प्रकाशकीय… हाम्रो संकल्प

युगआह्वान दैनिक प्रकाशन सुरु भएको २० वर्ष पुरा भएको छ । २०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई प्रकाशन प्रारम्भ भएको यस पत्रिका आजदेखि २१ औं बर्षमा प्रवेश गरेको छ ।

लामो समय साप्ताहिक हुँदै प्रकाशनलाई निरन्तरता दिएकोमा २०६६ चैत्र २९ गतेदेखि दैनिक प्रकाशन प्रारम्भ भएको थियो । २०७६ भदौं १ गतेदेखि आफ्नो स्तरबृद्धि गरी ठुलो आकार (ब्रोडसिट) मा रंगिन कर्णालीबाट पहिलो पटक प्रकाशन शुभारम्भ गर्न सफल भएका छौं ।

कर्णालीजस्तो साँघुरो विज्ञापन बजार, भौगोलिक विकटता र कोरोना महामारीका कारण धरासायी भएको अर्थतन्त्रले पनि हामीलाई रोक्न सकेन । अर्थात यहाँहरुको विश्वास र मायाका कारण हामी आज २१ औं वर्षमा प्रवेश गरेका छौं ।

सुर्खेतमा निरन्तर दैनिक पत्रिका प्रकाशन गरेर २० वर्ष पूरा गर्नु सहज थिएन । तर हामीलाई आम पाठक, विज्ञापन दाता र सुभेच्छुको हौसला र सहयोगले यो सम्भव भएको छ । अघिल्लो वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस र सरकारले घोषणा गरेको लकडाउनले सुर्खेतका सबै पत्रपत्रिका र काठमाडौंबाट छापिने केही ठुला पत्रिका बन्द हुँदा पनि हामीले हाम्रो प्रकाशनलाई निरन्तरता दिन सफल भयौं ।

पाठकको सूचना पाउने अधिकारको रक्षा गर्दै आउँदा दिनमा पनि हामी प्रकाशनलाई नियमित र गुणस्तरीय बनाउने आजको दिनमा संकल्प गर्दछौं । विगतमा जस्तै हाम्रा प्रकाशनमार्फत् रोग, भोक र अभावलाई छिचोल्दै कर्णालीको खानी, जल, जंगल, कृषि, जडिबुटीको उत्खनन्, प्रशोधन र पर्यटनको सम्भावना खोजीबारे पैरवी गरिरहने छौं । साथै प्रेस स्वतन्त्रता, मानव अधिकार, समानता, पहिचान, शान्ति, न्याय र विकासका सवालमा हाम्रो ध्यान केन्द्रीत रहनेछ ।

समाजमा विद्यामान सामाजिक कुरिति, कुसंस्कार, सामाजिक विकृति र पछौटेपनको अन्त्यका लागि हामी सचेत रहने छौं । रोग, भोक र अभावले थलिएको कर्णालीमा सम्भावनाहरु पनि धेरै छन् । हामी समस्यालाई बल्झाउने भन्दा पनि सम्भावनाको खोजी गर्न केन्द्रीत हुनेछौं ।

तर सानो विज्ञापन बजार र भौगोलिक विकटता रहेको कर्णालीमा यसरी पत्रिका प्रकाशन गर्न सजिलो भने छैन । तर पनि हाम्रा आमपाठक, विज्ञापनदाता र शुभेच्छुकहरूको मायाले हामी थप उत्साहित छौं । समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको परिकल्पना साकार पार्नका लागि हामी हाम्रो प्रकाशनमार्फत प्राथमिकता दिनेछौं ।

साथै २१औं वार्षिकोत्सवको यो अवसरमा हामी संचार जगतको विकास क्रमश प्रिन्ट मिडियापछि अनलाइन, यूटूव हुँदै इलेक्ट्रोनिक (विद्युतिय) मल्टिमिडियालाई पनि आत्मसात गरी यहाँहरुलाई निरन्तर, भरपर्दो र विश्वसनिय सूचना उपलब्ध गराउने प्रतिबद्धता पनि गर्न चाहन्छौं ।

अन्त्यमा, यस दैनिकको सफलतामा अहोरात्र खटिने यस दैनिकका सम्पूर्ण पत्रकार, कर्मचारीहरु, संस्थाको प्रगति, दिगोपना र सफलताका लागि माया गर्नुहुने आम पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

प्रकाशक
दीपककुमार बुढा क्षेत्री

तपाईको प्रतिक्रिया