सम्पादकीय : छाउ बार्ने कुप्रथा

महिनावारी अर्थात छाउ । महिला तथा किशोरीहरु महिनावारी हुनुलाई कर्णाली तथा सुदूरपश्चिममा छाउ भएको भनिन्छ । छाउ हुनु एक सामान्य प्रक्रिया हो । उमेर पुगेका किशोरी र महिलाहरुमा यो चक्र नियमित नै हुन्छ । छाउ हुनु भनेको महिला तथा किशोरीहरु सन्तान उत्पादनका लागि योग्य भएको संकेत पनि हो । तर कर्णालीका केही जिल्ला र समुदायमा यसलाई बार्ने प्रचलन छ । छाउ भएको समयमा घरभित्र बस्न नदिने र मिठो मसिनो पनि खान नदिने चलन छ । यतिमात्र होइन, महिनावारी भएको समयमा आराम चाहिन्छ । तर छाउ अर्थात महिनावारी बार्ने कुप्रथाका कारण आज महिला तथा किशोरीहरु पीडित बनेका छन् । महिनावारीको समयमा घरभित्र बसाल्नुको साटो घरबाट टाढा रहेको सानो छाप्रो, कटेरो र गोठमा बसाल्ने गरिन्छ । यसको कारण धेरै महिला तथा किशोरीले छाउगोठमै ज्यान गुमाइसकेका छन् ।
घरदेखि टाढा रहेका छाउगोठमा बस्दा महिलाहरुमाथि बलात्कार हुने, जंगली जनावरले आक्रमण गर्ने, सर्पले डस्ने र निस्सासिएरै ज्यान गएका धेरै घटना छन् । महिला र किशोरीको ज्यानै लिने यस्तो कुप्रथा अन्त्यका लागि धेरै प्रयासहरु भएका छन् । सरकारी तथा गैरसरकारी निकायहरुबाट काम पनि भएका छन् । तर ती प्रयासहरु पर्याप्त भने हुन सकेका छैनन् । महिला तथा किशोरीहरुको छाउगोठमै ज्यान जान थालेपछि अघिल्लो बर्ष सरकारले नै छाउगोठ भत्काउने अभियान चलायो । त्यसक्रममा हजारौं छाउगोठ भत्काइए । कर्णालीमा गाउँगाउँमा रहेका छाउगोठ भत्किए । तर कोरोना कहरसँगै सो अभियान सेलाएको छ । अभियान सेलाएसँगै भत्काइएका छाउगोठहरु पुनः ठडिएका छन् । अर्थात महिला र किशोरीहरु फेरि छाउगोठमा बस्न बाध्य पारिएका छन् । सुर्खेतको पश्चिम क्षेत्रमा त छाउगोठको ठाउँमा छाउघर भन्दै धमाधम निर्माण भइरहेका छन् । स्थानीय तहलाई छल्दै यस्ता छाउघर निर्माण भइरहेका छन् ।
पहिलाको जस्तो घरघरमा नभए पनि टोलमा निर्माण गरिएका यस्तो गोठलाई सामुहिक रुपमा प्रयोग गर्न थालिएको छ । गोठहरु भत्काइए पनि सोच नभत्किएका कारण छाउ बार्ने कुप्रथाले अहिले पनि जरा गाढेको देखिन्छ । यही कारण त अहिले पनि महिला र किशोरीहरु गोठमा बस्न बाध्य छन् । अन्धविश्वास र अशिक्षा नै यो कुप्रथाको मुख्य कारण हुन् । कतिपय शिक्षित र गाउँका अगुवाहरुले नै छाउ बार्ने गरेका छन् । यसकारण गोठ भत्काएर मात्र नहुने देखिन्छ । यसका लागि मानिसमा रहेको सोचलाई परिवर्तन गर्न आवश्यक छ । पछिल्लो पुस्ताले केही हदसम्म यसलाई अवज्ञा गरिरहेका छन् । तर धार्मिक कारणले यसको न्यूनिकरण नै हुन सकेको छैन । यसका लागि अब स्थानीय तहले कडाइका साथ यसविरुद्ध अभियान संचालन गर्न आवश्यक छ । स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको खण्डमा यसलाई अन्त्य गर्न सकिन्छ । तर यसका लागि मौसमी अभियान भन्दा पनि निरन्तर अभियानको खाँचो छ । महिला र किशोरीको ज्यान लिने यस्ता छाउगोठहरु कुनै पनि हालतमा अन्त्य गरिनु पर्दछ । (२०७७ भदौं २ गते मंगलबार प्रकाशित)
याे पनि पढ्नुहाेस ;-






