जसले बुवाकै व्यवसायलाई निरन्तरता दिए

जीवन संघर्ष हो । संघर्ष नगरी कोही व्यक्ति पनि सफलतामा पुग्न सक्दैनन् । दुख, मेहेनत र परिश्रमले नै मान्छेलाई जीवनको लक्ष्यसम्म पु¥याउँछ । दुखसँग रमाउन सक्यो भने सहजै लक्ष्य पुरा गर्न सकिन्छ । यस्तै दुख, मेहेनत र परिश्रम गर्दै सफल भएका व्यक्ति हुन् युवा व्यवसायी तेजप्रसाद तिवारी । उनले सुरुमा सानो लगानीबाट भाँडाको पसल सञ्चालन गरे । उनको मेहेनत, दुख र परिश्रमले उनी अहिले व्यवसाय विस्तार गर्न सफल भएका छन् । हाल वीरेन्द्रनगरस्थित तल्लो बजारमा उनले तिवारी भाँडा पसल सञ्चालन गर्दै आएका छन् । उनै तिवारीसँग हाम्रा सहकर्मी गीता थापाले आजको जम्काभेटमा कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको साराशंः

बाल्यकालमा शान्त

तेजप्रसाद तिवारी २०४१ सालमा वीरेन्द्रनगरको वडा नम्बर १२ सुर्खेतमा जन्मिएका हुन् । उनको बाल्यकाल सुखदुख गरी नै वित्यो । उनी बाल्यकालमा शान्त स्वभावका थिए । चकचके स्वभाव उनको थिएन । सबैसँग मिल्ने स्वभाव थियो । उनले बाल्यकालमा धेरै दुख पनि गरे । उनले बाल्यकालदेखि नै दुखलाई चिनेका छन् । बुझेका पनि छन् । दुखसँगै संघर्ष गर्दै उनी अघि बढेका हुन् ।

पढाइ अधुरो

उनले सुर्खेतकै आर्दश मावि मेहेलीमा पढेका हुन् । मेहेलीमा उनले कक्षा १० पास त गरे । तर एसएलसी दिन भने पाएनन् । घरायसी कारणले उनले आफ्नो पढाइलाई निरन्तरता भने दिन पाएनन् । पढ्ने उनको इच्छा हुँदाहुँदै पनि उनले विभिन्न समस्याका कारण पढ्न पाएनन् । उनको बुवाले दैलेखमा भाँडा पसल गर्ने भएकाले उनी बुवालाई पसलमा सघाउन दैलेख गएर बसे । बुवालाई पसलमा सघाउने भएकाले पनि उनले पढाइलाई निरन्तता दिन सकेनन् । त्यसपछिका दिनमा उनको मन व्यवसायमा लाग्यो । बुवाका कारण उनी पनि व्यवसायमा होमिए ।

व्यवसायमा आवद्ध

२०५३ सालमा तिवारीका बुवाले दैलेखको चुप्रामा भाँडाको व्यवसाय सुरु गरेका थिए । तिवारी पनि बुवालाई सघाउनका लागि दैलेख नै गए । बुवालाई पसलमा सघाउँदा सघाउदै उनको मन पनि व्यवसाय नै गर्नुपर्छ भन्नेमा गयो । बुवाले गरेको पेशालाई पनि जोगाउने र आफ्नो व्यवसाय पनि सुरु गर्ने उनको सोच भयो र उनी पनि व्यवसायमा नै होमिए । दैलेखमा सात वर्ष व्यवसाय गरेपछि फेरी २०६० सालमा सुर्खेतमा व्यवसाय सुरु गरे ।

बाल्यकालको सपना कृषि पेशा

तिवारीको परिवार कृषि पेशामा लागेका कारण उनलाई पनि बाल्यकालमा भविष्यमा कृषि पेशामै लाग्छु होला जस्तो लाग्ने गथ्र्यो । तर समय सधै एकै हुँदैन । समय परिवर्तनशिल छ । त्यहि समयले मान्छेलाई कुन मोडमा लगिदिन्छ कसैलाई थाहा हुँदैन । तिवारीको पनि बाल्यकालमा परिवार कृषक भएका कारण कृषि पेशा नै मेरो भविष्य हो जस्तो लाग्ने गथ्र्याे । तर पछि उनका बुवाले भाँडाको व्यवसाय सुरु गरेपछि उनको भविष्यको बाटो मोडियो र उनी पनि व्यवसायमा लागे । बुवाले व्यवसाय सुरु नगरेको भए आज उनी कृषि अथवा अरु केही पेशामा आवद्ध हुने थिए । उनी भन्छन्, ‘बाल्यकालमा घरपरिवार सबै कृषि पेशा गर्ने भएकाले म पनि कृषिमै लाग्छु जस्तो लाथ्यो, पछि बुवाले व्यवसाय सुरु गरेपछि मैले पनि बुवाको व्यवसायलाई नै अगाडि बढाएको हुँ ।’ बाल्यकाल कृषि पेशामै निर्भर हुन्छ भन्ने तिवारीले बाल्यकालमा धेरै दुख गरेका हुन् । बाल्यकालदेखि नै दुखलाई नजिकबाट बुझेका र भोगेका उनले अहिलेको अवस्थासम्म आउन धेरै मेहेनत पनि गरे । त्यही मेहेनतको फल उनले अहिले पाइरहेका छन् ।

दुई जनालाई रोजगारी

उनले अहिले तल्लो बजारमा तिवारी भाँडा पसल सञ्चालन गरिरहेका छन् । सात वर्ष दैलेखमा व्यवसाय गरेको तिवारीले अहिले सुर्खेतको वीरेन्द्रनगरमा व्यवसाय राम्रोसँग सञ्चालन गरिरहेका छन्् । त्यति मात्र होइन, दुई जनालाई रोजगारीसमेत दिएका छन् । प्रगति गर्न र अगाडी बढ्न डिग्री नै पढ्नुपर्छ भन्ने मानिसको मानसिकतालाई चिर्दै तिवारी अहिले सफल व्यापारीको रुपमा परिचित छन् । जुनसुकै काम गर्न पनि मेहेनत र परिश्रम गर्न जरुरी छ । जुन मेहेनत र परिश्रम तिवारीले पनि गरे आज सफल व्यापारी भएका छन् । उनी भन्छन्, ‘बुवाको व्यवसायलाई मैले अगाडी बढाएको हो, अहिले मेरो पसलमा दुई जनालाई रोजगारी दिएको छु ।’ अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा कति मजदुरहरुले आफ्नो रोजगारी गुमाएका छन् । तर तिवारीले भने दुईजनालाई रोजगारी दिएका छन् । उनी व्यवसायमा लागेर सन्तुष्ट नै छन् । व्यवसायबाटै घरखर्चदेखि सबै कुराको व्यवस्थापन गरिरहेका छन् । ग्राहकहरुको रोजाईमा पर्न सफल भएका छन् । सानो लगानीबाट सुरु गरेको व्यापारले अहिले ठुलै व्यापारीहरुलाई पनि चुनौती नै दिएको छ । उनी सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतका कार्यसमिति सदस्यसमेत छन् ।

आगामी योजना

तिवारीको अबको योजना चलिरहेको व्यापारलाई अझ विस्तार गर्ने छ । सानो लगानीमा सुरु गरेको तिवारी भाँडा पसलबाट अहिले मनग्य आम्दानी गरिरहेका छन् । वीरेन्द्रनगर बजारमै एउटा सटर लिएर न्यु तिवारी भाँडा पसलको रुपमा व्यवसाय विस्तार गर्ने उनको योजना रहेको छ । थप सेवा सुविधासहितको ठुलो पसल सञ्चालन गर्ने उनको योजना छ । उनी भन्छन्, ‘यही पसललाई विस्तार गर्ने सोचमा छु, सटर पाइयो भने थप सेवा सुविधासहित व्यवसायलाई विस्तार गर्ने हो ।’

तपाईको प्रतिक्रिया