अन्तिमपल्ट ढलेको हो धरहरा अब कहिलै ढल्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा अन्तिमपल्ट ढलेको र अब उप्रान्त नढल्ने बताएका छन् । पुनःनिर्माण गरेपछिको धरहरा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरा नढल्ने गरी बनाईको बताए ।

‘यो अन्तिमपल्ट हो धरहरा ढलेको अब उप्रान्त ढल्दैन’ प्रधानमन्त्री केपी शर्मा ओलीलले भने, ‘यो खुसियालीमा काठमाडौंबासीले दीपावली मनाउँनु पर्छ। मनाउँनु हुन्छ भन्ने पनि अपेक्षा राखेको छु ।’

म बनाउँछु मेरो धरहरा भन्ने अभियान अन्र्तगत २४ करोड सहयोग भएको प्रधानमन्त्रीले जानकारी दिए । ‘जनताका विभिन्न भावनाका आयामहरु छन् यसमा।’ प्रधानमन्त्रीले भने, ‘धरहरा नेपालको परिचायक हो। धरहरा काठमाडौंको परिचायक हो। इतिहास हो गौरव हो। इतिहास झल्किने, टल्किने धरहरा ।’

उनले धरहरालाई विभिन्न नामबाट सम्बोध गर्दै भने, ‘भव्य धरहरा, बलियो धरहरा, ८६.८५ मिटर पहिलेको भन्दा अग्लो छ। यसको जगदेखि लिएर प्रयोग भएको स्रोत साधन एकदमै बलियो छ ।’

कोभिडको महामारीमा पनि सरकार चुप लागेर नबसेको, विकासका काम अगाडी बढाईरहेको प्रधानमन्त्रीको भनाइ थियो। प्रधामन्त्री ओलीले सरकार निरन्तर काम गरिरहेको छ भन्ने उदाहरण रानीपोखरी र धरहरा भएको जानकारी दिए ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाएको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । वि।सं। १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो । भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया