कोरोना संक्रमणको दर बढेपछि सुर्खेतमा आज रातीदेखी निषेधाज्ञा

अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक, दैनिक उपभोग्य वस्तुका पसल भने विहान तीन घण्टा मात्र खुल्ने

सुर्खेत । कोरोना संक्रमणको दर एकाएक बढेपछि सुर्खेतमा आज (मंगलबार) राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा संक्रमणको दर नियन्त्रण बाहिर जान थालेपछि निषेधाज्ञा लागू गरिएको हो ।

सोमबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले सुर्खेत जिल्लाभरी नै एक हप्तासम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो । ‘सुर्खेतमा दिनप्रतिदिन संक्रमित थपिन थालेका छन्, यसको रोकथामका लागि निषेधाज्ञा नै उपयुक्त विकल्प हो’ जिल्ला कोरोना संकट व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘संक्रमण नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा लागु गरिएको हो ।’ निषेधाज्ञा लागू गरिएपछि संक्रमण भयावह हुनबाट रोकिने उनको तर्क छ ।

संक्रमणको दर बढ्दै गएको खण्डमा निषेधाज्ञा लम्बिन सक्नेछ । यहीकारण जिल्ला प्रशासन कार्यालयले आज एकदिनको समय दिएर अत्यावश्यक वस्तुको प्रबन्ध गर्न र घर जान दिनेगरी आज रातीबाट निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

संक्रमण नियन्त्रण बाहिर जान नदिन सुर्खेत जिल्लाभर आज राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा लागु भए पनि अत्यावश्यक सेवाहरु तथा दैनिक उपभोग्य वस्तुहरु (तरकारी, खाद्य, दुध, ग्याँस) का पसलहरु भने हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म संचालन गर्न पाइने छ ।

अत्यावश्यक वस्तुका पसलहरु सञ्चालन गर्दा पनि स्वास्थ्यका मापदण्ड अनुसार मास्क तथा भौतिक दुरी अनिवार्य पालना गर्नुपर्ने छ । यस्तै आवश्यक सेवाको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्था समेत), सवारी साधन, पसल व्यवसाय संचालन र आवश्यक काम बाहेकको हिँडडुलमा समेत रोक लगाइएको छ ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने व्यक्तिलाई संक्रामक भने रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बामोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । अत्यावश्यक सेवा एवं कार्यमा खटिने कर्मचारी÷व्यक्तिहरुले भने अनिवार्य रुपमा कर्मचारी परिचयपत्र एवं पोशाक लगाउनु पर्नेछ ।

कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँचसय नजिक पुगेको छ । सोमबार साँझसम्म प्रदेशभर सक्रिय संक्रमितको संख्या कुल चारसय ८९ जना पुगेको छ । संक्रमितमध्ये सुर्खेतका तीनसय ३६, दैलेखमा ४१, जाजरकोटममा १६ र सल्यानमा ६६ जना छन् ।

तिमध्ये ६८ जना सोमबार थपिएका हुन् । ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको प्रदेशका स्वास्थ्य सेवाकन निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

अस्पतालमा अक्सिजन अभाव

जटिल प्रकृतिका संक्रमित बढेपछि प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन अभाव भएको छ । अस्पतालको पुरानो अक्सिजन प्लान्ट बिग्रीनु र नयाँ सञ्चालनमा नआउँदा अक्सिजन अभाव सुरु भएको हो । ‘अस्पतालको एउटा अक्सिजन प्लान्ट सुरु नै भएको छैन, अर्काे बिग्रियो’ अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘एक हप्ताभित्र नयाँ अक्सिजन प्लान्ट सुरु नभए विरामीले अक्सिजन पाउँदैनन् ।’

पुरानो अक्सिजन प्लान्टबाट कोरोना अस्पतालमा अक्सिजन सप्लाइ गर्न सक्ने अवस्था छैन । ‘पुरोना अक्सिजन प्लान्ट केही दिनमै सुरु हुन्छ, तर त्यहाँबाट कोरोना अस्पतालसँग अक्सिजन ल्याउन सम्भव छैन’ खड्काले भने, ‘कोरोना अस्पतालमा छुट्टै अक्सिजन प्लान्ट सुरु नभए विरामीलाई अक्सिजन पु¥याउन सक्दैनौँ ।’

कोरोना विशेष अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भइसकेको छ । तर रकम भुक्तानीमा ढिलाइ भएका कारण प्लान्टको प्राविधिक काम बाँकी छ । प्लान्ट निर्माणको रकम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भुक्तानी गर्नुपर्छ । हाल अस्पतालले नेपालगञ्जबाट अक्सिजन झिकाएर विरामीलाई चढाइ रहेको छ । नेपालगञ्जमा पनि संक्रमतिहरु बढिरहेका कारण अबको केही दिनमै त्यहाँबाट अक्सिनज आपूर्ति सहज नहुने डाक्टर खड्काको अनुमान छ ।

‘बाहिरबाट किनेर कति दिन धान्न सकिन्छ ?’ उनी भन्छन्, ‘नेपालगञ्जबाट अक्सिजन ल्याउँदासम्म विरामीलाई बचाउन सकिंदैन ।’ नेपालगञ्जबाट अक्सिजन ल्याउनका लागि अस्पतालसँग पर्याप्त शिलिन्डर समेत छैनन् । ‘संक्रमित बढेपछि ४० वटा सिलिन्डर त एक दिनमै सकिन्छन्’ उनी भन्छन्, ‘बाहिरबाट अक्सिजन ल्याउन पनि अस्पतालसँग पर्याप्त सिलिन्डर छैनन् ।’

के गर्न पाइन्छ ?

जिल्लामा निषेधाज्ञा जारी भए पनि केही अत्यावश्यक सेवा भने संचालन हुनेछन् । यो अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु भने संचालन हुनेछन् ।

यस्तै सार्वजनिक निर्माण कार्य र हवाईसेवासमेत संचालन गर्न पाइने छ । यस्तै यो अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिने व्यक्तिले भने अनिवार्य रुपमा परिचय र पोशाक लगाउनुपर्ने छ ।

महामारी नियन्त्रणमा गम्भिर बन्न सांसदहरुको आग्रह

यसैबीच कर्णाली प्रदेशका सांसदहरुले कोरोना नियन्त्रण र संक्रमितको उपचारमा प्रदेश सरकारलाई गम्भिर बन्न आग्रह गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले कोरोना नियन्त्रणभन्दा बाहिर जान नदिन तत्काल जनशक्तिको व्यवस्थापन, अस्पतालको क्षमता बृद्धि र अत्यावश्यक औषधि उपकरणको व्यवस्थापनमा गम्भिर बन्न प्रदेश सरकारलाई सुझाव दिएका हुन् ।

कोरोनाबाट प्रदेशमा पनि भयावह हुने अवस्था छ’ काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘विकास बजेट काटेर भए पनि नागरिकको उपचार गर्न सरकारले पूर्वाधारको व्यवस्था गरोस् ।’ नागरिकको जीवन रक्षाको लागि विकास बजेट काटेर भए पनि स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारमा लगानी गर्न उनको सुझाव छ । यस्तै सांसद ठम्मर विष्टले कोरोना नियन्त्रणका लागि अत्यावश्यक पूर्वाधारको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

‘कोरोनाको दोस्रो लहरबाट कर्णालीमा भयावह हुने अवस्था देखिन्छ’ सांसद विष्टले भने, ‘प्रदेशमा अक्सिजन अभावको आपूर्ति गर्न प्रदेश सरकार गम्भीर बनोस् ।’ प्रदेश अस्पतालमा अक्सिजन आपूर्तिका लागि अक्सिजन प्लान्ट र सिलिन्डरको तत्काल व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । सांसद पद्मा खड्काले पनि कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको गतिविधिहरु प्रदेशसभालाई जानकारी गराउनुपर्ने बताइन् । अन्य सांसदहरुले पनि कर्णालीलाई कोरोनाको हटस्पट बन्न नदिन र नागरिकको जीवन रक्षाको लागि सरकार गम्भीर बन्न आग्रह गरेका थिए ।

 

तपाईको प्रतिक्रिया