तालिबानलाई बाइडेनको जवाफ : अफगानिस्तानबाट जतिसक्दो चाँडो बाहिरिन्छौँ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका जतिसक्दो चाँडो अफगानिस्तानबाट बाहिरिन खोजेको बताएका छन्।

काबुल कब्जा गरेको तालिबानले ३१ अगष्टभित्र उद्दारका काम सक्न अमेरिकी गठबन्धनलाई समयसीमा दिएको छ। विदेशी सेना आफ्नो भूमिमा रहेसम्म सरकार गठन नगर्ने भन्दै तालिबानले अमेरिकी गठबन्धनलाई अफगानिस्तानबाट ३१ तारिखसम्म हट्न भनेको थियो। यो समयसीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नै तय गरेका थिए।

तालिबानले समयसीमा पालना गर्न, अन्यथा स्थिति प्रतिकूल हुने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक ट्वीटमार्फत त्यसको जवाफ दिएका हुन्। उनले १४ अगष्टदेखि हालसम्म ७० हजार ७०० मानिसहरूलाई अफगानिस्तानबाट निकालिएको जानकारी दिएका छन्।

उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का सहयोगी देशहरूले ३१ अगष्टसम्म तोकिएको समयसीमा विस्तार गर्न आग्रह गरेपनि बाइडेनले उद्दारका काम सकेसम्म चाँडै सक्दा नै राम्रो हुने ट्वीटरमा लेखेका छन्।

तालिबानले मानिसहरूलाई उद्दारमा सहयोग गरिरहेको पनि बाइडेनले लेखेका छन्। अन्तरराष्ट्रिय समुदायले तालिबानको मूल्यांकन उसको कामबाट गर्ने उनको भनाइ छ।

अर्को चरमपन्थी संगठन इस्लामिक स्टेटको खतरा बढिरहेकाले एअरलिफ्टको काम सकेसम्म चाँडै सम्पन्न गर्न बाइडेनले सुझाएका छन्।

जर्मनीले सुरक्षा आवश्यकता महसुस गरेका सबै अफगानीलाई ३१ अगष्टसम्म उद्दार गर्न नसकिने बताइसकेको छ। त्यहाँका विदेशमन्त्रीले निर्धारित समयसीमाभित्र अमेरिका या कसैले पनि सबै उद्दारको काम नसक्ने बताएका हुन्।

अमेरिकाले अफगानी दक्ष नागरिक पनि लग्यो : तालिबान

तालिबानले अफगानिस्तानबाट अमेरिकाले इञ्जिनियरलगायत दक्ष जनशक्ति पनि लगिरहेको भन्दै असन्तुष्टि जनाएको छ।

तालिबानका प्रवक्ता जैबिउल्लाह मुजाहिदले भनेका छन्, ‘अमेरिकाले दक्ष अफगानीहरूलाई लगिरहेको छ, यहाँ इञ्जिनियर बाँकी छैनन्, उनीहरूसँग विमान र विमानस्थल छ, आफ्ना नागरिक र ठेकेदारलाई मात्रै यहाँबाट लैजानुपर्छ।’

तपाईको प्रतिक्रिया