सडक विभागका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन– ‘सिसडोल जाने बाटो तुरुन्तै मर्मत गर्नू’

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाको फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो तत्कालै मर्मत गर्न सडक विभागलाई निर्देशन दिनुभएको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोली समस्या समाधानको पहल गरिदिन माग गर्दै आज साेमवार प्रधानमन्त्रीलाई भेट्न गएको थियो । भेटमा प्रधानमन्त्री देउवाले काठमाण्डौको फोहोर व्यवस्थापनका लागि सङ्घीय सरकारले जस्तोसुकै सहयोग गर्ने वचन दिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले आफूहरूसँगको भेटकै क्रममा कार्यालयबाटै सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी आजैदेखि तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभएको मेयर शाक्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको निर्देशनपछि सडक विभागले सिसडोल र बञ्चरे डाँडाको बाटो मर्मतको तयारी थालिहाल्ने जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिनुभयो । फोहर विसर्जनस्थलमा समस्या भएपछि काठमाण्डाै उपत्यकामा फोहर थुप्रिएको छ ।

तपाईको प्रतिक्रिया