाएको छ ।

स्थानीय तहमा पठाइयो २४ करोड

कर्णाली प्रदेश सरकारले विस्थापित परिवारलाई नयाँ घर निर्माणका लागि स्थानीय तहमा रकम पठाएको छ । विस्थापित र जोखिममा रहेका चारसय ४७ परिवारलाई नयाँ घर बनाउन २४ करोड १० लाख रुपैयाँ स्थानीय तहमा पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार कालीकोटको नरहरिनाथ गाउँपालिकामा चार करोड, कालीकोटकै रास्कोट नगरपालिकामा पाँच करोड, जाजरकोटको जुनिचाँदे गाउँपालिकामा दुई करोड र जाजरकोटकै बारेकोट गाउँपालिकामा तीन करोड बजेट पठाइएको छ । त्यस्तै मुगुको खत्याड गाउँपालिकामा तीन करोड दश लाख, हुम्लाको चंलेखी गाउँपालिकामा दुई करोड र हुम्लाकै ताजाकोट गाउँपालिकामा पाँच करोड बजेट पठाइएको छ ।

प्रदेश सरकारले बजेट पठाएपछि गाउँपालिकाले परिवार छनौट र स्थानान्तरणका लागि बस्ती छनौट गर्न थालेका छन् । कुनै स्थानीय तहमा घर निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ भने कुनै ठाउँमा जोखिममा रहेका परिवारको छनौट भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । केही वडाले घर निर्माणको लागि परिवारसँग सम्झौता गरिरहेका छन् । गाउँ नै जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरेर घरहरु निर्माण गर्ने र बस्ती सुरक्षित रहेको तर पूर्णरुपमा घर क्षति भएका परिवारलाई वडा प्रदेश सरकराले कार्यालयबाट प्रति परिवार पाँच÷पाँच लाख दरले रकम उपलब्ध गराइने छ ।

घर निर्माणका लागि वडाको प्राविधिक सहयोग गर्नेछ । तोकेकै मापदण्ड अनुसार स्थानीय आफै वा वडाको समन्वयमा तीन कोठो घरहरु बन्नेछन् ।

कहाँ कति घर बन्दैछन् ?

कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा प्रदेशभर चारसय ४७ परिवारलाई नयाँ घर बनाइ दिँदै छ । जसमध्ये सरकारले कालीकोटमा मात्रै एकसय ८० वटा घरहरु बनाइदिने भएको छ । प्रदेश सरकारको सहयोगमा कालीकोटको नगरहरिनाथ गाउँपालिकाको वडा नं. ४ डाँडासुन्दरखालमा८० वटा र रास्कोट नगरपालिका वडा नं. ७ मा एकसय वटा नयाँ घरहरु बनाउन लागिएको हो । त्यस्तै जाजरकोटमा एकसय वटा घरहरु निर्माण गर्न लागिएको छ ।

जमध्ये जुनीचाँदे गाउँपालिका वडा नं. ७ मा ४० वटा र बारेकोट गाउँपालिका वडा नं. ७ मा ६० वटा घरहरु बनाउन थालेको हो । मुगुको खत्याड गाउँपालिका वडा नं. २ मा १८ वटा र वडा नं. ८ मा ३३ वटा घरहरु बनाउन लागिएको छ ।

वडा नं. २ को गाडेखोलामा दलित समुदायका लागि नयाँ घर र वडा नं. २ को झोलाघाटमा बस्तीहरु स्थानान्तरण गरेर घरहरु निर्माण गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा हुम्लाको चंखेली गाउँपालिका वडा नं. ६ को रातीपुरमा ३३ वटा र ताँजाकोटका पाँच वटै वडामा ८३ वटा घरहरु बनाउन थालिएको छ ।

बजेट कम नहुँदा समस्या

मुगुको खत्याड गाउँपालिका वडा नं. ८ को रिगा गाउँमा एकसय ६३ वटा घरहरु जोखिमा छन् । बर्षेनी पहिरोले सताउने रिगामा बस्ती स्थानान्तरण गर्नुपर्ने छ । वडा कार्यालयले रिगागाउँलाई वडा नं. ८ कै झोलाघाट र रिगाठाज्यूलामा सार्ने योजना बनाएको छ ।

तर चालु आर्थिक बर्षमा प्रदेश सरकारले अति जोखिममा रहेका ३३ घर परिवारलाई मात्रै घर बनाउन बजेट दिएको छ । बजेट थोरै भएपछि त्यहाँ क–कसलाई स्थानान्तरण गर्ने भनेर परिवार छनौटमा समस्या भएको छ । ‘एकसय ६३ वटा घरहरु सार्नुपर्नेछ तर प्रदेश सरकारले ३३ वटा घरका लागि मात्रै बजेट पठायो’ वडाध्यक्ष रामबहादुर रावतले भने, ‘बजेट नै थोरै आएपछि क–कसकाघर बनाउने र कसलाई कुन ठाउँमा सार्ने भनेर छनौट गर्न समस्या भयो ।

’ स्थानीयले एकै पटक गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने अडान राख्दै आएका छन् । स्थानीयको यही विवादका कारण परिवार छनौट गर्न नसक्दा बस्ती स्थानान्तरणमा समस्या भएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया