प्रधानमन्त्री देउवाद्वारा बैतडीमा बाढीप्रभावित क्षेत्र निरीक्षण

बैतडी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोले बैतडीमा पु¥याएको क्षतिको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले सिगास गाउँपालिका–५ को ढुङगाड क्षेत्रको स्थलगत निरीक्षण गरेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढीपहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताए ।

ढुङगाड क्षेत्रमा सेती नदीले ५ घर बगाउनुका साथै १ सय ५० बिघा खेती गरेको जमिन बगरमा परिणत भएको थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा गरी पहिरोमा परेर ४ जनाको ज्यान गएको थियो । साथै यहाँका १ दर्जनभन्दा बढी घरमा पहिरोले क्षति पु¥याएपछि घरपरिवार विस्थापित भएका छन् ।

प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन् ।

उक्त टोलीले बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाको पनि निरीक्षण गर्ने कार्यक्रम छ । डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा निरीक्षण गर्ने कार्यक्रम रहेको हो । टोली डोटी र बझाङपछि बैतडीको निरीक्षण गरेर डडेल्धुरा गएको छ ।

हालै आएको बाढीपहिरोमा परी सुदूरपश्चिम प्रदेशमा ३० जनाको ज्यान गएको थियो भने करौडौँको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया