नाजुक सामुदायिक विद्यालय, अनलाइन कक्षाको पहुँचमा छैनन् ९० प्रतिशत विद्यार्थी

सुर्खेत, ७ मंसिर ।

सुर्खेत कर्णाली प्रदेशको सबैभन्दा सुगम जिल्ला हो । शैक्षिक हिसावले सुर्खेत नै कर्णाली प्रदेशको शैक्षिक ‘हव’ हो । जहाँ एउटा विश्वविद्यालय, थुप्रै क्याम्पस र धेरै निजी शैक्षिक संस्थाहरु छन्् । प्रदेश राजधानी भएकाले पनि सुर्खेतको शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना अन्य जिल्लाका लागि अनुसरणिय बन्न सक्छन् । तर सुर्खेतका सामुदायिक विद्यालयको अवस्था भने निकै नाजुक रहेक एक अध्यनले देखाएको छ ।

करिव तीन वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय एजुकेट कर्णाली नेपाल (इकान) ले गरेको एक अध्ययन अनुसार सुर्खेतका अधिकांश सामुदायिक विद्यालयहरु जबरजस्त रुपमा सञ्चालन हुँदै आएका छन् । माध्यमिक विद्यालय बाहेक अन्य सामुदायिक विद्यालयहरुले आवश्यक मापदण्ड पुरा नगरेरै सञ्चालनमा भएको पाइएको हो । ति विद्यालयहरुमा शैक्षिक वातावरणसमेत छैन । भौतिक पूर्वाधारदेखि विद्यालयसम्म पुग्ने सहज बाटोसमेत छैन । विद्यार्थी बस्ने डेष्क, बेन्चमात्रै होइन, खानेपानी र शौचालयको अवस्था पनि नाजुक छ ।

विद्यालयमा शैक्षिक वातावरण नभएकै कारण सिकाइ उपलब्धि पनि न्यून छ । इकानले गरेको अध्ययन अनुसार सुर्खेतका सामुदायिक विद्यालयको सिकाइ उपलब्धि ६७ प्रतिशत मात्रै छ । अध्ययन अनुसार मुख्य विषय अर्थात गणित, विज्ञान र अंग्रेजी विषय अध्ययन गराउन दरबन्दी अनुसारका शिक्षकहरु छैनन् । मुख्य विषयहरुमा नै दरवन्दी अनुसारका शिक्षक नहुँदा शैक्षिक गुणस्तर सुधार्न चुनौतिपूर्ण देखिएको इकानले औल्याएको छ । शैक्षिक सुधार हुन नसक्दा गुणस्तर नहुँदा हरेक वर्ष झण्डै दश प्रतिशत विद्यार्थीले कक्षा दोहो¥याउनु परेको छ ।

सुर्खेतमा कुल चारसय ९२ वटा सामुदायिक विद्यालयमध्ये तीनसय ९० आधारभूत र एकसय दुई माध्यमिक विद्यालय छन् । स्थानीय तह अनुसार गुर्भाकोट नगरपालिकामा सबैभन्दाबढी सामुदायिक विद्यालय छन् । तथ्यांक अनुसार गुर्भाकोटमा ६९ वटा सामुदायिक विद्यालयमध्ये ५९ वटा आधारभुत र १० वटा माध्यमिक विद्यालय छन् । त्यस्तै वीरेन्द्रनगरमा ६४ वटा, सिम्तामा ६२ वटा, बराहतालमा ५६, पञ्चपुरीमा ५३, भेरी गंगामा ५१, चौकुनेमा ४९, लेखबेशीमा ४७ र चिंगाड गाउपालिकामा ४१ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारले लगानी बढाउनुपर्ने इकानको सुझाव छ । विद्यालयको भौतिक अवस्था (कक्षा कोठा, झ्यालढोका, डेष्क बेन्चको मर्मत तथा नयाँ थप, शौचालयको स्तरोन्नति र विद्यालयसम्म पुग्ने सहज बाटोको पहुँच पु¥याउने इकानको सुझाव छ ।

सामुदायिक विद्यालयमा अनलाइन कक्षा असम्भव

कोरोना महामारीपछि अधिकांश विद्यालयहरुले अनलाइन कक्षालाई वैकल्पिक सिकाइको रुपमा अपनाएका छन् । तर सुर्खेतका सामुदायिक विद्यालयमा भने अनलाइन कक्षा असम्भव रहेको पाइएको छ । इकानले गरेको अध्ययन अनुसार सुर्खेतका कुल ८२ हजार ६ सय १७ विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थी मात्रै इन्टरनेटको पहुँचमा छन् ।

अनलाइनको पहुँचमा भएका विद्यार्थीहरू पनि फेसवुक र युट्वुमा व्यस्त हुने गरेको पाइएको छ । विद्यार्थीहरु अनलाइनको पहुँच नहुँदा अनलाइन कक्षा सम्भवन नरहेको इकानको अध्ययनले देखाएको छ । उसो त कोरोना महामारीअघि सुर्खेतका शिक्षकलेसमेत अनलाइन कक्षामा सहभागी हुन नसक्ने अवस्था थियो । शिक्षकहरुलाई अनलाइन कक्षा सञ्चालन गर्नको लागि नेपाल शिक्षक महासंघ सुर्खेतले केही महिनाअघि शिक्षकहरुलाई अनलाइन कक्षा नै सञ्चालन गरेको थियो । अनलाइन कक्षाको तालिम पश्चात सामुदायिक विद्यालयका ९० प्रतिशत शिक्षकहरु अनलाइन कक्षा सञ्चालन गर्न सक्ने शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापाले बताए । शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न सक्ने भएपनि इन्टरनेट, मोवाइल तथा कम्प्युटरको अभावमा सामुदायिक विद्यालयका अनलाइन कक्षा सञ्चालन गर्न चुनौतिपूर्ण रहेको थापाको तर्क छ ।

छैनन् पुस्तकालय

विद्यालयमा पुस्तकालय अनिवार्य सर्त हो । शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीहरुमा पढ्ने बानीको विकास गर्न पनि पुस्तकालयले नभई हुँदैन । तर सुर्खेतका सामुदायिक विद्यालय भने पुस्तकालय छैनन् । एडुकेट कर्णाली प्रदेशले गरेको अध्ययन अनुसार सिम्ता गाउँपालिकामा ६२ वटा सामुदायिक विद्यालयमध्ये दुई वटा विद्यालयमा मात्रै पुस्तकालय रहेका छन् ।

त्यस्तै पञ्चपुरी नगरपालिकाका ५३ सामुदायिक विद्यालयमध्ये दुई वटा विद्यालयमा मात्रै पुस्ताकलय छन् । अन्य स्थानीय तहको तुलनामा सिम्ता र पञ्चपुरी नगरपालिकाका धेरै विद्यालयमा पुस्तकालय छैनन् । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा पनि पुस्तकालय छैनन् । वीरेन्द्रनगरका कुल ६४ वटा विद्यालय मध्ये ४८ वटा विद्यालयमा मात्रै पुस्तकालय रहेको छ । पुस्तकालय भएका सामुदायिक विद्यालयमा पनि विद्यार्थीमा पढ्ने बानीको विकास नगरेको इकानको अध्ययनले देखाएको छ ।

यता कर्णाली प्रदेशका शिक्षा निर्देशक दीपा हमालले भने विद्यालयले पुस्तकालयको स्थापना र विद्यार्थीमा पढ्ने बानीको विकास गर्न सकेको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग मिल्ने बताइन् । शिक्षक, जनप्रतिनिधि र अभिभावकहरुले हातेमालो गरेरमात्रै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नुपर्ने उनको तर्क छ ।

हरेक बर्ष साढे ६ सय विद्यार्थीले पढाइ छाड्छन्

सुर्खेतमा हरेक वर्ष साढे ६ सयभन्दा बढी विद्यार्थीले पढाइ छोड्ने गरेको पाइएको छ । अध्ययन्न अनुसार कक्षा १ मा भर्ना भएका कुल विद्यार्थी मध्ये हरेक वर्ष ६ सय ६९ विद्यार्थीले बिचमै कक्षा छोड्ने गरेका छन् । कक्षा १ मा भर्ना भएका विद्यार्थीको कुल संख्या मध्ये कक्षा १० मा पुग्दा दुई हजार सातसय १० जना विद्यार्थीले पढाइ छोड्छन् । परिवारको गरिवी नै विद्यार्थीहरुले पढाइ छोड्नेको मुख्य कारण रहेको इकानले औंल्याएको छ । अभिावकले शिक्षाको महत्व बुझ्न नसक्नु, बालबालिका बुझ्ने उमेर भएपछि मजदुरी गर्न थाल्नु र मजदुरी गर्ने बुवाआमासँगै बालबालिका पनि भारततिर जाने हुँदा बीचमै विद्यार्थीले पढाइ छोड्ने गरेका हुन् । कुल ४८ प्रतिशत कुल भर्नादर रहेको सुर्खेतमा दुई सय ८१ जना कुनै न कुनै हिसावले अपांगता छन् ।

तपाईको प्रतिक्रिया