कोरोना संकटमा जनप्रतिनिधिले चढ्ने गाडीहरु नै एम्बुलेन्स !

सुर्खेत । कर्णालीका अधिकांश स्थानीय तह भौगोलिक रुपमा विकट छन् । यही कारण अधिकांश स्थानीय तहसँग एम्बुलेन्स छैनन् । कोरोना महामारी फैलिएसँगै संक्रमितलाई अस्पतालसम्म लैजान समस्या छ । संक्रमण तीव्र बन्दै गएपछि यहाँका स्थानीय तहले हिजोआज एम्बुलेन्सको जोहो गर्न थालेका छन् ।

अघिल्लो पटक कोरोना संक्रमण फैलिए पनि महामारीको रुप लिएको थिएन । तर यसपाली संक्रमणका कारण संक्रमतिको मृत्युदर बढेको छ भने गम्भिर प्रकृतिका संक्रमितलाई अस्पताल नै लैजानुपर्ने अवस्था छ । यस्तो अवस्थामा एम्बुलेन्सको अभाव हुन थालेपछि यहाँका स्थानीय तहले वैकल्पिक उपाय अपनाएका छन् ।

सक्नेले एम्बुलेन्स गरिद गरे पनि अधिकांश जनप्रतिनिधिले आफूले चढ्दै आएका गाडीलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । अधिकांश स्थानीय तहमा जनप्रतिनिधिले चढ्दै आएका गाडी नै एम्बुलेन्सको रुपमा प्रयोग पनि भइरहेका छन् । सुर्खेतको चौकुले गाउँपालिकासँग एम्बुलेन्स अभाव थियो । एम्बुलेन्स नभएपछि संक्रमितको उद्दारमा समस्या हुनेभयो ।

यही समस्या समाधान गर्न र संक्रमितको उपचारमा सहज होस् भन्दै गाउँपालिकाले हाल जनप्रतिनधिले चढ्दै गाएको गाडीलाई नै एम्बुलेन्स बनाएको छ । आइतबारदेखि गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले प्रयोग गर्ने कर्णाली प्रदेश ०२००१ झ ००८२ नम्बरको गाडीलाई एम्बुलेन्स बनाइएको हो । गाउँपालिकामा कोरोना संक्रमितको उद्दार तथा अस्पतालसम्म पु¥याउनका लागि उक्त गाडीलाई नै एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले जनाए ।

यस्तै सल्यानमा पनि संक्रमितको उद्दार गर्न एम्बुलेन्स अभाव छ । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ । जिल्लामा एम्बुलेन्स अभाव भएपछि त्यहाँका जनप्रतिनिधिले पनि आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने तयारी गरिरहेका छन् । जुम्लामा पनि संक्रमितको उपचारका लागि एम्बुलेन्स अभाव हुन नदिन स्थानीय तहहरु जुटेका छन् । जिल्लाको सिंजा गाउँपालिकाले पनि यो महामारीमा संक्रमितलाई अस्पतालसम्म लैजानका लागि जनप्रनिधिले चढ्दै आएका गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेको छ ।

यसले दुर्गममा एम्बुलेन्सको अभावमा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था नआउने स्थानीय तहहरुको दाबी छ । पछिल्लो समय एम्बुलेन्सको अभाव टार्न यहाँका अधिकांश स्थानीय तहले जनप्रतिनिधिले चढ्दै आएका गाडीलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालेका हुन् । यसले संक्रमितको उपचारमा सहज हुने महामारीमा जनप्रतिनिधले नमूना काम गरेको भन्दै नागरिक स्तरबाट प्रशंसासमेत हुन थालेको छ ।

कर्णालीका अधिकांश स्थानीय तहसँग हाल एम्बुलेन्स अभाव छ । यही समस्या भएका कारण पनि कर्णाली प्रदेश सरकारले सबै जिल्लालाई एम्बुलेन्स भाडामा लिन अनुरोध गरेको छ । सामाजिक विकास मन्त्रालयले हरेक जिल्ला जनस्वास्थ्य सेवा कार्यालयलाई एम्बुलेन्स र शवबहान भाडामा लिनका लागि भन्दै सातदेखि नौ लाख रुपैयाँ पठाएको छ ।

‘कुनै जिल्लामा नौ लाख र कुनैमा सातलाख रुपैयाँ पठाएका छौँ’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भने, ‘सुगम जिल्लाहरुमा एम्बुलेन्स अभाव हुन दिन्नौं, तर दुर्गममा भने संक्रमितको उद्दारका लागि हेलिकोप्टरको व्यवस्थापन गरेका छौं ।’ यसका लागि निजी हवाइसेवा प्रदायक कम्पनीहरुसँग दररेट माग गरिएको काप्रीले बताए । दररेट प्राप्त भएपछि छिट्टै एयरलिफ्टिङ सेवा सुरु हुने उनको भनाइ छ ।

कोरोना संक्रमण बढेपछि कर्णालीका अधिकाशं स्थानीय तहमा संक्रमितको उद्दार र मृत्युपछि दाहसंस्कार स्थलसम्म शव पु¥याउन समस्यो छ । यही समस्या टार्न स्थानीय तहहरुले जनप्रतिनिधिले चढ्दै आएका गाडी विकल्पको रुपमा प्रयोग गर्न थालेका हुन् ।

एम्बुलेन्स जुटाउँदै सांसद

कर्णालीमा एम्बुलेन्सको अभाव भएपछि सांसदहरु पनि यसको जोहोमा लागेका छन् । संक्रमितको उद्दारका लागि एम्बुलेन्स अभाव भएपछि जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले एम्बुलेन्स व्यवस्थापनका लागि १० लाख रुपैयाँ जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई सहयोग गरेको छन् ।

गाउँगाउँमा संक्रमण फैलिएपछि एम्बुलेन्स व्यवस्थापनका लागि जुम्लामा समस्या भएको छ । जुम्लाका सिंजा, हिमा, कनकासुन्दरी र पातराशी गाउँपालिकासँग मात्रै एम्बुलेन्स छन् । ति एम्बुलेन्सले पनि साधारण विरामी मात्र बोक्छन् ।
एम्बुलेन्स अभाव भएपछि सांसद महतले एम्बुलेन्स जुटाउन बजेट उपलब्ध गराएका हुन् ।

त्यस्तै जाजरकोटमा एम्बुलेन्स अभाव भएपछि संविधानसभा सदस्य राजिवविक्रम शाहले एम्बुलेन्स पठाएका छन् । शाहले भारतीय राजदुतावासको सहयोगमा उनी अध्यक्ष रहेको कुमारी ट्रष्टलाई प्राप्त एम्बुलेन्स जिल्लामा पठाएका हुन् । भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहको पहलमा शाहले एम्बुलेन्स पठाएका हुन् । जाजरकोटमा संक्रमितको उद्दारका लागि एम्बुलेन्स अभाव छ । त्यहाँ जिल्ला अस्पतालको एम्बुलेन्स पनि दुई बर्षदेखि बिग्रिएको छ ।

चार स्थानीय तहमा संयुक्त शववहान

यसैबीच सुर्खेतका चार वटा स्थानीय तहले संयुक्त रुपमा शववहानको व्यवस्थापन गर्ने भएका छन् । कोरोना संक्रमितको मृत्युपछि दाहसंस्कार स्थलसम्म शव पु¥याउन भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका र सिम्ता गाउँपालिकाले संयुक्त रुपमा शव व्यवस्थापन गर्ने भएका हुन् ।

सोमबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिका अध्यक्ष एवम् सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
शववहननका लागि चारवटै स्थानीय तहहरुले मिलेर एक थान जीप नेपाली सेनालाई उपलब्ध गराउने छन् ।

सेनाले उक्त जीप छिन्चुस्थित ब्यारेकमा स्ट्याण्डबाइ राख्नेछ । संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा समस्या भएपछि यो निर्णय गरिएको हो ।

युवाहरुको पहलमा निशुल्क एम्बुलेन्स सेवा

कोरोना महामारीमा सुर्खेतका युवाहरूले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । ‘कोभिड–१९ सेल्फ हेल्प समूह’ले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । यो समूहले प्रदेश आयुर्वेद अस्पतालसँगको समन्वयमा एम्बुलेन्स सेवाको सुरुवात गरेको हो ।

समूहले १० वटा अक्सिजन सिलिन्डरसहित एम्बुलेन्स आयुर्वेद अस्पतालाई हस्तान्तरण गरेको छ । कर्णालीमा अक्सिजनको चरम अभाव भएपछि युवाहरूको एक समूहले ‘अक्सिजन सिलिन्डर अभियानका लागि मेरो एकहजार’ नामक अभियानको सुरुवात गरेका छन् । सोही अभियानमार्फत् उठेको रकमले एम्बुलेन्स सेवा सुरु गरिएको हो । यसले संक्रमितलाई अस्पतालसम्म लैजान सहज हुने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया