अग्नीपीडितको व्यवस्थापन

यतिबेला आगलागीका घटना बढेका छन् । सुख्खा मौसमका कारण पनि आगलागीको जोखिम बढ्दो छ । लामो समयसम्म वर्षा नभएका कारण गर्मी बढेको छ । यसले गर्दा वनमा आगलागी र डढेलो बढेको छ । वनमा लागेको ढडेलो नियन्त्रणमा नआउँदा बस्नीसम्म आगो फैलिने गरेको छ ।

पछिल्ला दिनमा कर्णालीका विभिन्न जिल्लामा दर्जनौं आगलागीका घटना भएका छन् । जहाँ धेरै घर जलेका छन् । वनमा लागेको आगो निभाउने क्रममा केही व्यक्तिहरुको ज्यान नै गएको छ । केही घाइते भएर उपचारमा छन् । लाखौंको भौतिक संरचना जलेर खरानी भएको छ । नागरिकको बस्ने घर जलेका छन् ।

अन्नपात नस्ट हुँदा पीडितलाई के खाने र कहाँ बस्ने भन्ने पीरलो छ । यस्तो अवस्थामा उनीहरुको उचित व्यवस्थापन र राहत उपलब्ध गराउनेतर्फ कसैको ध्यान गएको छैन । यसतर्फ सरोकारवालाहरुको ध्यान जान आवश्यक छ । यद्यपी पीडितहरुले आफूहरुको व्यवस्थापन र राहतका लागि स्थानीय सरकार र नेताहरुसँग गुहार मागिरहेका छन् । तर त्यसको सुनुवाइ हुन सकेको छैन ।

सुर्खेत, सल्यान, कालिकोट र जुम्लामा आगलागीबाट धेरै परिवार विस्थापित भएका छन् । आगोले घर र अन्नपात खरानी बनेपछि उनीहरु खुला स्थानमा रात विताउन बाध्य छन् । केही संस्थाले राहत वितरण गरे पनि उनीहरुको दिर्घकालिन व्यवस्थापन हुन सकेको छैन । आगलागी मानवीय कमजोरीका कारण हुने घटना हो । मानवीय कमजोरी र लापरबाहीका कारण वन र बस्तीमा आगलागी हुने गरेको छ ।

यसको रोकथाम र नियन्त्रणमा मानिस नै होरियार हुन आवश्यक छ । तर आगलागी भइसकेपछि पनि गरिने सावधानी र उद्धारमा धेरै समस्याहरु छन् । आगलागी भएपछि त्यसको नियन्त्रणका लागि हामीसँग दक्ष जनशक्ति र औजारहरु छैनन् । ठूला सहरमा त दमकल नभएको अवस्थामा दुर्गम बस्तीमा दमकल पाउने सम्भावना भएन ।

यस्तो अवस्थामा स्थानीयले आगो नियन्त्रणमा लिन सक्ने अवस्था हुन्न । यही कारण पनि सानो आगोले समयमै नियन्त्रण गर्न नसक्दा बस्नी नै जल्नेर दर्जनौ परिवार घरबारविहीन बन्ने अवस्था छ । आगलागी हुन नदिन सबैभन्दा पहिला मानव नै सचेत बन्नु पर्दछ । आगलागी भएको खण्डमा पनि यसबाट कम क्षति हुनेगरी समयमै नियन्त्रण लिने उपाय अपनाउन आवश्यक छ ।

अर्कोतर्फ आगोले बढी क्षति हुने भनेको खरका छाना भएका घरका कारण पनि हो । कच्ची र खरका छाना भएका घरमा आगोले चाँडै समात्ने भएकाले पनि क्षति बढी हुने गरेको छ । यसकारण आगलागी कारण घरबारविहीन बनेका नागरिकहरुलाई वर्षात अगाडि नै छानोमुनि ल्याउनेतर्फ स्थानीय सरकारले बढी भूमिका निर्वाह गर्नु पर्दछ ।

यसका लागि भोलीका दिनमा सम्भावित आगलागीबाट नोक्सान कम गर्न अहिलेबाटै खरका छाना विस्थापन गर्नेतर्फ सोच्न आवश्यक छ । यस्तै पीडितलाई तत्कालका लागि राहत र भोलीका लागि बस्ने घरको व्यवस्थापन गर्नेतर्फ सरकारी निकायले चासो दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया