लापरबाही नगरौं

कोरोनाका कारण दुई महिना ठप्प बनेको जनजीवन केही सहज बनेको छ । बजारहरु खुल्न थालेका छन् । मानिसहरुको चहलपहल बढेको छ । सार्वजनिक यातायात संचालन भएका छन् । सँगै राजनीतिक क्रियाकलाप पनि बढेका छन् ।

व्यापार र व्यवसाय पनि संचालनमा आएका छन् । एक हिसावले भन्दा कोरोना नै छैन भने जसरी मानिसहरु सडकमा निस्कन थालेका छन् । तर वास्तविकता त्यो छैन । निषेधाज्ञा खुकुलो बनेसँगै कोरोना संक्रमणको दर पनि बढेको छ । देशभरको अवस्था बढ्दो क्रममा छ । कर्णालीमा पनि निषेधाज्ञा खुकुलो बनाइएको छ ।

सभा र सम्मेलन बाहेक अन्य क्षेत्रहरु खुला गरिएका छन् । यही कारण पछिल्ला दिनमा संक्रमणको दर पनि एकाएक बढेको छ । केही साता रोकिएको मृत्युदर पनि विस्तार बढ्न थालेको छ । यो अवस्था आएपछि चिकित्सकहरुले पनि सावधानी अपनाउन र जोखिम कायमै रहेको चेतावनी दिइरहेका छन् । अस्पताल र आइसोलेसनमा पनि संक्रमितहरु उपचारका लागि भर्ना हुने क्रम बढेको तथ्यांकहरुले देखाएका छन् ।

लामो समयसम्म घरभित्र थुनिएको जनजीवन अवस्था सहज बनेपछि चहलपहल हुनु स्वभाविक नै हो । तर यसरी कोरोना नै नभएको जस्तो स्वास्थ्य मापदण्ड नअपनाउनु, सामाजिक दुरी कायम नगर्नु, मास्क र सेनिटाइजरको प्रयोगमा लापरबाही हुनु राम्रो होइन । यसले कुनै पनि बेला महामारी निम्त्याउन सक्छ । यसतर्फ कसैले पनि ध्यान दिएको देखिदैन । अवस्था सहज हुँदा गरिने यस्ता लापरबाहीले नै महामारी निम्त्याउने हुन् ।

यसकारण स्वास्थ्यकर्मीले भने जस्तै अहिले पनि सबैले सावधानी अपनाउनु आवश्यक छ । जनजीवन सामान्य बनाउँदै हरेक व्यक्तिले स्वास्थ्य मापदण्डको पालना र आवश्यक सतर्कता अपनाउन सकेमा महामारीको अवस्थाबाट बच्न सकिन्छ । त्यतिमात्र होइन, सरकारी निकायले पनि यसतर्फ सतर्कता अपनाउन जरुरी छ ।

अहिले पनि अस्पतालहरुमा बेड र अक्सिजनको अवस्था के छ ? चिकित्सक र स्वास्थ्यकर्मीहरुको व्यवस्थापनमा पनि चनाखो हुनु आवश्यक छ । स्थानीय स्थानीय तहले पनि रोकथाम र पूर्वतयारी हालतमा बस्न आवश्यक छ ।  विज्ञहरुले पुनः तेस्रो भेरियन्ट फैलने बताइरहेका छन् । यसकारण अहिले नै ढुक्क हुने अवस्था छैन । कुनै पनि वेला तेस्रो भेरियन्टको प्रकोप फैलन सक्छ ।

यसलाई महामारीको रुपमा फैलन नदिन, क्षति कम गराउन र संक्रमणलाई फैलन नदिन अहिलेबाटै आवश्यक रणनीति अउनाउनुपर्ने हुन्छ । यस्तै स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि समयमै यसका लागि आवश्यक समन्वय गरुन् । अहिले पनि धेरै नागरिकले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् । यसअघि खोप लगाएका जेष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन् ।

उनीहरु अहिले पनि खोपको प्रतिक्षामा छन् । तसर्थ सरकारले तत्काल सबै नागरिकलाई खोप लगाउने अवस्था सिर्जना गर्नुपर्दछ । त्योभन्दा पहिला हरेक नागरिकले आफुले आफैलाई नियमन गर्दै सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सकेमा यो महामारी नियन्त्रणमा सघाउ पुग्नेछ ।

तपाईको प्रतिक्रिया