ऊर्जाको ‘हब’ बन्दै कालीकोट

कालिकोट, ८ फागुन ।

कर्णालीकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको रूपमा लिइएको फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणकार्यले तीव्रता पाएको छ । कर्णालीकै गौरवको आयोजनाका रूपमा हेरिएको हाइड्रोको निर्माणकार्यले तीव्रता पाएसँगै कालीकोट ऊर्जाको हबका रूपमा विकास हुने भएको हो । हालसम्म बिजुलीको राष्ट्रिय प्रसारण लाइनले समेत नछोएको यस जिल्लामा मुलुककै ऊर्जा क्षेत्रमा योगदान दिने गौरवको आयोजना निर्माण थालिँदा स्थानीय नागरिक पनि हर्षित छन्।

 

सान्नीगाड साना जलविद्युत् आयोजना बाढी र पहिरोमा परेर बर्सेनि अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य यहाँका नागरिक फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणकार्य सुरु भएपछि उत्साही छन् । कोरोना भाइरसका कारणले निर्माणकार्यमा ढिलाइ भएको यो हाइड्रोको एक सय मिटरभन्दा बढी सुरुङ खन्ने काम सकिएको छ । आयोजना प्रमुख हिरावान वाइवाले आयोजनाको कुल लागत एक खर्ब रहेको बताए। सिस्नेगडामा ड्याम बनाई लुसाको मुनि पावर हाउस निर्माण गरी रेङगेलको मन्दिर र नरहरिनाथको सिमानाको बीचमा पानी खसालिनेछ ।

कुल ४ सय ८० मेघावाट क्षमताको यो आयोजनामा एक दशमलव पाँच किलोमिटर लामो र ११ मिटरको ब्यासको डाइभर्सन टनेलमार्फत नदीको पानी फर्काइ मुख्य ड्यामको निर्माण गरिनेछ । मुख्य ड्यामदेखि करिब ६ किलोमिटर लामो हेडरेस (मुख्य) टनेलमार्फत पानी पठाई पावर हाउसमा खसालिनेछ । पावर हाउसबाट उत्पादित बिजुली चार सय केभीको प्रसारण लाइनमार्फत फुकोट सबस्टेसन रङगेलमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पठाइनेछ ।

हाल आयोजनाको विस्तृत अध्ययन सम्पन्न भइसकेको छ । यद्यपि वातावरण प्रभाव मूल्यांकन कार्य भइरहेको छ । वातावरण प्रभाव मूल्यांकनसम्बन्धी क्षेत्र निर्धारण तथा सर्तहरू वातावरण मन्त्रालयबाट स्विकृत हुने अवस्थामा छ । यो आर्थिक वर्षमा वातावरण प्रभाव मूल्यांकन अध्ययन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो आयोजना प्राविधिक र आर्थिक दुवै हिसाबले उत्कृष्ट रहेको छ ।

अनुमानित लागत एक खर्ब रहेको यो आयोजना नेपाल सरकार तथा विभिन्न सार्वजनिक संस्थाहरूको सेयर भएको कम्पनी विद्युत् उत्पादन कम्पनी लिमिटेडअन्तर्गत रहेको छ । कम्पनीले यो आयोजना निर्माणका लागि लगानी जुटाउन सुरुआत गरिसकेको छ । तसर्थ आयोजनाको लागि आवश्यक लगानी जुटेको अवस्थामा यो आयोजना निर्माण सुरु गरेको पाँच वर्षमा सम्पन्न हुनेछ ।

आयोजनाबाट लगभग एक हजार रोपनी जग्गा डुबानमा पर्नेछ भने रास्कोट नगरपालिका, सान्नित्रिवेणी र पचाल झरना गाउँपालिका केही भूभाग प्रभावित हुनेछ । यस्तै खाँडाचक्र नगरपालिकाको थोरै भूभाग प्रभावित हुनेछ ।

कम्पनीले यो आर्थिक वर्षमा सम्पूर्ण डुबानमा परेका जग्गा प्राप्त गर्ने लक्ष्य लिइएको छ । हालसम्म आयोजनाको कार्यालय भवन र कर्मचारी आवास गृह निर्माणको लागि आवश्यक रकुस्थित १ सय ३५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।

तपाईको प्रतिक्रिया