अन्यौलको भुमरीमा नेपालको राजनीति

केशर सिंह माझी । प्रधान मन्त्री के.पी.ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि संबिधानको धारा ७६(२) बमोजिमको नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आव्हान भैसकेको अवस्था छ ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस सरकारको नेतृत्व लिन तयार भएको भनिन्छ र उसको एक्लै बहुमत नभएको अवस्थामा नेकाँ, माओवादी केन्द्र र जसपा (बाबुराम-उपेन्द्र गुट ) समेतको १२४ मतले नयाँ सरकार गठन हुनका लागि आवश्यक वहुमत नपुग्ने भनिएको अवस्थामा जसपाको अर्को गुट (महन्थ-राजेन्द्र )ले समर्थन नगर्ने भनेर भनेको अवस्था देखियो ।

यस्तो बेला विश्वासको मतदानमा संसदमा अनुपस्थित एमाले (माधव-झलनाथ) समूहमा भएका २०+८ सांसदहरुले नेकाँ गठबन्धनलाइ सरकारमा पुर्याउनका लागि कि त राजिनामा दिएमा वा एमाले ओली समुहले संसदीय दलबाट कार्वाही गरि संसद सदस्यबाट हटाएमा मात्र साँसद संख्या २७१-२०=२५१ मा झर्न सक्दछ । अनि त्यसपछि मात्र ओली इतर पक्षको गठबन्धनको नयाँ सरकार गठन बन्न सक्ने आँकलन गर्न सकिन्छ ।

उता माधव-झलनाथ समुहको राजिनामा भने जस्तो सजिलो छैन । पदलोभी प्रबृति,स्वार्थगत राजनींति, नेतृत्वको ढुलमुलपन र अस्पष्टता आफैमा बाधक बनिरहेको स्थिति छ भने अर्कोतिर शेर बहादुर देउवालाई सत्तामा पुर्याउन कै लागि आफ्नो पद र राजनींतिलाइ दाउमा लगाउनु पर्ने स्थिति छ । यहानिर के पी ओलीलाइ सत्ताच्युत गर्ने एकमात्र उद्देश्य नै हो भने भोलि जे होला देखा जायगा भन्न पनि नसकेर अन्यौल देखिएको मात्र होइन “नखाउँ भने दिनभरीको सिकार,खाउँ भने कान्छा बा को अनुहार” भने झैं दोधारे नींतिमा साँसदहरु अल्मलिएका देखिन्छन ।

यस्तो दोधारे नींतिले समग्र राजनींतिक व्यवस्था नै रुमल्लिइ रहेको छ । अर्कोतिर पार्टी अध्यक्ष एबं प्रधानमन्त्री के पी ओलीलाइ पनि भने जस्तो ह्वात्त निर्णय गर्नु त्यति सजिलो देखिएको छैन,अप्ठेरो अवस्थामा गुज्रीनु पर्ने बाध्यता छ । आफुलाइ सत्ताच्युत गर्न तम्सिएका माधव-झलनाथ पक्षका नेता कार्यकर्ताहरुलाइ सुर्य थापा जस्ता सल्लाहाकार प्रबृतिहरुले पार्टी हित बिरुद्ध काम गरेको भन्ने आरोपमा पार्टीबाटै निष्कासन गर्नेसम्मको कारवाहीको डन्डा चलाउन उक्साए पनि त्यो कदम आफैमा आत्मघाती हुने देखिएको छ ।

किन कि सत्तामा रहीरहनका लागि उक्त पक्षले राजिनामा नदिएको अवस्थामा संसदीय गणितले फाइदा देखिन्छ भने राजिनामा दिँदा संसदीय गणित घटन गइ विपक्षी खेमालाइ सत्ता हस्तान्तरण हुन सक्ने हुँदा अप्ठ्यारो स्थिति देखिएको छ । संसदीय अंकगणितमा विश्वासको मत शृंखलामा आफ्नो पक्षमा जम्माजम्मी ९३ मत रहेको र बिपक्षमा १२४ र तटस्थमा १५ मत रहेको देखिएको छ । त्यसमा तटस्थमा रहेको जसपा लगायतको मत सबै ओली पक्षमा आउने सम्भावना पनि कमै रहेको अनुमान गर्नेहरु धेरै छन ।

जहाँसम्म जसपाको कुरा हो, अहिले विश्वासको मत शृंखलामा दुई खेमामा बिभक्त भएको एक खेमाबाट महन्थ ठाकुर र अर्को खेमाबाट बाबुराम भट्टराइ अरु पार्टीहरुमा भैरहेको किचलोको फाइदा उठाउँदै आफै आफै सत्ताको नेतृत्व लिन लालायित देखिएका छन । यस अवस्थामा बाबुराम-उपेन्द्र समुह आफुले नेतृत्व लिन नसकेपनि ओलीलाइ जसरी पनि सत्ताच्युत गर्न अरुलाइ सघाउन तयार देखिएको छ भने महन्थ ठाकुर पाएसम्म आफैले नेतृत्व लिने,नपाए कसैलाइ समर्थन नदिएर तटस्थ बस्ने भन्ने रणनींतिमा देखिएको छ ।

यो असमञ्जस परिस्थितिमा गुज्रीरहेको नेपाली राजनींति आजको स्थितिमा अन्तत: एमालेको असन्तुष्ट माधव-झलनाथ समुहको निर्णयाक भुमिकाको अपेक्षा गरिरहेको देखिन्छ । यस्तो बेला यो समुहले ठोस निर्णय नगरेर देशलाइ कुहिरोको काग बनाउनु हुंदैन ।

किनभने पद मै रहीरहने हो भने ओलीपक्षले कार्वाहीको डन्डा चलाउने करीव करीव निश्चित देखिएकोले पदबाट हात धुनै पर्ने स्थिति छ । बरु यसो हुनु भन्दा यसै नहुने उसै नहुने भन्दै पदबाट राजिनामा दिएर मैदान खाली गरि आगामी रणनींति तयार गर्नतिर लाग्दा उत्तम हुनेछ ।

(लेखकको निंजी धारणा )

तपाईको प्रतिक्रिया