दाजुको प्रेरणाले निजामति सेवामा आए

टीकाराम ढकाल/प्रमुख प्रशासकीय अधिकृत
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

जो व्यक्ति समयअनुसार चल्न सक्छ, उसले मात्रै जीवनमा सफलता प्राप्त गर्छ । किनकी औपचारिक अध्ययनले मात्रै सफलता प्राप्त गर्न कठिन छ । समयको गतीमा दौडनेहरुका लागि क्याम्पसको पढाइले मात्र खासै अर्थ राख्दैन । ठिक यस्तै छ, टिकाराम ढकालको जीवन पनि । साइन्स अध्ययन गरेका ढकालले प्रशासनिक नेतृत्वमा पनि आफूलाई अब्बल सावित गरिसकेका छन् । निजामति क्षेत्रमा प्रवेश गरिसकेपछि ढकालले जनप्रशासन विषय पनि अध्ययन गरेका छन् । विस २०४१ साल चैत २१ गते बुवा रविलाल र आमा तुलसी ढकाल कोखबाट उनको जन्म भएको हो । वीरेन्द्रनगर–२ बाङ्गेसिलमका स्थानीय ढकाल हाल वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपका कार्यरत छन् । प्रस्तुत छ, उनको जीवन र निजामित क्षेत्रको अनुभवबारे गरिएको कुराकानीको सम्पादित अंश ।

अध्ययन र बाल्यकाल
जन्मस्थान सुर्खेतकै गुटुमा भए पनि ढकालको बाल्यकाल विद्यापुरमा बित्यो । गुटुबाट परिवारसँगै बसाइ गरेर त्यहाँ पुगे । स्कुल जाने उमेर घरमै रमाए । किनकी बाआमाले छोरा बुझ्ने भएपछि मात्रै स्कूल पठाउने निर्णय गरेका थिए । जसकाकारण सानो उमेरमा स्कुल गएनन् । झण्डै आठवर्ष पुगेपछि मात्रै औपचारिक अध्ययन सुरु गरे । उनले कक्षा एकदेखि ८ सम्म जनता माध्यमिक विद्यालय विद्यापुर, जन माध्यमिक विद्यालय वीरेन्द्रनगरबाट नौँदेखि प्लसटुसम्म, अमृत साइन्स क्याम्पस काठमाडौंबाट स्नातक र पूर्वाञ्चल विश्वविद्यालबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।

पढाइमा सधै प्रथम
स्कुलमा पाइला टेक्नु अघि नै टिकारामले पढाइका सामान्य विषयहरु बुझिसकेका थिए । कखरा एबीसीडी घरमै सिकेका थिए । सामान्य जोड घटाउ पनि सिक्न खासै मेहनत गर्नु परेन । किनकी ढकालका लागि घरमै गुरु समानका अभिभावकहरु थिए । बाआमाका सातौ सन्तान उनले दाजु र दिदीबाट कखरा र एवीसीडी सिकिसकेका थिए । जब स्कुलमा भर्ना भए त्यसपछि उनको पढाइमा कहिले ब्रेक लागेन । बरु पढाइमा आफूलाई अब्बल सावित गरे । कक्षा एकदेखि स्नातकोत्तरसम्म ढकाल सधै प्रथम भए । कक्षा ५ र ८ मा सुर्खेत जिल्ला प्रथम र एसएलसीमा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम भए । प्लसटु, स्नातक र स्नातकोत्तरमा पनि उनको प्रथम स्थान छुटेन ।

बृत्ति र पुरस्कारबाटै पढाइ खर्च
टीकाराम पढाइमा मात्रै होइन, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उत्तिकै सक्रिय हुन्थे । प्रथम पुरस्कारबाट प्राप्त हुने कापि कलमले उनलाई पढाइमा सहज बनाउँथ्यो । अतिरिक्त क्रियाकलापको पुरस्कारले पकेट खर्च चलाउँथे । कबड्डी, फुटबल, कथा, कविता र गीत लेखनमा रमाउँथे । २०५६ सालमा भएको राष्ट्रव्यापी कविता प्रतियोगितामा नेपाल दोस्रो भए । देशभरबाट ६ सय वटा प्रतिस्पर्धी कविताले दोस्रो स्थान पायो ।

उबेला माध्यमिक तहसम्म शिक्षा निःशुल्क थियो । जसकाकारण एसएलसी पढ्दासम्म पढाइका लागि पैसाको जरुरत थिएन । जब प्लसटु पढ्ने समय आयो तब ढकाललाई छात्रबृत्तिले साथ दियो । भारतीय राजदुतावासको छात्रबृत्ति कोटामा प्लसटु सम्मको अध्ययन पुरा गरे । नेपालको पहिलो विज्ञान क्याम्पस अमृत साइन्स क्याम्पसमा ब्याचलर पढ्ने थाले । काठमाडौँमा बसेर अध्ययन थोरै पैसाले पुग्थेन । तर पनि आर्थिक समस्या बेहोर्नु परेन । किनकी सुख,दुखमा काँध थाप्ने भरासिला अभिभावक (दाइ यामलाल ढकाल) थिए । जागिर खाएपछि मात्रै स्नाकोत्तरमा पुरा गरे ।

सानाे छँदा डाक्टर बन्ने रहर
सानो छंदा टिकारामको सपना डाक्टर वा इन्जिनियर बन्ने थियो । पढाइमा पनि उत्तिकै अब्बल थिए । इन्जिनियर र डाक्टर पढ्न सक्ने क्षमता पनि थियो । तर क्षमता र इच्छा हुँदैमा सोचेको कहाँ पुग्छ र ? ‘सके डाक्टर न नसके इन्जिनियर बन्छु भनेको थिएँ तर समयले साथ दिएन’ बाल्यकाल सम्झदै उनी भन्छन्,‘ सोचे अनुसार भन्दा पनि समय र परिस्थितिअनुसार चल्नु पर्दाे रहेछ ।’ प्लसटुमा साइन्स विषय नै रोजे । चाहेको भए प्लस्टुपछि इन्जिनियर बढ्न सक्थे । हुन त उनी इन्जिनियर बन्नका लागि साइन्स पढेका होइनन् । ‘ उबेला तगडा विद्यार्थीहरुले अफ्ठेरो विषय पढ्नुपर्छ भन्ने बुझाइ थियो’ उनी भन्छन्, ‘मैले पनि रहरै रहरमा साइन्स विषय पढेको हुँ ।’ अहिले पनि पढाइभन्दा फरक पेशामा छन् । ब्याचलरसम्म साइन्स विषय अध्ययन गरेका ढकाल वीरेन्द्रनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

निजामित क्षेत्रमा आउनुको पछाडि दाजु यामयालको हात छ । ‘म ब्याचलर पढ्दै गर्दा दाई अधिकृत हुनुभयो’ उनी भन्छन्, ‘उहाँले प्रेरणाले म पनि निजामति क्षेत्रमा आएँ ।’ परीक्षा दिएको म पनि उहाँकै प्रेरणाका कारण निजामति क्षेत्रमा आए ।’ लोकसेवा आयोगमा पनि पहिलो पटकमै सफलता हात प¥यो । ब्याचलर सकेपछि केही समय कैलाली शिक्षक भएका ढकाल दश वर्षदेखि निजामति क्षेत्रमा छन् । संघीयताको कार्यान्वयनसँगै सरकारले काजको रुपमा कर्णाली प्रदेश सभामा खटायो । २०७५ सालमा खुल्ला प्रतिस्पर्धाबाट उपसचिवमा उत्तिर्ण भए । उपसचिव भएपछि झण्डै आठ महिना गुर्भाकोट नगरपालिका विताए । २०७६ बैशाखदेखि वीरेन्द्रनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

जागिर सेवा गर्ने थलो
पढाइका हिसावले ढकाल साइन्सको विद्यार्थी । स्नातकोत्तरपछि थप अध्ययन र रोजगारी गर्न सम्भवतः विदेश जान्थे होला । तर समयले उनलाई विदेश जान दिएन । ‘निजामति क्षेत्रमा नआएको भए पढ्ने बहानामा अहिले विदेशमा हुन्थ्यँे होला’ उनी भन्छन् ‘ दाजुको प्रेरणा र समयले कर्मचारी बनायो, अब आफ्नै ठाउँमा सेवा गरेर रमाउँछ । निजामति क्षेत्रमा एक दशक पार गर्दैगर्दा यो क्षेत्र उनको अनुभवमा सेवा गर्ने थलो हो ।  ‘जागिर पैसा कमाउने थलो होइन, यो त एउटा दैनिकी चलाउने बहाना मात्रै हो ’ उनी भन्छन्,‘जागिरमा सन्तुष्ट हुने कि नहुने, त्यो फरक विषय हो ।

तर मलाई आफ्नो क्षेत्रमा सेवा गर्न पाउँदा गर्भ लाग्छ ।’ कर्णाली प्रदेशको सबैभन्दा ठूलो नगरपालिकाको प्रशासनिक नेतृत्व गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छन् । प्रदेशको राजधानी र सबैभन्दा ठूलो नगरपालिका भएका नाताले पनि वीरेन्द्रनगरले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भले नागरिकका अपेक्षाहरु सम्बोधन गर्नसक्नु पर्ने उनको बुझाइ छ । अहिले सुर्खेतकै माटोमा हुर्केका राजनीतिक (जनप्रतिनिधि) र प्रशासनिक (कर्मचारी) नेतृत्व भएको बेला वीरेन्द्रनगरले विकास निर्माणमा काँचुली फेर्नुपर्ने समय भएको उनको तर्क छ । (२०७७ साउन ३२ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकको साताको  राष्ट्सेवक स्तम्भमा प्रकाशित)

दाजुको प्रेरणाले निजामति सेवामा आए

कालीकोटमा दैनिक उपभोग्य वस्तुको मुल्य आकाशियो

दाजुको प्रेरणाले निजामति सेवामा आए

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds