कर्णाली प्रदेशको कृषि मन्त्रालयले २५ कार्यालय प्रमुखसँग गर्‍यो कार्य सम्पादन सम्झौता

सुर्खेत, २१ मंसिर ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका बजेट खर्च बढाउन मन्त्रालय मातहतका २५ कार्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौता गरेको छ । प्रथम चौमासिक समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले मन्त्रालय मातहतका २५ वटै कार्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौता गरेका हुन् ।

कार्यालय प्रमुखसँग भएको सम्झौताअनुसार कार्यालयले भौतिक प्रगतितर्फ शतप्रतिशत र वित्तीय प्रगतितर्फ ९० प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्नेछ । चालू आर्थिक वर्षको योजना कार्यान्वयन तथा बजेट खर्च वृद्धि गर्नका लागि कार्य सम्पादन सम्झौता गरिएको मन्त्री विमला केसीले बताइन् ।

‘कोरोना महामारीमा किन यस्तो भीड गरेको भनेर कतिपयले भन्लान् तर भौतिक उपस्थितिमै विगतको समीक्षा गर्दै कार्य सम्पादन सम्झौता गर्दा प्रभावकारी हुने भएकाले यसो गरिएको हो’, मन्त्री केसीले भनिन्, ‘सम्झौतापछि विगतका वर्षभन्दा यो वर्ष बजेट कार्यान्वयनमा अपेक्षाकृत परिणाम आउने अपेक्षा छ ।’

कोरोना महामारीका कारण केही ढिला भए पनि मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौता गरिएको मन्त्री केसीले उल्लेख गरिन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत साउनमा मन्त्रीसँग र मन्त्रीले सचिवसँग कार्य सम्पादन तथा मूल्यांकन करार सम्झौता गरेका थिए ।

पालिकाखबरबाट साभार ।

तपाईको प्रतिक्रिया